Khir Khane Din/Barah Jayanti | खीर खाने दिन/वराह जयन्ती | २०७९ साउन १५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jul/Aug 2022
    २०७९ साउन
    १५
    आइतवार
    Jul 31, 2022
    साउन शुक्ल तृतिया
    खीर खाने दिन/वराह जयन्ती ( Khir Khane Din/Barah Jayanti )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    खीर खाने दिन/वराह जयन्ती




    खीर खाने दिन/वराह जयन्ती विशेष अडियो सामाग्री

    यो छोरी बढ्लिन्, कमाई गर्लिन्, दूध–भात देलिन् मलाई
    यस वाक्यांश नेपाली जनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ । छोराछोरीको माया र खिरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ । खिरको महत्त्व अनि त्यसको स्वाद सन्तानको माया र आत्मीयतासँग गाँसिएको छ । यहाँहरूमा खिर खाने दिवसको शुभकामना ।

    खिर कस्तो परिकार हो?
    दूध–भात अर्थात् मीठो र पोसिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध–भातसँग सख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म बासमती अथवा तराईतिर पाइने करिया कामत होस् वा टाई चून अथवा अन्य मसिनो बास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

    नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएका हरिया दुना–टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेल रोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।

    मानव र दूधको एउटा नमेटिने सम्बन्ध
    मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । यसबाट बन्ने कैयन मीठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमै प्रिय बन्न सफल छ ।

    यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन, पोषण यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचीन कालमा गरेको समुन्द्र–मन्थनसँग सम्बन्धित छ । त्यति बेलादेखि अझसम्म दूधलाई शुद्धीकरण गर्ने तत्त्व र पोषण मिसिएको बहु गुणी अमृतकै रूपमा लिइन्छ ।

    आर्युवेदमा खिर
    आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीरमा’बाट आएको मानिन्छ । क्षीरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्त्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।

    भगवान् श्रीकृष्ण र खिरको प्रसङ्ग
    भगवान् श्रीकृष्णले एक दिन साधारण साधुको भेषमा बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा मन्दिरहरूमा निःशुल्क गरिब दीन–दुःखीहरूलाई खिर खुवाउने सर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्रीकृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीन–दुःखीहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सि याम राज्य अर्थात् थाइल्यान्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।

    श्रावणको १५
    श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । अर्थात् श्रावणको मध्य बिन्दु खिरका लागि प्रचलित छ ।

    रोपाई सकिन आँट्यो या चलिरहेको रोपाई सँगै यो दिनलाई खिर कैयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस प्रशस्त हुन्छन् । जुन लैनो गाई तथा भैँसीहरूले अत्यन्त मन पराउने गर्छन्, जसका कारण प्रशस्त दूध पनि दिन्छन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।

    अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दूधको व्यापक बिक्री हुन्छ नेपालमा । बिहानैदेखि दूध पसलहरूमा भिडभाड हुने गर्छ । आफ्ना लागि खिरको जोहो गर्न नभुलौँ है । ल है, सहर तिर हो भने त डेरीमा अरू दिन ३–४ बजे सकिने दूध बिहान ९ नबज्दै सकिएला । ढिलो हुँदा नपाइएला नि !

    वराह जयन्ती

    भगवान् विष्णुको जन्म जयन्ती
    वराह जयन्तीलाई भगवान् विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दु धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रूपमा लिइन्छ । आजको दिन भगवान् विष्णुले आफ्नो तेस्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ ।

    वराह अवतार
    सत्ययुगमा भगवान् विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । जब–जब धर्तीमा अन्याय र अत्याचार गर्ने शैतानी शक्तिहरू सक्रिय हुने गर्दथे, तब–तब भगवानले कुनै न कुनै अवतारमा धर्ती अनेक अवतार लिँदै त्यस्ता सैतानको विनाश गरेको धेरै कथाहरू हामीले पक्कै सुनेका छौँ ।

    ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्धार गरेको उल्लेख गरिएको छ । सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतङ्क दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान् ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए । त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान् विष्णु वराह अवतारमा प्रकट हुनुभयो । ब्रह्माको नाकबाट प्रकट भएका कारण पहिला–पहिला वराह अवतारलाई भगवान् ब्रह्माको अवतार पनि भनिने गरिन्थ्यो । तर पछि सबैले वराह अवतारलाई भगवान् विष्णुको अवतारको रूपमा स्वीकार गरे ।

    त्यस बेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रसन्न भए । उनको स्तुति गर्न थाले । एउटा सुँगुरको जस्तो देखिने चिजको सहायताले वराह अवतारले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दाँतमा च्यापेर त्यहाँबाट निकाले । सबै देवलोक खुसी थिए । तर जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान् विष्णुको वराह अवतारलाई युद्धका लागि लल्कारे । त्यसपछि भगवान् विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको थियो ।

    वराह अवतार भन्दाअघि भगवान् विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसकेका थिए । तर यसअघि उनको दुई अवतारमा उनको शिर मनुष्यको थियो भने शरीर जनावरको, वराह अवतारमा भने उनको शिर एउटा जङ्गली सुँगुरको जस्तो थियो । अनि शरीर भने मनुष्यको जस्तो । हिरण्याक्षका भाइ हिरण्य कश्यपलाई भने भगवान् विष्णुले चौथौँ अवतार अर्थात् नृसिंह अवतारको रूपमा प्रकट भएर वध गर्नुभएको हो ।

    वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दाँतले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान् ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ सुरुवात दिएका हुन् भन्ने विश्वास गरिन्छ ।
    वराह जयन्तीको सबैलाई शुभकामना छ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.