Eid al Fitr/Akshaya Tritiya Barta/Parshuram Jayanti/World Press Freedom day | ईद उल फितर/अक्षय तृतीया व्रत/परशुराम जयन्ती/विश्व प्रेस स्वतन्त्रता दिवस | २०७९ वैशाख २० | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2022
    २०७९ वैशाख
    २०
    मंगलवार
    May 03, 2022
    वैशाख शुक्ल तृतिया*
    ईद उल फितर/अक्षय तृतीया व्रत/परशुराम जयन्ती/विश्व प्रेस स्वतन्त्रता दिवस ( Eid al Fitr/Akshaya Tritiya Barta/Parshuram Jayanti/World Press Freedom day )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    ईद उल फितर | अक्षय तृतीया | परशुराम जयन्ती | विश्व प्रेस स्वतन्त्रता दिवस




    ईद उल फितर विशेष अडियो सामग्री

    ईद के हो ?
    ईदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख ईदहरू छन् ( ईद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ ईद अल अधा।)

    ईद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई (कम वा सानो ईद ) भनेर चिनिन्छ जब ईद अल अधा चार दिन लामो हुन्छ र (बृहत्तर ईद) भनेर चिनिन्छ।

    किन वर्षमा दुई पटक ईद मनाइन्छ ?
    दुवै ईदहरूले इस्लामको कथाको लागि महत्त्वपूर्ण दुई फरक घटनाहरूलाई चिन्छन्, मनाउँछन् र सम्झाउँछन्। ईद उल फितर इस्लामिक क्यालेन्डरमा १० औँ महिनाको पहिलो दिन मनाइन्छ। ईद अलअधा इस्लामिक पात्रोमा अन्तिम महिनाको १० औँ दिनमा मनाइन्छ।

    इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘ईद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र ईद उल फितर पर्वको प्रारम्भ हुने गर्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।

    ईद उल फितर र चन्द्र मासको सम्बन्ध ?
    चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘ईद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि ईद मनाउने दिन फरक हुनसक्छ ।

    यदि यो दिन कहिले हो भनी दुबिधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामुदायिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । ईदका दिनबाट रमजान सकिनेछ । एक दिन अगाडि नै यो वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ ।


    कसरी मनाइन्छ ईद उल फितर ?
    ईदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर ईद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ ।

    प्रार्थनामा जाँदा र फर्कँदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको ईदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान–प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ ।

    आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै ईद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने ईदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ ।

    बालबालिकाका लागि ईद
    बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुने गर्छ, किनभने उनीहरूलाई आफूभन्दा ठुलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिने गर्छन् । जसलाई ईदको ईदि भनिन्छ जसमा ठुलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौँ अथवा अधिकार नै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गिन बनाउन कतिपय ठाउँमा त बालबालिकाहरूले विभिन्न रङ्गहरू र झिलिमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज–सज्जा गर्ने गर्दछन् ।

    ईदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ ।

    नेपालमा ईद
    नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदी–बहिनीहरूलाई ईदको शुभकामना दिइन्छ । समाज र समानतासँग इस्लाम धर्मको विशेष निकटता छ, धनी र गरिब सबैले समान रूपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून् भन्ने कुरामा इस्लामिक रीतिहरू विशेष तवरले बनाइएको पाइन्छ ।

    यस चाडले भ्रातृत्व, शान्ति र शुभेच्छाहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ । गरिब परिवारहरूले पनि सम्मानका साथ ईद मनाउन पाउन भनेर विभिन्न प्रकारका भोजहरू आयोजना गर्ने गरिन्छ । भ्रातृत्व र उत्साहको यो पर्वमा तपाईँ हामी सबैलाई ईद उल फितरको शुभकामना ।

    यस वर्षको ईद पनि गत वर्षको भन्दा खासै फरक रहेन । कोरोना भाइरसको प्रकोपले गर्दा देश अनि महादेशहरू फेरि सन्नाटाभित्र लुकामारी गरिरहेका छन् । चन्द्रमाको दर्शनसँगै विश्वभरिका सकल कष्टहरू हरेर जानेछन् । राम रहिम सबैको कृपा बनिरहोस् ।

    अक्षय तृतीया

     


    आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।

    सातु खाने दिनका रूपमा अक्षय तृतीया
    सुरु गरौँ सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल व्याख्या सातु खाने दिनका रूपमा रहेको छ । सातु अर्थात् चना, जौ जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारिएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिँड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्म कालमा शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्त्व रहेको छ । माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्राय सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरूको महिमालाई प्राचीन काल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।


    आजको चिरञ्जीवी तिथि
    आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ, आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुवात भएको थियो भने महाभारतको युगको समाप्ति लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाइन्छ ।

    अक्षय तृतीयाको पौराणिक महत्त्व
    पौराणिक रूपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरू आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेद ब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईँ सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।

    अक्षय भन्ने बित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौँ । आज अक्षय पुण्य प्राप्त गर्नका लागि वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरू दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तर पुस्ता मायाका लागि पनि अत्यन्त महत्त्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिव्यक्ति दिएको छ । अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई हाम्रो पात्रोको अक्षय माया ।

    परशुराम जयन्ती
    भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रूपमा मनाउने चलन छ ।

    परशुराम को हुन् ?
    ब्राह्मणका रूपमा जन्मिएता पनि क्षेत्रीय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनी आएका अनि महाभारत युद्धका असाधारण योद्धाहरू भीष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरू हुन् भने परशुरामका साक्षात् गुरुका रूपमा भने देवाधिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बन्चरो जस्तो हतियार बुझिन्छ । भगवान् रामको त्यो रूपले बन्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैँले धारण गरेको अमोघ परशु ९बन्चरो० उनलाई दिएका थिए । त्यही अमोघ बन्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र सङ्कल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पूजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।

    परशुरामको पौराणिक उपस्थिति
    पौराणिक कथनहरू अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरू लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरञ्जीवी अर्थात् अमर थिए । भगवान् राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रूपमा परशुरामको जन्म भएको थियो । त्यही भएर परशुराम जन्मिएको दिन वैशाख शुक्ल तृतीया तिथिलाई चिरञ्जीवी तिथि भनिन्छ ।

    परशुरामलाई पितृ वचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवत गीतामा उल्लेख भएअनुसार संसारका सबै कुरा नाशवान् छन् तर परशुराम यस्ता महान् पात्र थिए जो कालबाट समेत अपराजित थिए ।

    परशुरामको कला
    कलाकौशल अनि भौतिक पूर्वाधार निर्माणका रचयिता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारत वर्षका सम्पूर्ण प्राचीन गाउँ अनि नगरहरू यिनैको योजना र कला मुताबिक बनाइएका हुन् । उत्खनन क्रममा समुन्द्र बिचमा भेटिएको प्राचीन द्वारका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानिक संरचनाले पनि प्राचीन काल देखिनै भएको वैज्ञानिक विकासमा परशुरामको योगदानको व्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरू मध्य छैठौ अवतार हुन् । यिनै अमर परशुरामको कृपाले हामी सबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना ।

    विश्व प्रेस स्वतन्त्रता दिवसको पृष्ठभूमि
    हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन मनाइने मिति हो। सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र संघको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो। यो सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिवस पनि हो ।

    यस दिवसको औचित्य

    ३ मे ले सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको स्मारकको रूपमा कार्य गर्दछ र यो दिन प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूका बारेमा सञ्चारकर्मीहरूबिच प्रतिबिम्बित गर्ने दिन पनि हो। त्यस्तै महत्त्वपूर्ण रूपमा, विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रताको संयम वा उन्मूलनका लागि लक्षित मिडियालाई समर्थन गर्ने दिन हो।

    आज के कस्ता कार्यक्रमहरू आयोजना हुँदै छन् ?
    २ देखि ५ मे २०२२ मा, UNESCO र गणतन्त्र उरुग्वेले उरुग्वेमा हाइब्रिड ढाँचामा वार्षिक विश्व प्रेस स्वतन्त्रता दिवस ग्लोबल सम्मेलन आयोजना गर्नेछन्। ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ भन्ने नाराका साथ डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका विषयमा छलफल हुनेछ ।

    विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ ले नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक सरोकारवालाहरूलाई यी मुद्दाहरूको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता र गोपनीयतामा बढेको निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न ठोस समाधानहरू विकास गर्न बल पुग्नेछ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.