Maha Nawami/syakutyaku/World Animal Day | महानवमी/स्याकूट्याकू/विश्व पशु दिवस | २०७९ असोज १८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Sep/Oct 2022
    २०७९ असोज
    १८
    मंगलवार
    Oct 04, 2022
    असोज शुक्ल नवमी
    महानवमी/स्याकूट्याकू/विश्व पशु दिवस ( Maha Nawami/syakutyaku/World Animal Day )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    महानवमी/स्याकूट्याकू/विश्व पशु दिवस




    विशेष अडियो सामग्री विशेष अडियो सामग्री

    कस्तो हुँदै छ त दसैँ ? जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, बडादसैँको अनेक शुभकामना !

    नवरात्रिको नवौँ दिन
    आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्ति स्वरूप सिद्धि धात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।

    सिद्धि धात्री
    देवी पुराणमा उल्लेख भएअनुसार यिनै देवीको असीम कृपाका कारण शिवजी स्वयंले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त गर्ने विश्वास छ ।

    शक्ति स्वरूप सिद्धि धात्री प्रसन्न भएर वरदान दिएमा साधक–साधिकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्कण्डेय पुराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको व्याख्या गरिएको छ ।

    आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ र इन्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो । शक्तिस्वरूपा देवीहरूले असुरहरूलाई खोजी–खोजी संहार गरेपछि बाँचेका असुरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती छ ।

    नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायतका ठाउँमा आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजासहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । बलि दिन आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, सङ्कटा, बज्रयोगिनी, वज्रवाराही लगायतका शक्ति पीठहरूमा धेरै घुइँचो हुन्छ ।

    यसै गरी उपत्यका बाहिर पर्साको तिलवा नदी पारी केहूनिया रहेको शक्ति पीठ विन्दवासिनी देवीको मन्दिरमा, वीरगन्जको गहवामाईमा, काभ्रेको पलान्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्र तारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहबीको बुढी खोला किनारमा रहेको काल मन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाडौँ वसन्तपुर दरबार स्क्वायरमा रहेको दसैँ घर, कोतको पटाङ्गिनी लगायत नेपालभरिका शक्ति पीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित पूजा अर्चना र सप्तशती पाठ गरिन्छ ।

    कतिपय ठाउँमा आज कुखुरा, बोका, भेडा, हाँस र कुखुराको पञ्च बलि पनि चढाएर कोत पूजा र निशान पूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेद्य आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका बिरुवाहरूको पूजा गर्ने चलन पनि छ ।

    कतिपय शक्ति पीठमा दुईदेखि दश वर्षसम्मका कन्याहरूको पूजा गर्ने चलन पनि छ । यस्तो कन्या पूजाका बारेमा देवी भागवतमा लेखिएको छ । आजको दिन काठमाडौँको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एक दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ ।

    यस दिन विशेष पाठ:

    या देवी सर्वभूतेषु माँ सिद्धि दात्री रूपेण संस्थिता ।
    नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।

    अर्थात्:
    सिद्धि दात्री देवीका रूपमा सर्वत्र विराजमान अम्बे, म तपाईँलाई कोटी–कोटी प्रणाम गर्दछु । मलाई शक्ति दिनुहोस् । महानवमीको सबैलाई शुभकामना, देवी माताले हामी सबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।

    यसका साथै नवमीकै दिन नेवा सभ्यतामा चाहिँ स्याकुटाकु मनाउने चलन छ । स्याकुटाकुमा आफ्नो खेतमा गएर पूजा अर्चना गर्ने, माटोलाई पुज्ने, बालीलाई पुज्ने र बलि दिने चलन छ । साहाकारीहरूले चाहिँ फलफूल नैवेद्य आदि चढाएर स्याकुटाकु मनाइन्छ ।

    यसपालाको दसैँको हर्षले वर्षभरि कान्ति छाओस् । अगाध माया अनि असीमित शुभकामना !

    स्याकूट्याकू
    माता सिद्धि धात्रीको विशेष पूजापश्चात् काठमाडौँका स्थानीय नेवार समुदायमा परापूर्वकालदेखी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिएर स्याकूट्याकू हर्ष बढाइकासाथ मनाइन्छ । यी दिनहरूमा स्थानीयहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएका छन् । सात्त्विकहरूले नरिवल, कुभिन्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्त पूजा गरिन्छ ।

    स्याकूट्याकूकै दिन कतिपय ठाउँमा आज कुखुरा, बोका, भेडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोत पूजा र निशान पूजा पनि गर्ने गरिन्छ । स्थानीय नेवार समुदायहरूले आजको दिन धूप आरती, फूल, नैवेद्य आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका बिरुवाहरूको पूजा गर्ने चलन पनि छ ।

    विश्व पशु दिवस


    पृष्ठभूमि
    सन् १९२५ अर्थात् लगभग ९३ बर्सअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै प्रथम जनावर दिवस मनाएका हुन् । सन् १९२९ बाट औपचारिक रूपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा इटालियन सन्त फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यी सन्तलाई ११ औँ शताब्दीबाट अहिलेसम्म पर्यावरण र जनावर मैत्री समाजका प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ ।
    हरेक वर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर सँगको मानवीय दायित्व र सम्बन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरू सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार सङ्गठन अनि जनावर अधिकारकर्मी हरू एकै थलोमा भेला हुने गर्दछन् ।

    वर्ष २०२२ को विश्व पशु दिवसको नारा

    A 'shared planet' अर्थात् मानव पशुहरूको सहअस्तित्वलाई पशु दिवसमा यस वर्ष पैरवी गरिँदै छ ।

    कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाडहरुले त जनावरको यस विश्वमा उपस्थितिलाई नै पुनर्व्याख्या गरिदिएको छ । हामी मध्य हरेक मान्छेले जनावरहरूको संसारलाई केही हदसम्म खुकुलो पार्न सक्दछौँ । केही जनावर खतरनाक हुन्छन् त केही मैत्री हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ । जनावर अधिकार अनि मानव जनावर बिचको स्वस्थ र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न हामी सबै जना सफल हुन सकौँ । जनावर अधिकार दिवसको सबैलाई शुभकामना

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.