Sonam Lhochhar/Gyalpo Lhosar | सोनाम ल्होछार/ग्याल्पो ल्होछार | २०७५ माघ २२ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Jan/Feb 2019
२०७५ माघ
२२
मंगलवार
Feb 05, 2019
प्रतिपदा
सोनाम ल्होछार/ग्याल्पो ल्होछार ( Sonam Lhochhar/Gyalpo Lhosar )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

सोनाम ल्होछार | ग्याल्पो ल्होछार




नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलार्इ 'चन्द्र पात्रो' भनिन्छ ।


सोनाम ल्होछार विशेष अडियो सामाग्री

ल्होछार अर्थात 'ल्हो' भन्नाले साल अथवा सम्वत् अनि 'छार' भन्नाले नयाँ भन्ने बुझाउँछ । आउनुहोस्  सोनाम ल्होछार सुङ्गुर (फाग/ड्वा ल्हो) वर्ग अन्तर्गतको नया वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौं ।

तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा 'ता' भन्नाले घोंडा अनि 'माङ' भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा घोडचढीमा निपूर्ण साहसीहरुको समूदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताकालागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् । 'ल्होछार' शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार' अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।

तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समूदायमा 'ल्हो' अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई 'चन्द्र पात्रो' भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।

गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । आजको दिन यी देशहरुका अधिकांश वौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।

आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत अनुरुप भने सोनाम ल्होछार हो, संवतले जेसुकै भनोस् शुभकामना अनि रौनकको यस ल्होछारको महिनाभरि नै सबैलाई स्वागत छ ।

सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ । यसरी गाईने अनि नाचिने गीतहरूलाई 'तामाङ सेलो' भनिन्छ, सुस्तरि तर वडो मधूररुपमा गाईने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समूदायको हस्ताक्षर बाजा हो । डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामूदायीक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समूदायका ब्यक्तिहरु लगायत अन्य सबै समूदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई यस समूदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

नकारात्मक तत्वहरुलाई हटाउनकालागि, आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाँक्नकालागि आज विभिन्न तान्त्रिक विधी अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।

लामाहरुसंग आशिष लिएर आजको दिन वर्षभरिकालागि शुभ साईतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ अनि तिन दिन लामो मिस तामाङ कार्यक्रमको शुरुवात पनि गरिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामनाहरु आदान प्रदान गर्दै तामाङ समूदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसि लगायतका विभिन्न परिकारका मासुहरु तैयार पारीने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामूदायिक रुपमा पनि समूदायका सबैजना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रुपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समूदायहरु वास्तवमै एउटा अनुकरणीय समूदाय हो ।

सोनाम ल्होछारको शुभकामना ! असल कामनाहरु अनि आशाहरुले सबैलाई पछ्याओस्, चन्द्रमा दाहिने हुन् ।

----------
ग्याल्पो ल्होछार

 


हिमाली क्षेत्र आसपासमा माटोहरुलाई खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्कीएका शेर्पा लगायत अन्यउच्च भू-भागमा वसोवास गर्ने वौद्धमार्गी समूदाय आज ग्याल्पो ल्होछार मनाँउदै छन् । देवकोटाको मुनामदनको कथा देखि सरुभक्तकोथाङ्गलासम्म, अनि विभिन्न विदेशी चलचित्रहरुः क्याराभान, केहि वर्ष अघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएको चलचित्र एभरेष्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरु हिमाली भू-भाग अनि जीवनशैलीका प्रतिरुपहरु हुन् । संसारको शिरभाग अर्थात् हिमाल वरपर हिमशयलको देश नेपालमा आज प्रकृती अनि हिमाल लगायत समग्र मानवता अनि शान्तिको कामना गरिंदै रङ्गीविरङ्गी झण्डा अनिध्वजा पताकाहरु अनि तिनमा अङ्कित शान्ति छर्ने मन्त्रहरु हिमालका तिनै चिसो हावाले दिने गतिकासाथ फहराउने छन् । ल्हो अर्थात बर्ष अनि छार अर्थात नयाँ, यो ग्याल्पो ल्होछारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समूदाय विशेषसंग मात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो आज।

कहिलेकाँही पात्रो अनि बर्षहरुले जुध्न पुग्छन , अनि केही चाडहरु खप्टीएर अर्कोसंग जुध्नपुग्दछन् । यस बर्षपनि ल्होछारको क्रममा यस्तै केही भएको हो, चन्द्र पात्रो र सौर्य पात्रोको मापन प्रणालीमा मेल भएपछी यो एकै दिन हुन पुगेको हो।

पात्रोले जेजस्तो भनेपनि पर्वको रौनक अनि उत्साहको सञ्चार भइसकेको छ, यस बर्षको ग्याल्पो ल्होछारको सबैलाई शुभकामना दिएर शुरु गर्न चाह्यौ आज ।

नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समूदायले ल्होसार शुरु हुनु एकमहिना अघि नै आ-आफ्नो घर रङ्ग्याउने, फोहेरहरु फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनिहरुले सम्बोटा लिपिलाई सेतोपिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउने गर्दछन् ।

तिनप्रकारका ल्होसारहरु मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्यसमुदायहरुको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाईन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समूदायकोयो एउटा साझा ल्होसार हो ।

आजको ल्होछारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाईएको एकप्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरि गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीकारुपमा लिईन्छ । यस वर्षभरि हिमालकोहावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदिवहिनीलाई साथ दिनेछन्, यी लोपूलहरुले सबैको कल्याण गरुन ।

ल्होछारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारीएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेरखाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेरपकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने मान्यता शेर्पासमूदायमा रहेको छ ।

आङ्गन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरुले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरुलाई हल्लाउदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झण्डाहरुले संसारभरी शान्तिको एउटा अद्वितीय कामनाअभिव्यक्त गर्दछन् । यस्ता झण्डाहरुका बारेमा केही थप जानकारी प्रस्तुत गर्यौं । लामो लठ्ठी या आडमा राखिएका एकनाशको तलदेखिमाथीसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरुमा ससाना चारकुने झुण्डाइएका झण्डाहरुलाई भने लगंता भनिन्छ, तिब्बतियन भाषामा यसको अर्थ हवाई घोडा हो ।

एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँभईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रु कामाध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसैविश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।

ग्याल्पो ल्होछारलाई ह्याल्मो ल्होछार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरुमा गएरनाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठोमसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमापनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।

खाप्सेको स्वादझै गज्जब अनि ध्वजाहरुजस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पो ल्होछारको शुभकामना ।
---
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.