Fulpati/World Teachers Day | फूलपाती/विश्व शिक्षक दिवस | २०७६ असोज १८ | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Sep/Oct 2019
२०७६ असोज
१८
शनिवार
Oct 05, 2019
सप्तमी
फूलपाती/विश्व शिक्षक दिवस ( Fulpati/World Teachers Day )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

सप्तमी 'फूलपाती' | विश्व शिक्षक दिवस




सप्तमी 'फूलपाती' विशेष अडियो सामाग्री

कोसेलीपात अनि दशैंको उपहारका किनमेलहरु भए त ? बैङ्कले नयाँ छापेको नोटहरु दशैंमा टिकाटालोकालागि काठमाडौबाट आफ्नो थातथलो जानेले लगिदिने चलन पनि छ हैन त ? जे होस दशैंले कहिले नयाँ लुगोको बहानामा त कहिले घोर्लै खसी-बोकाको बहानामा, कहिले घर जाने रौनक त कहिले देशका हरेकजसो स्थानमा प्रमुख दुर्गा भवानीका मठ-मन्दिरहरूमा नौरथा (नवरात्री) अवधिभर लाग्ने मेलाले सबैको जीवनमा रङ्ग र उत्साह छरेको छ, कि कसो ?

कतिजना भने परदेशमा गएको वर्षको दशैं सम्झना गर्दे बसिरहनुभएको पनि होला, औंला भाँच्दै कति वर्षदेखि दशैंमा घर जान नपाएको र अब कत्ति वर्ष या महिनापछि घरजाने भनेर पनि बस्नुभएको कति प्रवासी नेपाली हुनुहुन्छ ? यो दशैंमा घर आउन नपाए पनि के भयो र, अर्को दशैं या अर्को वर्ष तपाइले स्वदेशी माटोमा पाइला राख्न अवश्य आउनुहुनेछ, कि कसो ?

आज सबैजनालाई हाम्रो पात्रो मार्फत् नवरात्रीको साताैं दिन फूलपाती सम्बन्धमा विशेष यी शब्द साम्रगीहरु लगायत गाउँवेसीका यादहरु बोकेर आईयो है साथीहरू ।

सप्तमीको यो विशेष दिनलाई फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित 'फूलपाती' भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष साताैं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

कालरात्रि स्तूती मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

अर्थातः
कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाइलाई कोटी-कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।


नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पुर्‍याउने चलन थियो । नेपाल एकिकरणदेखि नै एकता र सांस्कृतिक प्रतिक गोर्खा जिल्लासंग नेपालीको पहिचान जोडिएको छ, तसर्थ गोरखाको फूलपाती विशेष हुनेगर्दछ । काठमाण्डौको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैघरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्राइने चलन थियो ।

लोकतन्त्र आगमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिएपनि थोरै फूलपाती भएपनि मोटरसाईकलमा काठमाडौसम्म ल्याइने गरिएको स्थानिय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ । फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरवारका कर्मचारीहरु सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन्, यसरी सङ्कलनगरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ । उक्त फूलपातीलाई विशेष माैलिक सिङ्गारपटार गरेर, झकीझकाउ बनाएर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ, दरबारबाट आएका विशेष टोलीहरुले वाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रागरेर फूलपाती दरवार भित्राउने चलन छ । यस्तो शोभायात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपातीलाई काठमाण्डौ ल्याएपछी नेपाली सेनाको एकटुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन पनि रहेको छ ।

अर्कोतर्फ गाउँघरमा आजबाट औपचारीक रुपमा लिङ्गेपिङ हालिन्छ, खरको डोरी र टुप्पो नकाटिएको हरियो चारवटा बाँसलाई गाडेर बनाइने यो पिङ दशैंको अर्को रौनक हो, जुन सदियाैंदेखि दशैंमा मनोरञ्जन गरीने एउटा माैलिक साधनको रूपमा प्रचलित छ । मान्छे चढेर मच्चिएपछी बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ, दशैंको यस विशेष अवधिकाबिच एकपटक भएपनि भूँई छोडनु भन्ने चलन छ, पिङ चढेका बखत भुई छोडिन्छ र मच्चिउनञ्जेल प्रकृतिको खुल्ला काखमा पञ्छिझै स्वतन्त्र भइ यो शरीरले स्वाँस भर्छ, अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

गाँउघरमा माहौल पक्कै पनि रोमाञ्चक छ, मुग्लान पसेका साथीभाइ आफन्तजन, प्रियजन आफ्ना गाउँठाउँमा कत्तिको फर्केका छन ? शहर बस्नेहरु पनि गाँउठाउँ फर्केका छन् कि छैनन ? कत्तिका आमाबुवा, दिदि वहिनी, दाजू भाईका मन हर्षले गदगद होलान त कति प्रतिक्षाका आँखा ओछ्याइ पर्खि बसेका होलान् । छोराछोरी, बुहारी अनि नातिना लगायत तीन चार पुस्तानै घरमा भेला भएको हुनपर्दछ । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडेघरको रौनक वास्तवमैं अतूलनीय छ, आजैबाट खसीबोका काट्ने तथा वलि कार्य प्रारम्भ भइसक्यो ।

चाडवाडहरु नभईदिएका भए हाम्रो जीवन कति निरस हुन्थ्यो होला ? चाडपर्वले जीवनलाई एउटा फरक उर्जारसले भर्नेगर्दछ । यो दशैंपछि म यो गर्छु, त्यो गर्दिन भन्ने हाम्रा स्वप्रतिज्ञाहरु र योजनाहरु पनि छन्, दशैंले सबको इच्छा पूरा गरोस् । यो चाड सनातन हिन्दू मात्रको नभई तमाम नेपालीजनको हो, यसको माैलिक विशेषता भनेकै यहि हो । तडक भडक भन्दा पनि सामान्य जीवनशैली अनि असामान्य आत्मियताका साथ चाड मनाउनुहोला । यो रमाइलो माहौलको शुभकामना ! जय होस् !!

विश्व शिक्षक दिवस


 

एउटा महान शिक्षकको आफ्ना विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरुले प्रज्जवलन गरेका उत्सुक्ता कतै गणीतका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यका रुपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो बसंसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन शुरु गरिएको हो ।

विधालयमा पहिलो घण्टिमा हाजिरकापी लिएर रोल नम्बरका आधारमा हाजिर लिने शिक्षकहरुको आवाजपछी आफ्नो रोल नम्बरको पालोमा 'यस सर' अथवा 'यस मिस' या 'म्याडम' हामी सबैले भनेकै छौं । कोही एकजना साथी या रोल नम्बर गयल भएमा शिक्षकहरुले कारण खोतलेर, के भयो ? किन आएन ? भन्ने चिन्ता र आत्मियता विद्यार्थीप्रति देखाउने गर्दछन् र समस्यामा परेका विधार्थीहरुप्रति सदाशयताकासाथ चाँसो व्यक्त गर्दछन् । स्कूले जीवनका अनि विद्यार्थीपलका फोटाहरु छन भने नियालेर हेर्नुहोस्, ति शिक्षकका अनुहारहरु र वहाँहरूले तपाइको भविष्य प्रतिको चिन्ता गरेर गाली गरेको, माया गरेको सम्झना गर्नुहोस् त ! संभव भएसम्म वहाँहरुलाई भेटेर आफूले उनिहरुले सिकाएको शिक्षाको आधारमा गरेको प्रगतिका कथाहरु सुनाउनुहोस्, तपाईको प्रगतिकालागि मुक्तकण्ठले खुशी हुने निश्वार्थी पात्र शिक्षकहरू नै हुन् । ती कापीका पानाहरु, जसमाा तपाइले गरेका गल्तीहरु उनिहरुको कलमको मसीले सच्याइएका छन्, ति परीक्षाका पानाहरु जसमा तपाइले लेखेका उत्तरका आधारमा तपाइलाई अङ्क दिइएको छ । हेडसर देखि नेपाली, गणीत, विज्ञान, सामाजिक शिक्षा, जनसंख्या जस्ता ति तमाम विषयका विषयगत ज्ञानहरु शिक्षकहरुको सहजिकरण र निर्देशन वेगैर कहाँ संभव थियो र ?

आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तराष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालवालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् । आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरुलाई सम्झिन आवश्यक छ जसले हामिलाई कालोपाटीमा चक र डस्टर धँस्दै वर्णमाला सिकाए । 'क' बाट कछुवा देखि 'ज्ञ' बाट ज्ञानीसम्म सिकाए । 'A' फर Apple बाट 'Z' फर Zebra सम्म सिकाए । त्यस्पश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरुसंग शिक्षा लिएका छौं, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरुलाई हार्दिक नमन् ।

कोही शिक्षक शिक्षिकाहरुले गृहकार्य नगरेको कारण हामीलाई लठ्ठीले पिट्नुभएको होला, कक्षाकोठामा अनावश्यक बोलेको या झगडा गरेकोमा अथवा क्लास 'बङ्क' गरेर कक्षाकोठामा गयल भएकोमा हामीले वहाँहरुबाट सजाय पक्कै पनि पाएको हुनुपर्छ तर त्यतीबेलाका सजाय अहिले आएर हाँसो उठ्दो याद भइसकेको छ । वहाँहरुले जे गर्नुभयो सबै हाम्रा लागि नै गर्नुभएको हो । तर यसको अर्थ यो हैन की ज्ञानको नाममा कलिला नानीहरूलाई कठोर पीडा दिइयोस् । विभिन्न समाचारहरूमा समय समयमा सुन्नमा आउने त्यस्ता सजायका कारण केटाकेटीले निर्मम यातना सहेका छन्, आँखा फुटालिएका छन्, हाँत खुट्टा भाँच्चिएका छन् । कुनैपनि हालतमा यस्तो कार्यलाई निरूत्साहित गर्न विद्यालय, शिक्षक शिक्षिका, अभिभावक र सरोकारवालाहरूले गम्भिरताका साथ लिन जरूरी छ ।

तर केटाकेटी उमेरदेखि जागिरे अथवा व्यवसायीक उमेरसम्मको हाम्रो सफलताको श्रेय तिनै शिक्षक शिक्षिकालाई जान्छ । कहिले नाटक गरेर त कहिले चित्र बनाएर हामीलाई पढाउनुभयो र आज हामी जे छौं त्यस्मा वहाँहरुको अतूलनिय देन छ । वर्णमाला नै उक्काउन नजान्ने एउटा बालक विद्यालय छिर्छ र विस्तारै वर्णमाला उक्काउँदै, बाह्रखरी सिक्दै विस्तारै उ कुनै विश्वविधालयबाट एउटा शिक्षित वयस्क नागरीक भएर निस्कन्छ । शिक्षकहरुबिना यो मानव रुपान्तरण संभव छैन । राष्ट्रको भावी पुस्ताहरुको वैचारीक शिल्पको शिल्पकार नितान्तरुपमा शिक्षकहरुनै हुन, आफ्नो ज्ञान, सीपको माध्यमले तठस्त र स्वतन्त्र रुपमा आफ्ना विधार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुलेनै हामीलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका हुन । शिक्षकहरुबाट हामीले धेरै कुराहरु पाएका छौं, हामीलाई चाहिएको बेलामा वहाँहरुले हाम्रो आत्मविश्वाशलाई वृद्धि गरिदिनुभएको छ, समस्या परेको बेलामा अतिरिक्त सहयोग पाएका छौं, अनुशासनको अभ्यासहरु अनि चाहिएको समयमा एउटा सहयोगी उपस्थिती नै शिक्षकहरू हुन् ।

जसरी फलामलाई तताएर अनि त्यसलाई तातो छँदै अर्को फलामले हानेर शिल्पकारले फलामलाई आकार दिन्छ, किसानले पनि सधैं वालीनालीलाई एकै प्रकृतीले लगाउने, रोप्ने, गोड्ने गर्छ तर शिक्षकले एउटै पाठ र अभ्यास सिकाउन फरक फरक विद्यार्थीलाई फरक फरक तरिका प्रयोग गर्नुपर्दछ । हामी सबैको कुनैपनि कुरा बुझ्ने आ-आफ्नै तरिका छ र शिक्षकले त्यहीअनुसार हामीलाई सिकाएका हुन् । हामीमध्ये कतिपय विद्यार्थी हौं या शिक्षकनै हौं, एउटा असल विद्यार्थी र असल शिक्षक हुने प्रेरणा हामीबाट नहटोस्, सदियाैंसम्म यो सम्मानको संस्कार बसिरहोस् ।

हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार गर्नुभएको ।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.