Harishayani Ekadashi Vrata/Chaturmaas Wrata Aarambha/Bakar eid | हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने)/चतुर्मास व्रत आरम्भ/बकर इद (ईद ऊल जोहा) | २०७९ असार २६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2022
    २०७९ असार
    २६
    आइतवार
    Jul 10, 2022
    असार शुक्ल एकादशी
    हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने)/चतुर्मास व्रत आरम्भ/बकर इद (ईद ऊल जोहा) ( Harishayani Ekadashi Vrata/Chaturmaas Wrata Aarambha/Bakar eid )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी / बकर इद (ईद ऊल जोहा)




    चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी विशेष अडियो सामाग्री

    चतुर्मास व्रत को थालनी
    असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदै छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ ।

    विष्णु भगवान् चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहूर्तहरू हुन्छन् ।

    हरिशयनी एकादशीको महत्त्व
    आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्त्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन ९सुत्न० जाने विश्वास गरिन्छ । त्यही कारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।

    यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चतुर्मास सकी एकै चोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।

    हरिशयनी एकादशी मा के के गरिन्छ ?
    आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान् विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक ऊर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दुहरूका लागि तुलसीको निक्कै महत्त्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दुहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

    हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान् ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई पनि सुनाएको उल्लेख छ ।

    हरिशयनी एकादशी व्रत कथा
    चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एक जना धार्मिक राजा मन्दताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख बिरुवाहरूले हरियाली गुमाइसकेका थिए ।

    राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको समाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।

    किंवदन्ती तथा कथाहरूले जेसुकै भने पनि राम्रो र सत्य–कर्म मानव जीवनको अमूल्य सम्पत्ति हो । सत्पथतर्फ लम्किँदै जानुहोस्, प्रगति तपाईँको साथमा हुनेछ ।
    चतुर्मास व्रत आरम्भ

    हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मका ४ महिना भगवान् विष्णुले शयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान् विष्णुले आफू शयन गर्ने हुँदा भगवान् शिवलाई आफ्नो कार्यभार सुम्पेका हुन्छन् । तसर्थ, धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरूले विशेष गरी भगवान् शिवको पूजा–आजा गरी व्रत बस्ने गर्छन् ।

    भगवान् विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषि पञ्चमी, नाग पञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पूजा आदि जस्ता थुप्रै दिनहरूमा बसिने व्रतहरू चतुर्मास व्रत हुन् । यो ४ महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापूर्व कालदेखि रहिआएको छ।

    बकर इद


    '

    'इद ऊल जोहा'
    'इद ऊल जोहा' अथवा ' इद ऊल अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाँउदै छन् । इस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।

    बकर इदको पृष्ठभूमि
    मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वर कोलागि हो भन्ने भावना जागृत गराउनु हो।
    मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वर कोलागि हो भन्ने भावना जागृत गराउनु हो।

    बकर इदमा के के गरिन्छ ?
    यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ।

    आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समुदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभार्इहरूलार्इ डाँकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसीको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसीयाली साट्ने गर्दछन् । बहुभाषिक, वह धार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसँगको सामीप्य र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।

    यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन् । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।

    मक्का का लागि यस वर्षको यात्रा सुरुवात
    हरेक मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्का मा हज तीर्थयात्रा गर्न जरुरी मानिन्छ यसकालागि एउटा निश्चित समय तय गरिएको हुन्छ । आजबाट मक्का मा जाने हज तीर्थयात्राको यस वर्ष कालागि औपचारिक समापन भएको दिन पनि हो ।
    इस्लाम धर्मका चाडहरूमा दान पुण्यको चलन

    हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरिबहरू पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो सञ्चित धनको २।५ प्रतिशत हिस्सा गरिबहरूलाई दान गर्नु पर्ने नियम छ। अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरूलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्बानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकीलाई दिइन्छ, दोस्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेस्रो भाग चाहिँ कुर्बानी गर्ने परिवारले राख्दछन् ।

    यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्बानी गर्न नपाउने मुसलमानहरूले आफ्नो गाउँ लगायतका सामीप्य रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर इद लाई केवल कुबानी अर्थात् बलीसँग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात् जीवन लिनु मात्र नभई जीवनको मूल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनुयायी दाजुभाइ तथा दिदी बहिनीहरूमा 'इद उल जोहा'को शुभकामना !

    धर्मको जय होस्
    अधर्मको नाश होस्
    विश्वको कल्याण होस्
    प्राणीमा प्राण होस्
    सबैको जय होस्

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.