Karkat Sankranti/ Luto Falne Din/Dakshinaayan Arambha/Tharu Guriya Parwa | कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन/दक्षिणायन आरम्भ/थारु गुरिया पर्व | २०७९ साउन १ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jul/Aug 2022
    २०७९ साउन

    आइतवार
    Jul 17, 2022
    साउन कृष्ण चतुर्थी
    कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन/दक्षिणायन आरम्भ/थारु गुरिया पर्व ( Karkat Sankranti/ Luto Falne Din/Dakshinaayan Arambha/Tharu Guriya Parwa )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन/दक्षिणायन आरम्भ/थारु गुरिया पर्व




    कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन विशेष अडियो सामाग्री

    कर्कट सङ्क्रान्ति
    श्रावण महिनाको पहिलो दिनमा सबैलाई स्वागत छ । आजबाट चाडबाड सुरु हुने बताइन्छ । बर्खा यामको मध्य विन्दु यस महिनाको सङ्क्रान्ति लाई कर्कट सङ्क्रान्ति भनिन्छ ।

    श्रावण महिनाको पौराणिक व्याख्या
    श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्न कालागि भगवान् शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिव पुराणमा पनि आफ्नो जटामा साक्षात् गङ्गा नदी लिएर हिँडेका भगवान् शिव आफै जल हुनुभएको उल्लेख गरिएको छ ।

    श्रावण महिना र बोल बम प्रथा
    यसै हिसाबले पनि यस महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । यस चलनलाई बोल बम भनिन्छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बाघ द्वार, महोत्तरीको सोनामाईथान र सिद्धानाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरूको भीड लाग्ने गर्दछ ।

    तरार्इमा यो महिना भरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई, चोखोनितो ग्रहण गर्दै सामूहिक रूपमा यात्रा कोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँट घाट धाम लगायतको विभिन्न शिवालयहरूमा काँवरहरूको ठुलो घूँइचो रहने गर्दछ ।

    उत्तरायण र दक्षिणायन
    वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ती दुई परिवर्तनलाई उत्तरायण र दक्षिणायन भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सूर्य ले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशि देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।

    दक्षिणायनको अवधिमा सूर्यको परिक्रमा मार्ग बिस्तारै दक्षिण तर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार दक्षिणायनलाई नकारात्मकता तथा उत्तरायणलाई सकारात्मकता को प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरूको एक रात।

    पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरूले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरूले पुनर्जन्म लिनु पर्छ, यसै कारण पनि सूर्यको यी दुई स्थितिलाई मानिसहरूको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।

    दक्षिणायनको बेला रातहरू लामो र दिनहरू छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिँदैन। तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखो गरेर लिइएको व्रत एवं गरेको पूजा आराधनाले रोग र शोक मेटिने विश्वास रहेको छ।

    दक्षिणायनको बेलामा वर्षा, शरद र हेमन्त ऋतुहरू पर्दछन् त्यसै कारण दक्षिणायनमा आकाशलाई बादलहरूले घेरेको पाइन्छ। व्रत एवं उपासनाको लागि उत्तम मानिने यो समयमा सबैको भलो होस्।
    श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नुभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु(स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रही आएको छ ।

    लुतो फाल्ने दिन
    श्रावण महिनामा सूर्य कर्कट राशिमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरी पर्नुभएकाले मान्छेहरू आवत -जावत गर्दा पानीमा रुझ्न सक्ने सम्भावना हुन्छ । त्यसमाथि कृषि अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिट्टिनु लगभग सामान्य झैँ हो । यसर्थ गर्मी र वर्षाको यो असरले वर्षाको महिनाहरूमा चर्म तथा छालासङ सम्बन्धित रोगहरू जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउन सक्ने सम्भावना अत्यधिक हुन्छ । साउने सङ्क्रान्ति लाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । यस दिन नदी किनारमा गर्इ शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ भने कसैले भ्यान्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।

    थारु गुरिया पर्व
    गुरही अर्थात गुरिया पर्व थारु समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ । श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिको यस पर्वलाई महिनाको हिसाबले जेठो पर्व चाहिँ मानिँदैन किनभने थारु समुदायको नयाँ वर्ष माघे सङ्क्रान्ति बाट सुरु हुन्छ र यस हिसाबमा गुरिया पर्व जेठो या पहिलो पर्वका रूपमा पर्दैन । तर मानव जीवनको बिकासक्रमलाई आधार मानेर गुरिया पर्वलाई बाल पर्व का रूपमा मान्दै पहिलो पर्व भएको हुनसक्छ । भाइ बहिनीको माया प्रेमको प्रतिकका रूपमा यस पर्वमा थारु महिलाहरूले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भनेँ पुरुषहरूले त्यस गुरियालाई सोँठा, कोर्रा या लट्टीले चलाउँदछन र खेल्छन् । यसरी बालापनमा खेलिने भाँडाकुँडीको झल्को दिने यस पर्वले गुडियासंगै आफ्ना पीडा, रोग व्याध र कष्टहरू जाने विश्वासका साथै भातृत्वको एक मिठो दृष्टान्त उजागर गर्दछ ।

    गुरिया भनेको के हो?
    गुडिया बाट आएको गुरिया सामान्यतया खेल्ने पुतली भनेर पनि बुझ्न सकियो भनेँ गुरही भनेको चाहिँ तराई भेगमा पाइने, खोला या नदी किनार अनि बालीहरूमा देखिने पुतली जस्तो देखिने र उड्न सक्ने किरा हो । पश्चिमी नेपालका कैलाली, कञ्चनपुर, दाँङ्ग तिर यसलाई गुरिया भनिन्छ भनेँ कसै कसैले यसलाई झिंगौरा पनि भन्छन् । मध्यपहाडि भागमा भनेँ यसलाई गाइने किरा पनि भनिन्छ । हेलिकोप्टर जस्तो देखिने र विभिन्न रङ्गहरूमा पाइने भएकाले यस किरालाई हेलिकोप्टर किरा पनि भनिएको पाइयो ।
    पश्चिमी थारु भाषामा गुरिया भन्नाले मोतीको माला भन्ने अर्थ पनि लाग्दछ पनि तर गुडिया बनाउने पर्व भएकाले यस पर्वको नाम गुडिया बाट नै गुरिया भएको विश्वास गरिएको पाइन्छ ।
    यस पर्वको सबैलाई हार्दिक शुभकामना ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.