Ghode Jaatra | घोडेजात्रा | २०७७ चैत २९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2021
    २०७७ चैत
    २९
    आइतवार
    Apr 11, 2021
    चैत कृष्ण चतुर्दशी
    घोडेजात्रा ( Ghode Jaatra )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    घोडेजात्रा




    घोडेजात्रा विशेष अडियो सामग्री

    घोडा, घोडचढी, घोडसवार, यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबीचको सहकार्य निरन्तर छ । इतिहासका अनेकन दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ । अझ यो सम्बन्धबारे अनेकन किसिमका कथा–किस्साहरू पनि जीवितै छन् । युरोप, अमेरिका, मध्यपूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा भरपर्दो र छिटो सवारीको माध्यम थियो ।

    विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरू सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो ।

    अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महत्वपूर्ण जीवको रुपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ, ‘अश्वमेघ यज्ञ’ हो, जसमा सैयौँका संख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ । ती घोडाहरू जहाँ–जहाँसम्म पुग्छन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

    आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुँदेका यी अत्यन्त बफादार अनि बेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाडौंमा घोडेजात्रा मनाइँदैछ । चाहे काठमाडौंका विभिन्न ठाउँमा रहेका राणाहरूको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना शालिक या तस्वीर होस्, घोडाहरूको उपस्थिति जरुरी देखिन्छ । नेपोलियनदेखि कुब्लाई खाँसम्म अनि जङ्गबहादुरदेखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बीरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाडांंैको अत्यन्त मौलिक जात्राका रुपमा घोडे जात्रा युगौं युगान्तरदेखि काठमाडौंको टुँडिखेलमा अविछिन्न अनि निरन्तर रुपमा प्रदर्शन गरिँदै आएको छ ।

    घोडेजात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रुपमा प्राचीन कालदेखि काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौको टुँडिखेलमा हजारौं सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रर्दशन गर्ने गर्छन् । घोडे जात्राकै दिन विहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा शुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकौशलहरूको प्रदर्शनी शुरु हुन्छ ।

    यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रुपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ । त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् । काठमाडौंमा हुनुहुन्छ भने आजको दिन जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।

    यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोश्रो दिन घोडेजात्रा हो, घोडेजात्राबाट विवााहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडेजात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किंवदन्ती प्रस्तुत गरौँ ।

    घोडेजात्रा किन मनाइन्छ ?
    काठमाडौंवासीहरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडेजात्रा मनाउनु पछाडिको एउटा कारण हो । कथा यसरी शुरु हुन्छ..... परापूर्वकालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकाबासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती छ ।

    अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कातर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औसीमा अश्वयात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।

    काठमाडौं र पाटनको घोडेजात्रा विशेष किस्सा

    यो इतिहासको एउटा टुक्रा हो, आज हामी हाम्रो पात्रोमा यसलाई जाहेर गर्दैछौं । उतिबेला काठमाडौं, भक्तपुर र पाटन फरक–फरक राज्य थिए । मनहरा र बाग्मती नदीले राज्यको सीमाको काम गरेको थियो । काठमाडौंका राजा प्रताप मल्ल, मल्लवंशकै सबैभन्दा शक्तिशाली राजा मानिन्छन् । विसं. १६९८ देखि १७३१ सम्म यिनले अविछिन्न ३३ वर्ष शासन गरे । राजा प्रताप मल्ले पाटनमा गृहयुद्ध गराउन विद्रोहीहरूलाई हात लिए । यसपछि कमजोर भएका पाटनका राजा श्रीनिवास मल्ललाई हातमा लिएर प्रताप मल्ले भक्तपुरको नाला भन्ने ठाउँमा कब्जा पनि गरेका थिए ।

    उपत्यकाका अन्य राज्यहरूसँग राम्रो समबन्ध नभएका राजा प्रताप मल्लको पाटनका राजा श्रीनिवास मल्लसँग पनि ठूलै मनमुटाव थियो । उतिबेला पाटनका नागरिकहरू घोडेजात्रा हेर्न काठमाडौँ आउने, काठमाडौंका नागरिकहरू मछिन्द्रनाथको रथयात्राका लागि जावलाखेल जाने र अन्य थुप्रै जात्राहरू मिलेर गर्ने चलन थियो ।

    नेपाल सम्बत् ७८७ तिर काठमाडौंका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव भएपछि पाटनका जनता काठमाडौंमा घोडेजात्रा हेर्न नजाऊन् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको भन्ने किंवदन्ती सुन्न पाइन्छ । पाटनका राजा श्रीनिवास मल्लले पाटनमा घोडेजात्रा शुरुवात गराए । यो जात्रा काठमाडौंको जत्रो रौनकपूर्ण नभएपनि पाटनको आत्मनिर्भरताका लागि ठूलै काम सावित भएको थियो । यसरी राजा श्रीनिवासले शुरु गराएको पाटनको घोडेजात्रा आज पनि फरक परिवेशमा नियमित सञ्चालन हुन्छ ।

    घोडेजात्रामा उपत्यकामा हुने विशेष क्रियापलापहरू
    आजको विशेष दिन काठमाडौँ उपत्यकामा एउटा अद्भूत दैवीय मिलन हुने गर्छ । आउनुहोस्, हामी बेलीबिस्तार लाउँदैछौ.....

    आजको दिन भद्रकाली, लुमडी, कंकेश्वरी र भैरबहरूको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ । वर्षमा आजको दिन मात्र यस्तो दिन हो, जब यी सबै भैरब प्रतिमाहरूले एक–अर्कालाई भेट्छन् । यसअर्थमा हामीले आजको दिनलाई दैवीय मिलनका रुपमा ब्याख्या गरेका हौं ।

    घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्छ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडेजात्रा हेर्न राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेललाई डाँक्ने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

    टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारी बालीको बीऊ रोप्ने चलन पनि कायमै छ । हाल घोडेजात्रालाई काठमाडौँमा मात्रै सीमित नराखेर राष्ट्रिय महत्व बोकेको जात्राका रुपमा मनाउने गरिएको छ । काठमाडौंबाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडेजात्रा मनाउने गरिन्छ ।

    पाटनको बालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ । यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि छ । सुस्तरी यस्ता चलनहरूमा कमी भने आउँदै गएको छ । स्मरणरहोस्, एकीकरणपछि पनि भक्तपुर, पाटन अनि काठमाडौंका बीच आजको दिन अर्थात् घोडेजात्राको दिन कुन शहरमा कसको घोडेजात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो । यस जात्राको रंगमा उपत्यकाका शहरहरू आज पनि आ–आफ्नै ढगंमा रंगिने गरेका छन् । आजको दिनको शुभकामना ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.