Hanuman Jayanti wrata/Balaju Bais Dhara Mela/Baisakh Snan Praarambha | हनुमान जयन्ती व्रत/बालाजु बाइस धारा मेला/बैसाख स्नान प्रारम्भ | २०७८ वैशाख १४ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Apr/May 2021
२०७८ वैशाख
१४
मंगलवार
Apr 27, 2021
Panchami
हनुमान जयन्ती व्रत/बालाजु बाइस धारा मेला/बैसाख स्नान प्रारम्भ ( Hanuman Jayanti wrata/Balaju Bais Dhara Mela/Baisakh Snan Praarambha )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

हनुमान जयन्ती | बालाजु बाइस धारा मेला | बैशाख स्नान प्रारम्भ




हनुमान जयन्ती विशेष अडियो सामग्री

सर्वप्रथम त रामदूत हनुमानको जन्मको उपलक्ष्यमा मनाइने हनुमान जयन्तीका अवसरमा सबैलाई शुभकामना । त्रेतायुगीन रामायणका महत्वपूर्ण पात्र हनुमानको चैत्र शुक्ल पूर्णिमाका दिन भएको जन्म संसारैभरिका सनातन धर्मका अनुयायीले मनाउँछन् ।

रामायण कथाहरू, पात्रहरू अनि घटना क्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा छन् । हनुमान भन्ने बित्तिकै रामभक्त अनि बलवान भन्ने बुझिन्छ । हनुमानलाई बल र साहसको पर्यायका रूपमा अभिब्यक्त गरेको वाल्मीकी रामायणले हनुमान आफैले लेखेका हनुमान रामायणबारेमा खासै बयान गर्दैन । इतिहास पनि यो विषयमा मौन छ । हनुमान ऐतिहासिक रूपमा अझै उत्खनन् र अन्वेषण गर्नुपर्ने पात्र हुन भने धार्मिक रूपमा एउटा कोशेढुंगा अनि सामाजिक रूपमा मानिसले पुजेका जनावर देवता, हनुमान एउटा बाँदर देवता हुन् ।

अन्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन् । जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन् । आमा अन्जनाको लामो समयसम्मको भगवान शिवको आराधनापछि शिव वरदानका रूपमा हनुमान जन्मिएका हुन् ।

रामायण अनि अन्य शास्त्रहरूमा विष्णुसँग धेरै जाडिएका भएपनि हनुमान आफैमा शिवका प्रतिरूप हुन् । अर्कोतर्फ हनुमानलाई वायस पुत्र पनि भनिन्छ ।

आउनुहोस् यो विषयमा पनि चर्चा गरौ । यसरी अन्जनाको आराधनाले प्रशन्न भगवान शिवले अन्जनाको गर्भमा भगवान वायुलाई आफ्नो पुरुष शक्ति अनि उर्जाहरूलाई केन्द्रित गरेर भरिदिनू भनेपछि हनुमान गर्भमा आएकाले पनि हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ ।
बाल्यकालमा अति शक्तिशाली हनुमानले पाकेको आँप भनेर झण्डै सूर्यलाई खाइदिएको प्रसंगले उनको बल अनि सार्मथ्यको वृत्तान्त दिन्छ । हनुमानका गुरु सूर्य हुन् भने सूर्यका पुत्र सुग्रिव हुन् । आफ्ना गुरुलाई मद्दत गर्ने वचन अनि दायित्वबाट बाँधिएका हनुमान सुग्रिवलाई सहयोग गर्न रामायणमा संलग्न भएका हुन् ।

बाल्यकालमा अत्यन्तै चकचके हनुमानबाट आजित भएर तपस्वीहरूले उनलाई आफ्नै शक्ति भुल्ने र अरुले याद नदिलाऊन्जेलसम्म याद नआउने श्राप दिएको विश्वास गरिन्छ ।

भगवान रामको वनवासका दौरान हनुमानसँग उहाँको भेट भएको हो अनि वाँकी रामायणमा हनुमानको कृत्य अनि कर्तब्य हामीमध्ये धेरैलाई थाहै छ ।

यिनै समुन्द्रलाई एकै फड्कोमा तर्न सक्ने, पुच्छरमा आगो लगाएर लंका जलाउन सक्ने अनि भगवान रामलाई ज्यान लिन आएका यमराजलाई नै फिर्ता पठाउने सामथ्र्य राख्ने हनुमानलाई धार्मिक रूपमा मात्र नभइकन मौलिक अनि मानवताको दृष्टिले पनि महत्पूर्ण मानिन्छ ।

नेपाल मात्र नभई भारत, बंगलादेश, म्यानमार, थाइल्याण्डमा समेत हनुमानलाई विभिन्न स्वरूपमा पूजिन्छ । थाईयाण्डको राजधानी बैंककको सुवर्णभूमि विमानस्थलमा त लस्करै हनुमानका दर्जनौ मूर्ति राखिएका छन् । सम्पूर्ण स्वरूपमा हनुमान झैँ देखिने यी देवतालाई स्थानीय भाषामा अर्कै नामले पुकारिन्छ । तर यिनको उपस्थितिले सुरक्षा हुने भएकाले त्यहाँ राखिएको बताइन्छ ।

पर्वतलाई नै उठाएर ल्याउन सक्ने हनुमानलाई रावणसँगको युद्धपश्चात् रामले बिदाई गर्ने क्रममा इच्छा सोधेका बखत, संसारमा रामको नाम चलिरहुन्जेलसम्म पृथ्वी लोकमै रहिरहने हनुमानको इच्छा भगवान रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जिवित देवताका रूपमा अझै पनि हामीमाझ छन् । शक्ति, सत्य, सामथ्र्य अनि भक्तिका प्रतिरूप यिनै हनुमानको जयन्तीले हामी सबैको कल्याण गरुन् । आगामी वर्षहरू शुभ हुन्, चन्द्र सबैको दाहिने होस् ।


बालाजु बाइस धारा मेला
काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनि बाइस धारा भन्ने ठाउँ छ । वास्तवमा नै २२ वटा धारा भएको यो ऐतिहासिक ठाउँलाई आजको मितिमा पार्कको संज्ञा दिइएको छ ।

यस स्थानलाई नेवार समुदायले ल्हुति भन्ने गर्छन् । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले उक्त पानी औषधिय महत्वको रहेको विश्वास गरिन्छ । यस कारण पनि बाइसधाराको पानीमा नुहाउँदा चर्मरोग निको हुने विश्वास गरिन्छ । ल्हुति फलको यस अनुपम फाइदालाई आत्मसाथ गर्दै बाइसधारामा नुहाएर स्फूर्ति प्राप्त गर्ने हजारौं पुस्ताहरूको मुस्कान बाइसधाराको मुहानमा गाँसिएको छ ।

बाइसधारा मेलाको आफ्नै धार्मिक र सामाजिक महत्व छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ बर्षेनी मेला लाग्ने गर्छ । यो दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउने गरेको उल्लेख छ ।

के मान्यता छ भने यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइसधारामा नुहाई–धुवाई गरेमा फलिफाप हुन्छ । किंवदन्ती अनुसार, विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूप उत्पत्ति भयो । यसैको सम्झनामा ल्हुतिपूर्णिमा मनाउने गरिएको हो ।

विश्वकै सबैभन्दा सानो मुद्रा प्रचलनमा ल्याउने राजा जयप्रकश मल्लले आफ्नो जीवनकालमा बालाजु ढुंगेधारा र गोकणेश्वरमा मन्दिर बनाए । त्यसबेला उनले बालाजुमा २१ वटा धारा बनाएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुंगेधारा स्थापना गरे ।

यसरी मल्ल राजाको पालामा २१ र शाहवंशका राजाका पालामा एक गरी २२ वटा धारा भएको यस ठाउँलाई बाइस धारा भन्न थालियो । त्यसपछि वि.सं. २०१८ मा राजा महेन्द्रको पालामा यो पार्कको आधुनिक खाकासहित निर्माण शुरु भएर वि.सं. २०२१ सालदेखि सबैका लागि

यो उद्यान सार्वजनिक गरिएको हो । राजा महेन्द्रको पालामा निर्माण भएका कारण यस उद्यानलाई महेन्द्र पार्क पनि भनिन्छ ।
तनहुँका आदिकवि भानुभक्त काठमाडौं आउँदा बालाजु देखे । त्यो बालाजुका उनले गरेका काव्यिक वर्णन यसप्रकार छ ।

यति दिनपछि बल्ल बालाजु देख्याँ
पृथ्वीतलमा स्वर्ग हो जानी लेख्याँ।

आज पनि बाइस धारा परिसरमा रहेको आदिकविको शालिकले यो क्षेत्रको सौन्दर्यको बयान गर्छ । चैत्र पूर्णिमामा यहाँ भव्य मेला लाग्छ । यद्यपि पछिल्लो वर्ष र यस वर्ष पनि कोरोना त्रासका कारणले मेलामा प्रभाव पर्नेछ । बाइसधाराले सबैको रोगव्याधहरू हरण गरोस् । यहाँको मुहान कहिल्यै नसुकोस् । शुभकामना ।

बैशाख स्नान प्रारम्भ
न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।
स्कंदपुराण, वै वै मा. द्द-ज्ञ
अर्थात् वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन । र, गंगाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट बैशाखे स्नान शुरुवात भएको छ । तीर्थमा जाने, जलकुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्ने यस स्नानमा सबैलाई स्वागत र शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.