Sonam Lhochhar/Shree Ballav Jayanti/World Wetlands Day | सोनाम ल्होछार/श्रीबल्लभ जयन्ती/विश्व सिमसार दिवस | २०७८ माघ १९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jan/Feb 2022
    २०७८ माघ
    १९
    बुधवार
    Feb 02, 2022
    माघ शुक्ल प्रतिपदा
    सोनाम ल्होछार/श्रीबल्लभ जयन्ती/विश्व सिमसार दिवस ( Sonam Lhochhar/Shree Ballav Jayanti/World Wetlands Day )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    सोनाम ल्होसार | श्रीबल्लभ जयन्ती | विश्व सिमसार दिवस




    सोनाम ल्होसार विशेष अडियो सामग्री

    ल्होसार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्षोल्लास मनाउँछन् । त्यसमा पनि नेपाल बहु जातीय, बहु सांस्कृतिक, बहु धार्मिक र बहुभाषिक विशेषता बोक्ने मुलुक हो ।

    पहिले उहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु–पन्छी वर्षका रूपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल चाल पाउँथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरू खडा भएका हुन् ।

    तामाङ समुदायबारे लेखिएका पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यसर्थ, साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि चिनिन्छन् । ‘ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात् नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।

    यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँछन् । यसरी नेपालको पहाडी र उच्च पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीनसहितका बौद्धमार्गीहरु को घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्छन् ।

    तामाङहरूलाई प्रकृति प्रेमी समुदायका रूपमा पनि चिनिन्छन् । विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्छन् । यस समुदायमा आज छोरी–चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।

    सोनाम ल्होसार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ ।

    नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित तिब्बतमा मनाइने पर्वसँग मिल्दोजुल्दो छ । चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्छन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार, तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङका अलावा अतिरिक्त यो पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँछन् ।

    गुरुङले मनाउने ल्होसारलाई ‘तोला ल्होसार’, तामाङ लगायतका जातिले मनाउनेलाई ‘सोनाम ल्होसार’, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ । सोनाम ल्होसार पर्व तामाङ जातीहरू पुगेका नेपालसहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस्, म्यानमार, जापान लगायतका देशमा मनाइँदै आएको छ ।

    आजको दिन यी देशहरूका अधिकांश बौद्ध–विहारहरू उल्लासमय हुन्छन् । रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वार लगायत अन्य मनमोहक सजावटले आज बौद्ध–विहार बडो आकर्षक देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली बौद्ध–विहारहरूमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्छ र असीम आनन्दको अनुभूति गराउँछ ।

    आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत् अनुरूप भने सोनाम ल्होसार हो । ल्होसारको महिनाभरि सबैलाई शुभकामना छ ।

    सोनाम ल्होसारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँ र गाउँमा लामा र मुखियाको उपस्थितिमा सबै जना एकै ठाउँमा भेला भई नाच–गानसहित रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ । सुस्तरी तर बडो मधुर रूपमा गाइने सेलोका भाकामा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया–प्रेमका भावनाहरू पनि समावेश हुन्छ ।

    डम्फु चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ । उनीहरू परम्परागत तामाङ पहिरनमा सजिन्छन् । उनीहरू अरू समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई खुल्ला हृदयले स्वागत गर्छन् ।

    नकारात्मक तत्त्व हटाउन, आशा जगाउने सकारात्मकपन र शक्ति डाँक्न तान्त्रिक विधिअनुरूप नृत्य पनि गरिन्छ ।

    लामाहरूसँग आशिष् लिएर आजको दिन वर्षभरिका लागि शुभ साइतको अपेक्षा राखिन्छ । काठमाण्डौमा टुँडिखेलबाट र्‍याली र महोत्सव समेत गरिन्छ । महोत्सवमा तामाङ समुदायमा प्रचलित खाना, कला–संस्कृति र भेष भूषाको पनि प्रदर्शन गरिन्छन् । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामना आदान–प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।

    सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरू तयार पार्दै विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला हुँदै सामूहिक रूपमा चाडबाड मनाइन्छ । अनि सरल, सभ्य रूपमा मिलनसार शैलीको सन्देश दिन तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय मानिन्छन् ।

    सोनाम ल्होसारको शुभकामना । असल कामनाहरू अनि आशाहरूले सबैलाई पछ्याओस् ।

    श्रीबल्लभ जयन्ती


    आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए। श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गर्नुभयो। जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्त रहस्य, नवरत्नस्तोत्र आदीलाई उहाँको चर्चित रचनाहरूको रूपमा स्मरण गरिन्छ। त्यसबाहेक श्री बल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गर्नुभयो। आजको दिन यिनै महाप्रभु वल्लभाचार्यको जन्म जयन्ती हो।

    सानो उमेरमै आफ्नो सुपुत्रको प्रतिभा देखेर श्री बल्लभको पिताले आठ वर्षको उमेरमा उनलाई शिक्षाको लागि आचार्य विष्णुसिट्टाको मा पढ्न पठाए। तेह्र वर्षको उमेरमा श्री बल्लभले वेद-वेदाङ्ग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गर्नु भैसकेको थियो।

    श्री बल्लभको उमेर बढ्दै गएसँगै उहाँको ज्ञानको प्रसिद्धि चारै दिशामा प्रसारित हुन थाले । पछि श्री बल्लभले शङ्कराचार्यको उपदेशहरूको खण्डन गर्दै ब्रह्माले पनि यो जगतको सत्यता नबुझेको भनी बताउनुभयो । यसै कारण श्री वल्लभका दार्शनिक सोचलाई "शुद्धाद्वैत" पनि भनियो। उहाँको दार्शनिक सोचहरूबाट अति प्रेरित भएर नै त्यस बेलाको विजय नगरका राजाले श्री बल्लभलाई श्रीमद् आचार्यको उपाधिले विभूषित गर्नुभयो। त्यस बेला देखि नै श्री बल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित हुनुहुन्छ।

    विश्व सिमसार दिवस


    सिमसार–भूमि : नेपाललाई प्रकृतिको वरदान

    आउनुहोस्, आज केही पर्यावरणीय, अनि भौगोलिक विषय बहस गरौँ । आज ‘विश्व–सिमसार दिवस’ हो । विश्वको पर्यावरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

    ध्भतबिलमक ब्अतष्यल ायच एभयउभि बलम ल्बतगचभ अर्थात् मान्छे र प्रकृति दुबैका लागि सिमसारको संरक्षण भन्ने नाराका साथ सन् २०२२ को ‘विश्व सिमसार दिवस’ मनाँइदै छ । अघिल्लो वर्ष ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ यो दिवस मनाइएको थियो । हुन पनि नेपाल ‘जैविक विविधता’मा धनी छ । तर प्रयोगका सन्दर्भमा हामी निकै पछि छौ । अनि दुरुपयोग गर्न चाहिँ अलि अग्रसर नै ।

    समुन्द्रले नछोएको भूपरिवेष्टित देश भए पनि नेपाल जलश्रोतमा सम्पन्न मानिन्छ । हामीसँग नदीनाला, ताल तलैया अनि कुवा, पोखरीसहित पानीको मात्रा धेरै छ ।
    सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको भू–भाग हो । जुन थलो ओसिलो र धापिलो हुन्छ । अर्थात् बाह्रै याम पानी नसुक्ने भूमि हुन् । जसमा सामान्यतया दलदल या हिलो सधैँ कायम रहन्छ ।

    खास गरी सिमसार वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रय थलो मानिन्छ भने पानीको आधारदेखि जलाधारका स्रोत पनि । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा–चुँरुङ्गीहरुको पनि वासस्थान मानिन्छ । राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू ९जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका०, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।

    हाम्रै वरपर अनि परिवेशभित्र रहेका कति सिमसार क्षेत्रहरूमा घर या कारखाना खोलिए होलान् रु प्लटिङ गरेर जग्गा तयार गरिँदै होलान् या अन्य प्रयोजनमा अतिक्रमण भए होलान् रु वास्तवमा भन्ने हो भने मानवीय विकास क्रम अनि पूर्वाधारहरूको अविवेकी विकास क्रमले नेपालमा सिमसार क्षेत्र नासिने दुष्चक्रमा परेका छन् ।

    यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्तिकै मनमोहक र सुलभ नदेखिन सक्छन् । यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मिर्गौला पनि भनिन्छ ।

    मिर्गौलाकै राम्रो संरक्षण गर्न नसकेमा पृथ्वी अनि यसमा बस्ने हाम्रो अस्तित्व कत्तिको सहज हुन्छ । विचार गरौँ । सिमसार क्षेत्र पर्यावरण, औषधि र कन्दमूलमा उपयोगी मानिन्छन् । अझ सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साइबेरिया देखि चराहरू आइपुग्छन् भन्ने अध्ययनहरूले देखाएको छ ।

    यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । करिब ३ अरब संसारका जनसङ्ख्याहरूले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरूले उत्पादन गर्छन् । सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै भयावह छ ।

    विश्व सिमसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौ वटै तालहरू सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्त हुन् । हाम्रै पुराना अध्ययनहरूले नेपालमा ठुला–साना गरी ४ हजार नजिक सिमसार क्षेत्र छन् ।

    यी महत्त्वपूर्ण सिमसारको विश्व स्तरमै संरक्षण गर्न सन् १९७१ मा जल पन्छीको वासस्थानसम्बन्धी सिमसार /रामसार महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरु सामेल भएका छन् । नेपाल भने औपचारिक रूपमा सन् १९७१ मा उक्त महासन्धिको सदस्य भएको हो ।

    त्यसअतिरिक्त सरकारले ‘सिमसार बुद्धिमत्तापूर्ण’ ढङ्गले प्रयोग गर्ने नीति सार्वजनिक गरिसकेको छ । सरकारी नीतिअनुरूप, मानव जातिको हितका लागि पारिस्थितिक प्रणालीका प्राकृतिक सम्पदाको जगेर्ना गर्न सिमसारको बुद्धिमत्तापूर्ण र दिगो प्रयोग गर्नुपर्दा रामसारमा सूचीकृत वा अन्य सिमसार क्षेत्रहरूको संरक्षण र व्यवस्थापन बुद्धिमत्तापूर्ण प्रयोग गर्नै तौर तरिका लागू हुनेछ । सिमसारमा आश्रित सङ्कटापन्न जीवजन्तु, जलचर, सापेक्षिक जङ्गली जनावर तथा अन्य जल आश्रित आनुवंशिक स्रोतको संरक्षण गरिनेछ ।

    पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरू लोप हुने क्रममा छ । यस्ता अधिकांश सिमसार क्षेत्रहरू एसियामा पर्छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसात् गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो । नीतिअनुरूप राष्ट्रिय स्तरमा समन्वय गर्न सचिव स्तरमै कार्यदल व्यवस्था पनि छ । तथापि सिमसार क्षेत्रहरू जोखिममै छन् ।

    पोखराका तालहरूलाई नै उदाहरणमा लिउ, हरेक वर्ष ताल खुम्चिँदै अनि बस्ती बढ्दै गइरहेको छ । ताल–किनारमा होटेल–घर निर्माणको क्रम बाक्लिँदो छ । त्यसरी अन्यत्र पनि भू–अतिक्रमण बढ्दै गइरहेको छ । त्यस कारण सिमसार क्षेत्र जोखिम परेका छन् । सिमसार क्षेत्र वरिपरि पूर्वाधार खडा गर्ने काममा सरकारले कडाइ गर्न सकेको पाइँदैन । त्यसअतिरिक्त सिमसार सुकाउने गरी अत्यधिक मात्रामा भूमिगत पानीको दोहन गर्ने कार्य पनि बढ्दै गएको छ । अतिक्रमणले गर्दा बर्सेनि सिमसार क्षेत्र घट्दै गएका छन् ।
    नेपालमा ताल र सिमसार क्षेत्रको संरक्षणका लागि ताल संरक्षण र विकास समिति को सन् २०६३ फाल्गुन १३ गते मा गठन भएको छ । नेपालका ताल र सिमसार क्षेत्रहरूको संवर्द्धन र व्यवस्थापन स्थानीय समुदायको सहभागितामा गराइँदै स्वच्छ ताल र सिमसारहरू बनाउने अभिप्रायका साथ गठन भएको यस समिति नेपाली ताल र सिमसार क्षेत्रहरूका लागि अहोरात्र लागिपरेको हुन्छ । सिमसार क्षेत्रहरूको संरक्षण हामी सबैको साझा दायित्व हो ।

    आखिर आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तव्य हैन र रु कानुनको दायरा फराकिलो पार्दै यस्ता दोहन कार्यमा संलग्नहरूलाई कानुनी सजायको दायरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ, नत्र मानव समुदायको अस्तित्व सङ्कटमा छ । तपाई–हामी आफै सिमसार क्षेत्रको संरक्षण गर्न अघि बढ्न जरुरी छ ।

    फेवु्रअरी–२ को ‘सिमसार दिवस’को अवसरमा सबैमा बहुमूल्य प्राकृतिक स्रोत संरक्षणमा हामी सबैमा चेतना आओस् । शुभकामना ।

    सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.