पितृ पक्षको समापन
१६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिमा पारी हिन्दु धर्मावलम्बीहरूले पितृ कर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।
श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ । आफन्त अनि पण्डितको आगमनसँगै कर्ताले पितृ कर्म गर्दा कपाल खौरेर अनि नयाँ जनै फेर्नुपर्छ । बिहानैदेखि नैवेद्य अनि अनेक प्रकारका शुद्ध खानेकुरा घरमा पकाइन्छ । अनि र श्राद्ध चलिरहँदा पण्डितकै निर्देशन अनुरूप घिउ, पुष्प, अबिर–केसरी लगायतका पितृ कर्मका आधारभूत श्राद्धका सामाग्री ठाउँमा लगिरहनु पर्छ ।
हिन्दु संस्कारमा श्राद्ध एकदमै महत्त्वपूर्ण कर्म हो । जसलाई सामान्यतया परिवारको ज्येष्ठ पुत्रले गर्छन् । तथापि सर्व पितृ औँसीका दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।
लैङ्गिक समानता र पितृ कर्म
पुत्रलाई मोक्षको बाटो भनी हिन्द शास्त्रमा उल्लेख भएको आधारमा विभिन्न पक्षबाट यस कुरालाई नारी विरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको पनि पाइएको छ । तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी–बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ ।सनातन धर्मको हरेक शुभ कार्य अनि संस्कारमा कर्ताका रूपमा पुत्रको उपस्थितिलाई प्राथमिकता दिएको भए पनि नारीहरूलाई पनि उत्तिकै महत्त्व दिएको छ । भान्जा–भान्जी अनि चेलीबेटीको उपस्थितिविना श्राद्ध कर्म पूर्ण हुन सक्दैन ।
पुत्र अनि पुत्री पितृका लागि समान छन् । आजभोलि पितृ कर्ममा अनि काजक्रियामा छोरीहरूको समान सहभागिता र कर्ताकै रूपमा भूमिका सराहनीय छ । धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै ठाउँ दिएको छ ।
पिण्ड दिएपछि गौमुत्र अर्थात् गहुत खाएर अनि टिकोटालो गरेर समापन गरिएको श्राद्ध कर्मपश्चात् अब दसैँको औपचारिक उत्साह र उमङ्गको सञ्चार हुनेछ । पितृहरूको सम्झना अनि सम्मानका लागि यी १६ दिनहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । चाडबाड अगावै पितृहरूप्रतिको यो समर्पण र सद्भावले हाम्रो संस्कारलाई वास्तवमै धनी बनाएको छ ।
औँसी श्राद्ध र पितृ विसर्जन
सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्व पितृ मोक्ष औँसी भनिन्छ । यस दिन अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरियो भने आजका तिथिमा चाहिँ तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ ।
पितृ मोक्ष औँसीका दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य पितृ धर्मस्थलहरूमा गएर श्राद्ध गर्ने लोक चलन छ ।
यस दिनमा श्राद्ध गर्दा सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता छ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुनसुकै तिथिमा आफन्तहरू बितेका भए पनि प्रतिपदादेखि औँसीसम्मका पन्ध्र दिनमा गरिने श्राद्धलाई पितृ मोक्ष औँसीमा श्राद्ध गर्न सकिन्छ । पूर्णिमा तिथिमा गर्नुपर्ने श्राद्ध पनि यसै औँसीमा गर्ने परम्परा छ ।
हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावस्या औँसीका दिन श्राद्ध गरिन्छ ।
पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ । सर्व पितृ मोक्ष औँसीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाउँमा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ । दसैँ–तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्वका अगाडि आउने पितृ पक्षमा पितृहरूको सम्झना र सम्मान गरिन्छ ।
सोह्र श्राद्धको अन्तिम दिन सर्व पितृ मोक्ष औँसीलाई पितृ विसर्जन गर्ने दिन भनिन्छ । यो औँसीमा श्राद्ध सम्पन्न गरेपछि मानिसहरू महान् चाड बडादसैँको तयारीमा लाग्ने गर्छन् । ल है, हामी सबैलाई दसैँको शुभकामना, सर्वमङ्गलम् ।
विश्व फार्मासिस्ट दिवस्
आयोजक
इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन ४० लाख भन्दा बढी फार्मास्युटिकल र फार्मास्यूटिकल वैज्ञानिकहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी निकाय हो। इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन एक गैर(सरकारी संस्था हो जुन १९४८ देखि विश्व स्वास्थ्य संगठनसँग आधिकारिक सम्बन्धमा रहेको छ।
सन् १९१२ को सेप्टेम्बर ५ मा यस संस्थाको स्थापना भएको सम्झनामा हरे वर्ष सेप्टेम्बर २५ मा यस दिवस मनाउने चलन छ ।
पृष्ठभूमि
हरेक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मासिस्ट दिवस हरेक फार्मासिस्ट, औषधि वैज्ञानिक, र यस क्षेत्रको सबै हिस्साहरूको साझा उत्सव हो। विश्वभर करिब चार करोड मानिस फार्मेसी पेसामा संलग्न छन् । विश्व फार्मासिस्ट दिवस एक स्वागत कार्यक्रम मात्र नभइकन यी व्यक्तिहरूले विश्वव्यापी स्वास्थ्य क्षेत्रमा सुधार गर्न खेल्ने भूमिकालाई सम्मान गर्ने महत्वपूर्ण दिवस पनि हो ।
यस दिवसको अर्थपूर्ण शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: