क्रिसमसको शुभकामना! मेरी क्रिसमस!
आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू सौहार्द्यता तथा खुसीयालीको चाड क्रिसमस मनाउँदै छन् । सम्भवतः संसारभरि धेरै देशहरूमा एकै दिन अर्थात् आजैको दिन चारैतिर सार्वजनिक बिदा हुने गर्दछ । विदेश तिर धेरैजसो ठाउँमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरू हिउँसँग जोडिएका छन् । क्रिसमसको यो पावन पर्वको उल्लास एउटा क्रिसमस गीतको सरल नेपाली अनुवादबाट सुरु गरौंः
बाहिर को चिसो भयावह छ तर बालेको आगो न्यानो छ
आज जानुपर्ने कुनै ठाउँ छैन, पारिदेऊ हिउँ पारिदेऊ
अँङ्गेना छेउ बस्या छु, हिउँ नरोकिए पनि ठिकै छ
भुट्नलाई मकै ल्याएको छु
सेन्टा क्लसले इच्छा पूरा गरिदिनेछन्, सबैलाई मेरी क्रिसमस !
इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान् कृष्ण होउन्, बुद्ध, गुरु नानक होउन् या पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन हो ।
विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
इस्वी सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।
क्रिसमस-ट्री
अङ्ग्रेजी पढ्दा हामी नेपालीहरू सबैले ए फर एप्पल बी फर बल गरी पढेका हौँ, यसै क्रममा X for X-Mass Tree पनि पढेका छौँ । चित्रमा सिँङ्गरिएको सानो धुपी कोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात् क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् । संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरूको खरिद बिक्री गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरू तयार हुनलाई कम्तीमा पनि १५ वर्ष लाग्दछ । चाडबाडमा परम्परागत रूपमा जनावरहरू मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरू खान कालागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरूलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरूले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरू काटेर सङ्ख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।
सान्टा क्लस
क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठुलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अङ्ग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको 'Snow Man' विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।
चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृति, सौहार्द्यता अनि नितान्त खुसीको अभिव्यक्तिका रूपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बीहरू छन् । वहाँहरू लगायत सबै कोलागि यो महान् क्रिसमस रमाइलो होस् । जाँदाजाँदै नेपाली इसाई धर्मावलम्बी साथीले हामी सबै जना हाम्रो पात्रो प्रयोगकर्ता कालागि एउटा भजन अनि शुभेच्छा दिनुभएको छ, सुन्नुहोला है, केवल हाम्रो पात्रोमा ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: