दशमी पछिको टिका लगाउने चलन
मुख्यतया दशमीका दिनको टिकालाई विशेष मानिन्छ । तर परपर भएका माइती मावलीहरूमा दशमीका दिन नै टिका भ्याउन नसक्ने परिवेशलाई ध्यानमा राखेर पूर्णिमाका दिनसम्म टिका र जमरा लगाइदिने चलन स्थापना भएको हो ।
दशमीका दिन देखि पूर्णिमा सम्म टिका लगाउनेको लर्को चलिनै रहन्छ । यद्यपि दसै को बिदा भने सामान्यतया द्वादशीसम्म दिने चलन छ ।
आशा छ यसपालाको दसै बडो रमाइलो भयो होला ।
प्रदोष व्रत
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
विश्व मुस्कान दिवस
पृष्ठभूमि
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउन्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’
सन् २०२२ को मुस्कान दिवसको नारा चाहिँ' do an act of kindness, help one person smile' छ । कोरोना भाइरसबाट आक्रान्त विश्व अब बल्लतल्ल सामान्य अवस्थामा फर्किरहेको छ । समाजमा मुस्कानको महत्त्व आफू हाँस्ने मात्र नभई अरूलाई पनि हँसाउने हिसाबले उल्लेख गरिएको छ ।
अक्टोबर महिनाको पहिलो शुक्रवार मनाइने विश्व मुस्कान दिवसको अनेक शुभकामना छ ।
यतिखेरको प्रतिस्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरूलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।
सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: