गाईगोरु पूजा/खण्डग्रास सूर्यग्रहण | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

गाईगोरु पूजा/खण्डग्रास सूर्यग्रहण





गाईगोरु पूजा
आज तिथि अनुसार गोवर्धन पूजा र हली तिहार चाहिँ परेन यद्यपि आजको दिनमा गाईगोरुहरु को पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर ल तिहारका दिन पूजा गर्ने चलन छ र यो पूजा भोलि गरिनेछ ।

आज चाहिँ कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोक उक्तिमा पाइन्छ । गोवर्धन पूजा भोलि परेका हुनाले गाई गोरु पूजा भोलि पनि गरिन्छ ।
 देउसी

आजको दिनको अर्को व्यापक रौनक हो , देउसी । हिजो भैलेहरुको भाका अनि आज देउँसेहरुको भाका । हुन त कोरोना त्रास र स्वास्थ्य सङ्कटका कारण यस वर्ष यी रमाइला कुराहरू थाती नै रहने भए तर अर्को वर्षको रौनक अनि बितेका वर्षको यादमा हामी सम्झना बिर्सना गरिरहन्छौं ।

अनि तपाईँको के छ त योजना रु जाने हैन त देउसी खेल्न ?
वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसी भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ ।

देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन सक्छन्, कहिलेकाहीँ देउसीको अपेक्षाअनुरूप देउसीको दक्षिणा नपाउँदा चाहिँ

यो घर हेर्दा सिँहदरवार जस्तो
आँगन हेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाई जस्तो
आदिजस्ता पक्तिंहरु अनि
केराको थम्बा
हामी यति जना भाइ जम्मा
झिलिमिली झिल्ला
ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामी मध्य धेरैको बाल्यकालसँग जोडिएको होला ।
  देउसी दिएको आशिषले साच्चीकै विशेष मान्यता राख्दछ,
यसपाला आउँदा जस्ताको छाना
अर्को साल आउँदा पक्काको छाना
त्यसपछि आउँदा चाँदीको छाना
त्यसपछि आउँदा सुनको छाना
यो घरैका केटा केटी

दुवो मौलाजस्तै मौलाइमा रहुन् जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन् । वास्तवमै हामी सबैलाई देउतेले दिएको आशिष् लागोस्, सद्भाव बढोस् । आजको दिन रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसीबाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या बाँडेर लिने या वनभोज जाने पुरानो रीति नेपाली समाजमा पुस्तौँ पुस्ताले दोहोर्‍याइरहेको छ । आजको दिनको हार्दिक शुभकामना ।

खण्डग्रास सूर्य ग्रहण


मङ्गलवार, विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२ का दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ। विश्वभरका मानिसहरूले आआफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन् ।

यस आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र युनाइटेड किंगडमको गुर्नसेको उत्तरी गोलार्धमा देखिनेछ र उत्तरी ध्रुव र रुसमा चाहिँ ग्रहणको सबैभन्दा चरम सीमा देखिनेछ ।

यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ ।
करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। साँझ ५ बजेर २४ मिनेट मा ग्रहणको अवधि सकिनेछ ।

ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्श भए सँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरुङ्गी, निमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसका साथै ग्रहण कालमा आफ्नो दीक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रह पीडा कम भई नवग्रहको असीम कृपा प्राप्त हुनेछ ।

कुनै जातकको जन्म कुण्डलीमा सूर्य ग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदि कोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।

ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभीत हुनुहुँदैन । यस खण्डग्रास सूर्य ग्रहणले मनुष्य जीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभीत नभई ग्रहणलाई सम्यक् रूपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक ऊर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहण कालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसोकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसी पत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक ऊर्जालाई रोक्ने सहयोग गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.