घोडा र मानिसको सम्बन्ध
घोडा, घोडचढी, घोडसवार, यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबिचको सहकार्य निरन्तर छ । इतिहासका अनेकन् दस्ताबेजहरूमा निरन्तर व्याख्या गरिएकै छ । अझ यो सम्बन्धबारे अनेकन् किसिमका कथा–किस्साहरू पनि जीवितै छन् । युरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा भरपर्दो र छिटो सवारीको माध्यम थियो ।
विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरू सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो ।
अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ, ‘अश्व मेघ यज्ञ’ हो, जसमा सयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ । ती घोडाहरू जहाँ–जहाँसम्म पुग्छन् त्यहाँ शान्ति, सौहार्द्यता र आनन्द रहने विश्वास गरिन्छ ।
आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुँदेका यी अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाडौँमा घोडे जात्रा मनाइँदै छ । चाहे काठमाडौँका विभिन्न ठाउँमा रहेका राणाहरूको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना सालिक या तस्बिर होस्, घोडाहरूको उपस्थिति जरुरी देखिन्छ । नेपोलियनदेखि कुब्लाई खाँसम्म अनि जङ्गबहादुरदेखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बीरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाडौँको अत्यन्त मौलिक जात्राका रूपमा घोडे जात्रा युगौँ युगान्तदेखि काठमाडौँको टुँडिखेलमा अविच्छिन्न अनि निरन्तर रूपमा प्रदर्शन गरिँदै आएको छ ।
घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्छन् । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।
यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ । त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् । काठमाडौँमा हुनुहुन्छ भने आजको दिन जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।
यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोस्रो दिन घोडे जात्रा हो, घोडे जात्रा विवाहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडे जात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किंवदन्ती प्रस्तुत गरौँ ।
घोडे जात्रा किन मनाइन्छ ?
काठमाडौंवासी हरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउनु पछाडिको एउटा कारण हो । कथा यसरी सुरु हुन्छ..... परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती छ ।
अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कातर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औँसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।
काठमाडौँ र पाटनको घोडे जात्रा विशेष किस्सा
यो इतिहासको एउटा टुक्रा हो, आज हामी हाम्रो पात्रोमा यसलाई जाहेर गर्दैछौं । उति बेला काठमाडौँ, भक्तपुर र पाटन फरक–फरक राज्य थिए । मनहरा र बाग्मती नदीले राज्यको सीमाको काम गरेको थियो । काठमाडौँका राजा प्रताप मल्ल, मल्लवशकै सबैभन्दा शक्तिशाली राजा मानिन्छन् । विसं. १६९८ देखि १७३१ सम्म यिनले अविच्छिन्न ३३ वर्ष शासन गरे । राजा प्रताप मल्ले पाटनमा गृहयुद्ध गराउन विद्रोहीहरूलाई हात लिए । यसपछि कमजोर भएका पाटनका राजा श्री निवास मल्ललाई हातमा लिएर प्रताप मल्ले भक्तपुरको नाला भन्ने ठाउँमा कब्जा पनि गरेका थिए ।
उपत्यकाका अन्य राज्यहरूसँग राम्रो सम्बन्ध नभएका राजा प्रताप मल्लको पाटनका राजा श्री निवास मल्लसँग पनि ठुलै मनमुटाब थियो । उति बेला पाटनका नागरिकहरू घोडे जात्रा हेर्न काठमाडौँ आउने, काठमाडौँका नागरिकहरू मछिन्द्रनाथको रथयात्राका लागि जावलाखेल जाने र अन्य थुप्रै जात्राहरू मिलेर गर्ने चलन थियो ।
नेपाल संवत् ७८७ तिर काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्री निवास मल्लबिच मनमुटाब भएपछि पाटनका जनता काठमाडौँमा घोडे जात्रा हेर्न नजाउन् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको भन्ने किंवदन्ती सुन्न पाइन्छ । पाटनका राजा श्री निवास मल्लले पाटनमा घोडे जात्रा सुरुवात गराए । यो जात्रा काठमाडौँको जत्रो रौनकपूर्ण नभए पनि पाटनको आत्मनिर्भरताका लागि ठुलै काम साबित भएको थियो । यसरी राजा श्री निवासले सुरु गराएको पाटनको घोडे जात्रा आज पनि फरक परिवेशमा नियमित सञ्चालन हुन्छ ।
घोडे जात्रा उपत्यकामा हुने विशेष क्रियाकलापहरू
आजको विशेष दिन काठमाडौँ उपत्यकामा एउटा अद्भुत दैवी मिलन हुने गर्छ । आउनुहोस्, हामी बेलिबिस्तार लाउँदै छौ
आजको दिन भद्रकाली, लुमडी, कंकेश्वरी र भैरवहरूको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ । वर्षमा आजको दिन मात्र यस्तो दिन हो, जब यी सबै भैरव प्रतिमाहरूले एक–अर्कालाई भेट्छन् । यसर्थमा हामीले आजको दिनलाई दैवी मिलनका रूपमा व्याख्या गरेका हौँ ।
घोडे जात्रा अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्छ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ । भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिङारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडे जात्रा हेर्न राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेललाई डाँक्ने गरिन्छ । घोडे जात्रा अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
टुँडिखेलमा सेनाले घोडे जात्रा बढाइँ गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारी बालीको बिउ रोप्ने चलन पनि कायमै छ । हाल घोडे जात्रा काठमाडौँमा मात्रै सीमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रूपमा मनाउने गरिएको छ । काठमाडौँबाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडे जात्रा मनाउने गरिन्छ ।
पाटनको बालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ । यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि छ । सुस्तरी यस्ता चलनहरूमा कमी भने आउँदै गएको छ । स्मरण रहोस्, एकीकरणपछि पनि भक्तपुर, पाटन अनि काठमाडौँका बिच आजको दिन अर्थात् घोडे जात्रा दिन कुन सहरमा कसको घोडे जात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो । यस जात्राको रङ्गमा उपत्यकाका सहरहरू आज पनि आ–आफ्नै ढगंमा रङ्गिने गरेका छन् । आजको दिनको शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: