Mangal Chauthi Wrataa | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध





विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते


विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।

हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ ।

मङ्गल चौथी किन भनिन्छ ?
आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।

भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् ।

मङ्गल चौथी व्रत कथा
उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पूज्य छन् । अतः माता दुर्गा भवानी र विघ्न हर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्न हर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।

मङ्गल चौथी पूजा विधि
जसले यस दिन ऋद्धि सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आराधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभ फल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःख कष्ट र बिघ्न बाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ । पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु, दुबो, आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले सङ्कल्प लिनु पर्दछ ।

सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजनका लागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्ने:

वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।


यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।

पञ्चमी श्राद्ध

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्
पञ्चमी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.