पापमोचनी एकादशी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

पापमोचनी एकादशी व्रत





एकादशी तिथि
चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्षमा पर्ने एकादशीहरूमा सनातन भक्तजनले हरिको आराधना गर्छन् । श्रीहरिलाई जगतका पालन हार, सृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरूका रूपमा सर्वव्यापी शक्तिका रूपमा बुझ्न सकिन्छ । यी सर्व शक्तिलाई धर्म या दर्शनभन्दा पर राखेर सृष्टिको साना–साना अवयवदेखि ठुला–ठुला खटनसम्मका तत्त्वका रूपमा चिन्न जरुरी रहन्छ । पृथ्वीमा जीवहरूको अस्तित्व अनि आत्मा तत्त्वको परमात्मा तत्त्वद्वारा संरक्षण यिनै हरि रुपी शक्तिले गरिएको मानिन्छ ।

चैत्र कृष्णपक्षको एकादशीको महत्त्व अलिक विशेष छ । यस एकादशीलाई पापमोचनी एकादशीका रूपमा चिनिन्छ । यो एकादशीको महत्त्व अधर्म चिर्नमा अनि पापबाट मुक्ति पाउन विशेष रहेको पाइन्छ । यो एकादशीमा व्रत बसेर हरिको आराधना गरेमा यो लोकमा अनि अर्को लोकमा पनि मुक्ति पाइने विश्वास गरिन्छ ।

पापबाट मुक्ति निम्ति : पापमोचनी एकादशी
हरेक वर्षका एकादशीका शृङ्खलाहरूलाई पापमोचनी एकादशीले पूर्ण पारिदिन्छ । वर्षको अन्तिम एकादशीका रूपमा यो एकादशीलाई लिइन्छ । यस एकादशीमा श्रीहरिको चतुर्भुज रूपको आव्हान गरिन्छ ।

चतुर्भुज स्वरूपको व्याख्या
चतुर्भुज स्वरूपको थोरै व्याख्या गर्न चाँहे, यो स्वरूपलाई श्रीहरिको विराट स्वरूपका रूपमा पनि लिन सकिन्छ । यस स्वरूपका श्रीहरि भित्र नै समग्र ब्रह्माण्ड समाहित भएको हुन्छ । महाभारतमा श्रीहरि स्वरूपका कृष्णले अर्जुनलाई यसै स्वरूपको दर्शन दिएका थिए ।

विश्वरूप स्वरूपको गीतामा वर्णन
गीताको ११ को ८, ३८, ४८, ५३ र ५५ मा विश्वरुपमा स्वरूपको व्याख्या गरिएको छ । दिव्य चक्षु अर्थात् दिव्य र ध्यान लीन नजरले यस स्वरूपको दर्शन गर्न सकिन्छ । श्रीकृष्णले देवकी मातालाई बालापनमा नै मुख खोलेर यसै स्वरूपको प्रतिबिम्बका रूपमा मुखभित्र रहेको सकल ब्रह्माण्डको नजर देखाएका थिए । त्यस बखत श्रीकृष्णले देवकी मातालाई आमा, म नै समग्र ब्रह्माण्ड हुँ भनेका थिए भन्ने विश्वास गरिन्छ । यसै विराट स्वरूपको पापमोचनी एकादशीमा विशेष अनुग्रह अनि आराधना गरिन्छ ।

चर्तुभुजमा शङ्ख, चक्र, गधा र कमलको पुष्प रहेको हुन्छ । शङ्खले ज्ञान, चक्रले बन्धन र स्वतन्त्रता, गधाले सामर्थ्य अनि कमलको पुष्पले सृष्टिको कारकलाई उद्घोष गर्छ । पापमोचनी एकादशीमा यिनै चतुर्भुज स्वरूपका श्रीहरिको कृपा र अनुग्रहको अपेक्षा गरिन्छ ।

पुराण लगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार, पापमोचनीको अर्थ पापबाट मोचन नष्ट गर्ने सामर्थ्य राखेको हुन्छ । हिन्दु धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिँदैनन् कि उनीहरूले कुनै न कुनै पाप जानाजान वा अनजानमा गरेका नहुन् । तसर्थ सबैका लागि यस पापमोचनी एकादशी व्रतको महत्त्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ ।

पापमोचिनी एकादशीको महत्त्व
ईश्वरीय विधान अनुसार, पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउन पापमोचिनी एकादशीको ठूलो महत्त्व रहेको हुन्छ । यसबारे महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पापमोचिनी एकादशी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ । कथा प्रसङ्ग अनुसार, राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरूबाट कसरी मुक्त हुन सकिएला भनी प्रश्न राखेका थिए । त्यसको जवाफ दिने क्रममा पापमोचिनी एकादशी व्रतको महत्त्वबारे उल्लेख गर्नुभएको छ ।

पापमोचिनी एकादशीको कथा
कथा अनुसार चैत्र रथ वनमा च्यवन नाम गरेका ऋषि मुनी पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो हुँदै कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यही बेला ती अप्सरा र मेधावी ऋषिमाथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरूलाई मिलन निम्ति सहयोग गर्न थाले ।

कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसँग झन्झन् नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै विमुख भए । आफ्नो तपस्या भङ्ग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए, ‘तिमी पिशाचिनी बन्नू ।’

अप्सरा मेधावीका शरणमा परिन् । गल्तीको प्रायश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय विनय गरिन् । फलस्वरूप मेधावी ऋषि आफैँले मञ्जुघोषालाई सम्झाई–बुझाई गरी चैत्र कृष्ण एकादशीको व्रत अर्थात् पापमोचनी एकादशीको व्रतको विधि सविस्तार बताइदिए ।

काम योग निमग्न भएर तेज लोप भइसकेका ऋषि आफैँ पनि पापमोचिनी एकादशीको व्रत बसे । व्रतको प्रभावले अप्सरा पिशाच योनीबाट मुक्त भइन् । उनी अझ सुन्दर भई स्वर्गतिर लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसङ्ग अनुसार पापमोचिनी एकादशी व्रतको महत्त्व अझ पनि उत्तिकै छ ।
हार्दिक शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.