पशुपतिनाथको छाया दर्शन/विश्व क्यान्सर दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

पशुपतिनाथको छाया दर्शन/विश्व क्यान्सर दिवस




पशुपतिनाथको छाया दर्शन विशेष अडियो सामग्री

हिउँद अब क्रमशः ओरालो लाग्दै छ, सूर्य नारायणको दिशा उत्तरायण तर्फ लागेपछि दिनहरू लामा र न्याना हुन थालेका छन् । उत्तरायणको सुरुवात सँगै पशुपतिनाथ मन्दिर मा एउटा विशेष अवसरको आयोजन हुन्छ, , पशुपतिनाथको छायाको दर्शन गर्ने ।

हरेक वर्ष माघ शुक्ल चतुर्दशी का दिन विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छाया दर्शन गराउने चलन छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा र स्थानीय नेवा समुदायका भक्तजनहरूले पशुपतिनाथको शिव लिङ्गलाई आजका दिन पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन रहेको छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिबिम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाउने गरिन्छ।

सनातन सभ्यताको केन्द्रबिन्दु अनि इतिहास भन्दा पनि पुरानो विश्वभरिका हिन्दुहरूको आराध्य देव पशुपतिनाथ क्षेत्र देव पतन, जय बागेश्वरी, गौरी घाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिगंलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । पवित्र बाग्मती नदिका प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब ४९२ साना ठुला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गे धारा, देवालय, मठ लगायत करिब १ हजार शिव लिङ्ग रहेको पाइन्छ ।

यस दिन पशुपतिमा विशेष रहन्छ, आराध्य देवको प्रतिमाको छाया हेर्न भक्तजनहरूको विशेष घुँईचो रहन्छ । यसरी छाया हेर्ने समय भनेँ दिउँसो देखि साँझको आरती नहुन्ज्यालसम्म हेर्न पाइने प्रबन्ध मिलाइएको हुन्छ । मौका मिलेसम्म यस पवित्र अवसरमा दर्शन गर्न जान नभुल्नुहोला ।

विश्व क्यान्सर दिवस

आज विश्व क्यान्सर दिवस (अबुर्द रोग), संसारभरिका सबै जना एैक्यवद्धरुपमा क्यान्सरसँग लडनका लागि चेतना स्वर भर्ने दिन । वर्ष २०२३ को क्यान्सर दिवस विश्वभरि Uniting our voices and taking action भन्ने नाराका साथ मनाइदैछ । यसको अर्थ चाहिँ क्यान्सर सचेतनाका आवाजहरू वृद्धि गर्दै एकताबद्ध हुनु हो ।

फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ
हरेक वर्ष लाखौँ मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुको लागि एउटा दुर्भाग्य साबित भएको छ, खर्च, पीडा र यससङको लडाइको सङ्घर्षले । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरू क्यान्सरसँग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । आजको दिन फराकिलो क्रियाकलापहरूका माध्यमबाट क्यान्सरका विभिन्न स्वरूप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्व स्तरमै छलफल गरिन्छ ।

अकोंलोजी
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई 'अकोंलोजी' भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुद रोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचार कालागि विकिरणहरू प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई 'केमोथेरापी' भनिन्छ र केमो गर्दा बिरामीहरूको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरूले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पूर्नप्रयोगका लागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्बिर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौँ । बिरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्योपचार भन्ने बित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रूपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रूपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्य कालागि गर्नै पर्‍यो नि ? कि कसो ?

क्यान्सरका कारणहरू
अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुने रहेछ । बाँकी क्यान्सरका कारणहरूमा विकिरणहरू अनि अन्य सङ्क्रमणहरू रहेका छन् । विकासोन्मुख देशहरूमा भने हेपाटाइटिस बि, सि अनि "ह्यूमन प्यापीलोमा" भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रूपमा आउने आनुवंशिक क्यान्सर पर्दछन् ।

सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर अनि घाम वाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ । दीर्घ अनि स्वास्थ्य वर्द्धक जीवनको शुभकामना ।

हाम्रो पात्रो कोलागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.