रमा एकादशी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

रमा एकादशी व्रत




रमा एकादशी व्रत विशेष अडियो सामग्री

रमा को अर्थ
कार्तिक कृष्ण एकादशी वा रम्भा एकादशी या रमा एकादशी कार्तिक महिनाको कृष्णपक्षको एकादशी हो, तिहारभन्दा केवल ४ दिनअघि यस एकादशी पर्छ । लक्ष्मी माताको अर्को नाम रमा पनि हो ।

यस कारण पनि लक्ष्मीनारायण भगवान् विष्णुका लागि यस एकादशीको महत्त्व धेरै रहन गएको छ । यस एकादशी यति महत्त्वपूर्ण छ कि यस दिन व्रत लिनाले १००० अश्वमेध यज्ञ र १०० राजशुया यज्ञहरू बराबरको फल मिल्छ भन्ने विश्वास छ ।

रमा एकादशीको महत्मय
महाभारतमा कृष्णले युधिष्ठिरलाई चन्द्रभागाको भक्तिको उदाहरण दिएर यस एकादशीको महत्मय वर्णन गर्नुभएको पाइन्छ । चन्द्रभागा अनि उनका पिता मुचुकुन्द र पति शोभनासँग जोडिएर यस एकादशीको बयान भएको छ । रमा एकादशीको दिन राजा मुचुकुन्दले राज्यभरि सबैलाई उपवास लिन भनेका हुन्छन् । चन्द्रभागाले राजा शोभनासँग विवाह गरेपछि शोभनाले पनि यस एकादशीको व्रत त सुरु गर्छन् । तर सुस्तरी कमजोर हुँदै गएका राजा शोभनाको एक दिन मृत्यु हुन्छ ।

पतिको मृत्युपछि चिन्ता र वियोगले चन्द्रभागा आफ्नै पिता मुचुकुन्दका घरमा अर्थात् माइतै बस्न थालिन् । तर रमा एकादशी व्रतको प्रभावले राजकुमार शोभनको इन्द्र राज्य सरह धनधान्य र सुखले युक्त मन्दराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो । एक दिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेपछि उनले राजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति–वृत्तान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सबै घटना वृत्तान्त सुनाए । रमा एकादशीको व्रतको प्रभावले आफूलाई यस्तो स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाए ।

त्यसपछि चन्द्रभागाले मन्दराचल पर्वत पुगेर ती ब्राह्मणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पुर्‍याए र वामदेव ऋषिका आश्रममा राखे । वामदेव ऋषिले चन्द्रभागासँग सबै वृत्तान्त सोधे । वेद मन्त्रहरूद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरीर पनि दिव्य प्रज्वलित भयो ।

त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभितका समीप पुगिन् र रमा एकादशी व्रतका प्रभावले यस्तो सबै अभूतपूर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भइन् । त्यसपछि शोभित र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे । त्यही भएर जसले रमा एकादशीको व्रत सम्पन्न गर्छ, उसको यसै गरी सबै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास छ ।

रमा एकादशी विधि
रमा एकादशीको व्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठी नित्य शुद्ध बनी निराहार व्रत बसी दान आदि कर्महरू पूरा गर्नुपर्छ । रमा एकादशी व्रतका अवसरमा भगवान् विष्णुलाई धूप, दीप, नैवेद्य, फूल एवं मौसम अनुसारका फलफूल चढाएर पूजा गरिन्छ । अरू एकादशी व्रतमा झैँ रमा एकादशीमा विष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा भने रमा एकादशी व्रतका समयमा एक समय मात्रै भोजन गर्ने चलन छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.