सन् २०२३ को ७ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको २० औँ संस्करण मनाइँदै छ । यस वर्षको थिम चाहिँ Want to talk about it? Making space for conversations about life online’रहेको छ । यसको अर्थ चाँही जीवनका बारेमा कुरा गर्न र भावनाहरु अभिव्यक्त गर्न इन्टरनेटमा ठाँउ बनाँउ भन्ने हो । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । विशेष गरि बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ । सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएको छ ।
चाइल्डसेफनेट, बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेट प्रवर्द्धनमा समर्पित एक विशिष्टीकृत संस्था हो । चाइल्डसेफनेट का बारेमा थप बुझनका लागि www.childsafenet.org मा गएर हेर्न सकिनेछ ।
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवाका लागि इन्टरनेटलाई सुरक्षित बनाउन हामी सबै उत्तरदायी छौँ । त्यसैले आउनुहोस् हामी सबै मिलेर इन्टरनेटलाई सुरक्षित बनाऔँ र बालबालिका तथा युवालाई अनलाइनमा पनि सुरक्षित राखौँ ।
सुरक्षित इन्टरनेट दिवस का उद्देश्यहरू
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबिच सामूहिक शक्ति विकास गर्ने;
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य उदीयमान अनलाइन मुद्दाहरू र वर्तमान सरोकारहरूका बारेमा सचेतना जगाउने हो।
इन्टरनेट प्रयोगकर्ता सबैलाई सुरक्षित इन्टरनेट प्रयोग गर्ने चेतका साथै अरूलाई पनि सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: