सङ्क्रान्ति र मसान्त
महिनाको प्रथम दिनलाई सङ्क्रान्ति भनिन्छ भने महिनाको अन्त्य हुने दिनलाई मसान्त भनिन्छ । आज तुला सङ्क्रान्ति अर्थात् सूर्य कन्या राशिबाट तुला राशिमा प्रवेश गर्दै छ । एक वर्षमा १२ वटा सङ्क्रान्तिहरू हुन्छन् र सङ्क्रान्तिको दिनमा सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्दछ । आजको सङ्क्रान्ति यस हिसाबले पनि महत्त्वपूर्ण छ किनकि यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस सङ्क्रान्ति लाई मत्स्यपूराणमा अत्यन्त महत्त्वपूर्ण सङ्क्रान्ति का रुपमा व्याख्या गरिएको पाइन्छ, एक दिन अगाडिबाटै एक छाक मात्र खाएर तुला सङ्क्रान्तिको व्रत बस्ने चलन पनि छ ।
तुला सङ्क्रान्ति मा के गरिन्छ ?
यस दिन बसिने व्रतले चिताएको शुभ फल दिने जनविश्वास रहेको छ । वैदिक सनातन हिन्दु क्यालेन्डर अनुसार आजदेखि सातौँ महिना अर्थात् कार्तिक सुरु भयो । यस विशेष प्रभावले खेतमा काट्न तयार अवस्थामा रहेका अन्न बालीहरू राम्रो तौल भएर भित्रिउन र राम्रो हिसाबले कुनै पनि प्राकृतिक विपत्तिविनाकै अन्नको भण्डारण गर्न सकियोस् भनेर पूजा अर्चना गरिन्छ ।
बिस्तारै बिस्तारै आकाशबाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदै छ होला र दिन छोट्टिदैं गएर साँझहरू शीघ्र आउन थालेका छन् । घर खेतमा धानका बालाहरू लहलहाउन थालिसके । मङ्गसीर महिना नजिक आउँदै छ जुन महिना धान काटेर दाउनी गरेर अन्न भित्राउन भ्याइन भ्याइ हुन्छ ।
यस पटकको बालीनाली सप्रिएका होउन्, भकारी भरेर अन्न भित्राउँदै किसानहरूमा हर्ष छाओस् । आषाढ श्रावणमा रोपाई गरेका धानका बिउँहरूले अब पसिनाको मूल्य दिने समय नजिक आउँदै गर्दा सबै जनामा आशा र मुस्कानको ऊर्जा सञ्चार होस्, शुभकामना !
हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: