कस्तो छ "ए मेरो हजुर २" ? चलचित्र समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो छ "ए मेरो हजुर २" ? चलचित्र समीक्षा




   मन्दिप गाैतम - Sep 01 2017

सफल चलचित्र "ए मेरो हजुर"का नायक श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मी अहिले हामीमाझ रहेनन् । नेपाली चलचित्र क्षेत्रले यी दुईको कमिलाई सदैव याद राख्नेछ । त्यही चलचित्र "ए मेरो हजुर"मा स्व. नायक र निर्देशकसँग सहकार्य गरेकी नायिका झरना थापाले निकै लामो समयपछि उक्त चलचित्रको सिक्वल "ए मेरो हजुर २" पहिलो पटक निर्देशन गरेर दर्शक माझ प्रस्तुत गर्ने जमर्को गरेकी छिन् । पूर्णतया रोमान्टिक चलचित्र "ए मेरो हजुर २" ले दर्शकको मनमा पूरानो चलचित्रले बनाएको स्थान यथावत राख्न सक्छ त ? आउनुहोस् जानौं चलचित्र ए मेरो हजुर २ को समीक्षामा ।

प्लट
प्रेम अर्थात सलिनमान बानियालाई आफ्नो बाल्यकालमै स्कूलको साथी माया (साम्राज्ञी राज्यलक्ष्मी शाह) सँग प्रेम भएको हुन्छ । तर बुबाको सरुवा भएपछि त्यो ठाउँ छाडेर गएका सलिनको कलिलो प्रेम त्यसबेला अधुरै रहन्छ तर सलिनले मायालाई वचन दिएका छन् कि उनी मायालाई भेट्न अवश्य आउनेछन् । ठूलोभएपछि सलिन आफ्नो दुई साथी सलोन बस्नेत र अम्बरसँग पोखरा जान्छन् र त्यहाँ गएर मायालाई भेट्छन् । तर समयसँगै सबैथोक परिवर्तन हुन्छ भने झै मायामा पनि परिवर्तन आइसकेको छ । उनलाई अब सलिनसँग  प्रेम छैन र शिघ्र उनको विवाह अरु नै कसैसँग हुन गइरहेको छ । यस्तोमा अब सलिनले साम्रागीको माया कसरी पाउँछन् । के यी दुवै फेरि प्रेममा बाँधिन्छन् त ? यो सब थाहा पाउन चैं यहाँले चलचित्र "ए मेरो हजुर २" हेर्नुपर्ने हुन्छ ।

कथा, पटकथा र संवाद
हरिहर अधिकारीले लेखेको चलचित्रको कथा पुरानो रोमान्टिक फिल्म फर्मुलामा छ । उनलाई पटकथामा भने सामीप्यराज तिमल्सिनाले साथ दिएका छन् र यी दुईले लेखेको चलचित्रको पटकथा ठिकठाक छ । पटकथा निकै सीमित पात्रहरुमा लेखिएको छ जसकारण चलचित्र कहीकतै बोरिङ लाग्दछ । त्यस्तोमा चलचित्रलाई उत्कृष्ट संवादले सम्हालेको छ । दोहोरो अर्थ लाग्ने संवादहरुले दर्शकलाई खुब हसाउँछ र चलचित्रबाट ध्यान भट्काउन भने दिंदैन । बाँकी चलचित्रको दोश्रो हाफमा सलोनको लभस्टोरीको अगाडि सलिनको लभस्टोरीमा दर्शकको रुचि कम जानेछ तर लजिक नभएपनि उत्कृष्ट तरीकाले लेखिएको क्लाइमेक्सले दर्शक हलबाट बाहिर निस्किँदा उनीलाई खुशी भने अवश्य पार्नेछ ।


कलाकार
नवनायक सलिनमान बानियाँले आफ्नो पहिलो चलचित्रमा राम्रो काम गरेका छन् । उनी क्युट लाग्दछन् तर पहिलो हाफमा थुप्रै दृश्यहरुमा पटकथा र संवादले सलोनलाई धेरै ठाउँ दिँदा सलिन ओझेलमा परेको महशुस हुन्छ । साम्रागी राज्यलक्ष्मी शाहको पात्र भने खाशै राम्ररी लेखिएको छैन । उनी बोल्ड लाग्दछिन् तर उनको पात्रमा त्यो बोल्डनेस छैन । सलोन बस्नेतले चलचित्रलाई धेरै हदसम्म आफ्नो काँधमा लिएर हिँडेका छन् । उनको कमिट टाइमिङ प्रभावशाली छ । सुमन पौडेलले पनि राम्रो काम गरेका छन् ।

प्राविधिक पक्ष र संगीत
सञ्जय लामाको छायांकन उत्कृष्ट छ । विशेषगरि तिलिचोको यात्रा पर्दामा हेर्दा मजा आउँछ । बनिश शाह र मिलन श्रेष्ठका सम्पादन अलि कसिलो हुन सक्थ्यो । चलचित्र २ घण्टा ३० मिनेटको छ जुन चलचित्रको पक्षमा जाँदैन । शैलेस श्रेष्ठको ब्याकग्राउण्ड स्कोर ठिकठाक छ । वसन्त सापकोटा र कल्याण सिंहको संगीत चलचित्रको उत्कृष्ट पक्ष हो । तीनवटै गीतहरु सुमधुर छन् । रेनाशा बान्तवा राई र कविराज गहतरातको नृत्य निर्देशन राम्रो छ ।

निर्देशन
नव निर्देशक झरना थापाले आफ्नो पहिलो चलचित्रलाई धेरै हदसम्म न्याय गरेकी छिन् । उनले बेला बेलामा आफ्नो चलचित्रमा पुरानो ए मेरो हजुरलाई सम्झिएको र स्व. श्रीकृष्ण श्रृेष्ठलाई श्रद्धाञ्जलि दिएको दृश्यहरु निकै मिठा लाग्दछन् तर उनको चलचित्रमा थुप्रै कुराहरु चित्त नबुझ्दा पनि छन् । साम्रागीमा पोखरामा भेट्न धेरै समय नलागेको यो चलचित्र २ घण्टा ३० मिनेटको हुनु चलचित्रको मुख्य समस्या हो । यद्यपि उनको पहिलो प्रयास राम्रो छ ।

समीकरण
समग्रमा चलचित्र ए मेरो हजुर २ ले दर्शकलाई चलचित्र हेरुञ्जेल बाँधी राख्नेछ । उत्कृष्ट गीत, उत्कृष्ट क्याइमेक्स, र सलोन बस्नेतको प्रेमकथाले चलचित्रलाई एक पटक हेरिनु पर्ने चलचित्र अवश्य बनाउँछ ।

रेटिङ : 3/5



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.