२०७४ मा नेपाली चलचित्र | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

२०७४ मा नेपाली चलचित्र




   मन्दिप गाैतम - Apr 12 2018

२०७३ नेपाली चलचित्र उध्योगको लागि एउटा परिवर्तनकारी बर्ष रहेको थियो । बिदेशी चलचित्र हेर्ने दर्शकको बाहुल्यता बढी रहेको नेपालि समाजलार्इ नेपालि चलचित्रहरुतर्फ ध्यान आकर्षित गराउन त्यस बर्षका चलचित्र र चलचित्रकर्मीहरु सफल भएका थिए । त्यस अर्थमा पनि २०७४ यस उध्योगको लागि एउटा महत्वपूर्ण बर्ष थियो । ७३ सालमा सुरु भएको परिवर्तनको युगलार्इ कायम राख्न यस बर्ष रिलिज भएका चलचित्रहरु कति सफल भए त ?

बि. सं २०७४ को नया बर्षको दिन अर्थात बैसाख एक गतेनै ३ ठुला चलचित्रहरु प्रदर्शनमा आएका थिए भने बर्षको अन्तिम दिन अर्थात चैत्र ३० गते अर्को ठुलो चलचित्र “लिलिबिली” प्रदर्शन हुदैछ । बैसाख १ मा नेपाल जस्तो सानो बजारमा तीन चलचित्र (घामपानी, राधे र love love love) जुध्नु उचित भने अवश्य थिएन, तर थोरै पर्दाहरुको संख्यामा लागेका तीनै चलचित्रले सन्तोषजनक ब्यापार गरेर २०७४ लार्इ एउटा उत्कृष्ट सुरुवात दिन सफल भएका थिए । सुरुवात जस्तै एउटा धमाकेदार अन्त्यको अपेक्षा पनि चलचित्र “लिलिबिली” बाट राख्न सकिन्छ ।

व्यापारको आधारमा चलचित्रहरुलाई हेर्दा यस बर्ष पनि दीपक-दीपाको “छक्का पन्जा २” ले उत्कृष्ट कमाइ गर्दै आफुलाई अग्रस्थानमा राख्न सफल रह्यो , चलचित्र "शत्रुगते"अझ प्रदर्शनरत छ र अझ आक्रामक कमाइ गरिरहेको छ । त्यसबाहेक यो बर्ष नेपालि चलचित्रमा पनि करोडौ लगानी गर्न थुप्रै निर्माताहरुले अप्ठ्यारो मानेनन् ..यहि चैत्र रिलिज भएको “शत्रु गते” होस् या "छक्का पन्जा २" ,"प्रेम गीत २" ,"ए मेरो हजुर २"," कृ", "संरक्षण", "ऐस्वर्य" जस्ता चलचित्रहरुमा निर्माताहरुले चलचित्रलार्इ स्तरीय बनाउन निक्कै खर्च गरे र यी चलचित्रहरु मध्य थुप्रै चलचित्रहरुलाइ दर्शकहरुले अपार माया देखाएर धेरै हदसम्म निर्माताहरुलाई पनि खुशी बनाए ।

“तान्द्रो” देखि “गाजबाजा”सम्म, ”जालो” देखि “संरक्षण”सम्म र "ए मेरो हजुर २"देखि "रुद्रप्रिया"सम्म , नेपालि दर्शकहरुले यस बर्ष फरक बिषय बस्तु र बिभिदता बोकेको चलचित्रहरुको स्वाद चाख्न पाइरहे ।

बर्षको अन्तसम्म आइपुग्दा आउनुहोस् कुरा गरौ ति चलचित्रहरुको जसमा दर्शक आकर्षित हुन सफल रहे , या भनौं यी चलचित्रहरु यदि यहाँहरुले हेर्न छुटाउनु भएको छ भने अब हेर्न पाउने मौकामा न छुटाउनु होला ।

छक्का पन्जा २


पछिल्लो बर्ष जस्तै यस बर्ष पनि प्रदर्शन भएका चलचित्रहरुमध्य सर्वाधिक ब्यापार गर्न सफल चलचित्र “छक्का पन्जा २”ले दर्शकको मन जीत्न सफल भयो । हुन त २०७३ मा प्रदर्शन भएको चलचित्र “छक्का पन्जा” को सिक्वल भएका कारण पनि दर्शकहरुले यो चलचित्रलार्इ पहिलोसंग तुलना गर्न खोजे र त्यसो गर्दा धेरैलार्इ चलचित्र अघिल्लो जत्तिको राम्रो लागेन , तर ठ्याक्क त्यसको बिपरित पहिलो "छक्का पन्जा"भन्दा पनि दोश्रो राम्रो भन्ने दर्शकहरु पनि भेटीए । बडादशैंको पावन उपलक्ष्यमा रिलिज भएको यो मल्टी स्टारर चलचित्रले उत्कृष्ट ब्यापार गर्न सफल रह्यो ।

शत्रुगते

यहि चैत्रमा मात्र प्रदर्शन भएको "मह जोडी"को ठुलो पर्दामा कम्ब्याक मल्टी स्टारर फिल्म शत्रुगतेले प्रदर्शनमा आएको अहिले एक महिना पुग्ने लाग्दा पनि हालहरुमा दर्शकहरुको बाक्लै उपस्थिति पाउन सफल भैरहेको छ । पारिवारिक ड्रामा र त्यसमा मह स्तरको ह्युमरले “शत्रुगते”लार्इ बर्ष २०७४ कै उत्कृष्ट कमर्सियल चलचित्र बनाउन सफल भएको हो । जात्रा फेम प्रदीप भट्टराईले निर्देशन गरेको दोश्रो चलचित्रले तीन पुस्ताको कलाकारलार्इ समेटेको छ । दीपक-दीपा, प्रियंका लगायत मदन कृष्ण, हरिबंश र अहिले युवा पुस्ता माझ निक्कै नै चर्चित दुइ कलाकार पल र आचलको अभिनय रहेको यस चलचित्रलार्इ भने यो बर्षको छुटाउनै नहुने चलचित्रको सुचीमा राख्न सकिनेछ । चलचित्र अझ पनि थुप्रै हलहरुमा प्रदर्शन भैरहेकै छ । दीपक राज गिरिको उत्कृष्ट पात्र र अभिनय र बरिष्ठ हरिबंश आचार्यको सदाझै उत्कृष्ट उपस्थिति भएकाले यो चलचित्र हेर्नैपर्ने भएको हो ।

"ए मेरो हजुर २" र "प्रेमगीत २"  

रोमान्समा अव्वल र व्यपारमा सफल भएका २ सिक्वल चलचित्रहरु “प्रेमगीत २” र “ए मेरो हजुर २” पनि यो बर्ष छुटाउन नहुने चलचित्रहरुको सुचिमा पर्दछन् ।
झरना थापाले नव कलाकार सलिन मान बानिया र सम्राज्ञी शाहको फ्रेश पेयरलार्इ लिएर बर्षौ अघिको सफल चलचित्र “ए मेरो हजुर” को सिक्वल आफैले पहिलो पटक निर्देशन गरिन् । उत्कृष्ट सङ्गीत र लोकेसनमा खिचिएको यो रोमान्टिक चलचित्र स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीको लागि एउटा उत्कृष्ट सम्झना हुन पुग्यो । दर्शकहरुको मन जीत्न सफल यस चलचित्रबाट नेपाली चलचित्र क्षेत्रले एउटा अर्को युवा कलाकार सलिन मान बानियालार्इ जन्म दियो ।

त्यस्तै केहि बर्ष अघि प्रदर्शनमा आएको सफल चलचित्र “प्रेमगीत”को निर्माता र निर्देशक बीच मन मुटाव उत्पन्न भएपछी उक्त चलचित्रको टिम बाडीएर दुइ फरक चलचित्र निर्माण भयो , निर्माता सन्तोष सेनले युवा पुस्ताले अत्याधिक रुचाएको कलाकार प्रदीप खड्कालार्इ लिएर चलचित्र “प्रेमगीत २” निर्माण गरे । चलचित्रलार्इ पहिलो चलचित्रको लेखक राम शरण पाठकले निर्देशन गरे र उनको उत्कृष्ट कथाबस्तु र निर्देशनले चलचित्र प्रेम गीत २ लार्इ एउटा स्तरीय चलचित्र बनाइदियो ।

यी दुवै चलचित्रको एउटा समान पक्ष के थियो भने नेपालको रमणीय स्थललार्इ ठुलो पर्दामा राम्ररि देखाएर यी चलचित्रहरुले दर्शकलार्इ आफै त्यहाँ घुम्न गएको आभाष दिलाउन सफल भए ।

जालो

मोहित मुनालले निर्माण र अराज केशवले निर्देशन गरेको वान शट चलचित्र “जालो” यो बर्षको अर्को उल्लेखनीय चलचित्र हो । यो चलचित्र व्यापारिक हिसाबले त्यति ब्यापक हुन नसकेपनि चलचित्र हेरेका दर्शकले चलचित्रकर्मीहरुको यो प्रयासलार्इ खुलेर तारिफ गरेका थिए । चलचित्र वान शटमा खिचिएको भएर मात्र हैन, चलचित्रको कथाबस्तु वास्तवमै दर्शकहरुलाई बाधेर राख्ने किसिमको भएर यो चलचित्र बर्षको एउटा अव्वल चलचित्र बन्न पुगेको हो । २०७५ मा यहि चलचित्रको सिक्वल “जालो रिटर्नस" प्रदर्शन हुदैछ ।

तान्द्रो 


सामतेन भुटियाको तान्द्रोले थुप्रै अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा आफ्नो छाप छोड्न सफल भएपछी यस बर्ष भने स्वदेशी दर्शकहरुको लागि नेपालमा प्रदर्शन भएको हो । द्वन्दकालको सत्य घटनामा आधारित यो चलचित्रलेपनि भनेजस्तो व्यापारिक सफलता नपाएपनि चलचित्रको स्तर अव्वल थियो । कलात्मक चलचित्र रुचाउने दर्शकहरुकोलागि यो एउटा हेर्नैपर्ने चलचित्र बनेको छ । यदि यँहाहरुले दयाहांग राइ अभिनित यो चलचित्र हेर्नु भएको छैन भने उनको उत्कृष्ट प्रस्तुतिको लागि पनि यो चलचित्र अवश्य हेर्न पर्ने चलचित्र हो ।

यी मात्र हैन यो बर्ष प्रदर्शनमा आएका अरु थुप्रै चलचित्रजस्तै “२ रुपैया”, “ऐश्वर्य”, “घामपानी”, “राज्जा रानी”, “झ्यानाकुटि”, र “लालपुर्जा” जस्ता चलचित्रहरुले पनि दर्शकहरुलाई पृथक र मीठो स्वाद चखाउन भने अवश्य सफल भएका छन् । यो बर्ष चलचित्रहरुमा भेटिएको बिभिदता अर्को बर्ष पनि कायम रहोस ।भर्खर मात्र स्वदेशी चलचित्रहरुमा बानि परेका दर्शकहरुको त्यो जमातले केहि फरक हेर्ने धुनमा अर्को बर्षपनि बिदेशी चलचित्र पर्खेर बस्न नपरोस् । नेपालि चलचित्रले निरन्तर मारिरहेको फड्कोले थुप्रै युवाहरुलाई चलचित्रकर्मी बन्न प्रोत्साहन गर्दैछ र जति नँया सोचहरु यो उध्योगमा भित्रिनेछन् त्यति नै निखारता र विशालता यो उध्योगले पाउदै जानेमा हामि ढुक्क छौ ।

२०७५ नेपालि चलचित्र र चलचित्रकर्मीहरुको लागि सर्वश्रेष्ठ बर्ष सावित होस् । हाम्रो पात्रोको शुभ कामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.