खिइदैछन् घर, गोठ, बारी, हलो र जुवाहरु
रूदैछन् पाखा, पखेरा अनि, आमा र बुबाहरु
एक्लै छ चौतारी वरको, घुम्दैनन् चर्खे पिङ
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन !
रित्तिदैछन् गाम बेसी यहाँ, दुई छाकका रापले
छानो मानो अर्थ अनि, सुखका ती सन्तापले
झुल्काई सुदूरमा किरण ती, आशाका बिज छर्न
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन !
छन् रोगी अनि अशक्तहरु यहाँ , देशै चलाउने हरु
खै कहाँ छौ ? श्रम अनि सिपले, ढुङ्गागलाउने हरु
देखि यस्तो अवस्था देशको, सम्झिदा रुन्छ मन
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन !
लेला कहाँ गति बिकासले,समृद्धि कहाँ छाउला ?
तिमी बिना शुभ समयको, गीत यहाँ को गाउला ?
राखी तिम्रै भरोसा देशको, चल्दैछ हेर धड्कन
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन !!
Liked by: