संझिन्छु आज आफ्नो अतित
रम्ने सदा साथी संगी सित
थाहै नपाई दिन बित्ने गर्थ्यो
तनाव रहित रमाइलो पल त्यो !
माटोमा खेल्ने जीउभरी टाटो
लडिन्थ्यो कति जताततै खाटो
बुझ्नु नसुझ्नु त्यसै कुदिन्थ्यो
तनाव रहित रमाइलो पल त्यो !
जाता र ढिकी दलिनको पिङ
कागजको भकुण्डो झुत्राको रिङ्ग
साथीसंग खेल्न मन औधि गर्थ्यो
तनाव रहित रमाइलो पल त्यो !
काठको चक्का टायर गुडाउने
पसिना चुइन्जेल चंगा उडाउने
थिएन चिन्ता न त कुनै डर थ्यो
तनाव रहित रमाइलो पल त्यो !
सबै मिली खेल्थ्यौं लुकामारी
लुक्नै चहार्थ्यौं घर आगन बारी
त्यसमा पनि औझि आनन्द झर्थ्यो
तनाव रहित रमाइलो पल त्यो !
सात ढुंगा खप्टी बल हानी ढाल्ने
डण्डीबियो खेल्दा बियो पर फाल्ने
थिएन खेल अरू अहिलेको जस्तो
तनाव रहित रमाइलो पल त्यो !
पढाइमा पटक्कै थिएन रूची
बरू खेल्ने गर्थ्यौं गुच्चा र खोपी
गुलेली प्याट्ट उता भंगेरा झर्थ्यो
तनाव रहित रमाइलो पल त्यो !
मिठो खाना अनि आमाको माया
लगाउने फगत एकसरो जामा
जाडो वा गर्मी त्यसकोनै भर्थ्यो
त्यै पनि मन कस्तो बुर्कुसी मार्थ्यो !
संझनामा मात्र जीवनको त्यो पल
पुनः नआउने हेर कालको छल
फर्काउ भगवान त्यसमै छ सार
तनाव रहित मेरो अतितमा झार !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: