म मरे पछी
मेरो लाश लाई राष्ट्रिय झन्डा
वा राजनैतिक दलको झण्डा नओढाउनु !
म नेपाल आमाको सन्तान हो ।
मेरो लाश ढाक्न कात्रो भए पुग्छ ।
मेरो लाशसंगै मेरो देशको गौरव
मेरो देशलाई संसार सामु परिचय गराउने
राष्ट्रिय ध्वजा नजलाउनु !
म मरेपछी
मेरो लाश लाई
राष्ट्रिय झन्डा नओढाउनु !
हज़ारौ शहिद ,सपुतको रगत पोतिएका
ती झण्डाहरू
जसले साशकहरूको विरूद्दमा
पटक पटकसंघर्ष गरेर कहिले थाकेनन्
जहिले राजनैतिक परिवर्तनको संवाहक बने
चाहे जुन सुकै दलको मानक होस !
मेरो सलाम छ ति ध्वजाहरूलाई !
त्यसैले ,
मेरो लाशलाई
राजनैतिक दलको झण्डा नओढाउनु !
नेपाल आमा रहेसम्म राष्ट्रिय ध्वजा रहिरहने छ ।
नेतृत्व आउने जाने क्रम रहिरहन्छ ।
परिवर्तनका मानक दलका झन्डाहरू
नागरिकको स्वतन्त्रता रहे सम्म रहिरहने छन ।
नेपाल आमाको आँगनमा फहराई रहने छन ।
त्यसैले ,
मेरो अनुरोध
म मरेपछी
मेरो लाश लाई राष्ट्रिय झन्डा
वा कुनै राजनैतिक दलको झण्डा नओढाउनु !
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: