हरेक वर्षझैँ फेरी पनी
क्यालेण्डरका पाताहरु पल्टाउँदै
पर्व र उत्सवमा रम्दै रमाउँदै
सक्रान्ति र मसान्तको अंकगणित संगै
विदामा घर फर्किएको परदेशीझैं
टुप्लुक्क आँगनमा उदाउँदैछ नव वर्ष !
हजारौं योजनाका पोका बोकेर
आशा र उर्जाको आलोक छर्दै
खुसीको सांगीतिक कलरब बनेर
विभिषिकाको विजयोल्लास भैं
उमंगको बहार ल्याउन
हरेक बस्ती दलानमा उदाउदैछ नव वर्ष !
विगतको मीठो स्मृतिसंगै
आगतको स्वर्णिम कल्पनामा डुबाउन
कर्मको गोरेटोमा आशाका फूल फूलाउन
सपनाका वृक्षमा भाग्यका बाला झुलाउन,
माइतीको आँगन टेक्दा रमाएको चेलीको मन झै
ओठमा हर्ष बनेर उदाउँदैछ नव वर्ष !
रक्तसञ्चारमा नौलो आभा छर्दै
तरुलतिकामा नवीन पालुवा भर्न
रङ्ग र सुगन्ध फूलका बोटमा मुस्कुराउँदै
सबैका लागी उन्नयनको कामना बनेर
आत्मालोचना सगै प्रतिबद्धताको बोध गराउन
बार्षिक मुखपत्र बनेर उदाउँदैछ नव वर्ष !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: