छरपस्ट सपनाको बिस्कुन फिंजाएर
आफ्ना वक्षभरि
गन्तव्यको खोजिमा
लगातार हतार, हतार
हिंडाउन उद्दत बनेका छन् यी सडकहरू !
बालकको बालापनलाई माझ्दै
युवाको उर्जालाई तिखार्दै
वृद्धको रामभरोसा बनेर साखिंदै
हरेक प्रहर सबैको सहारा बनेर
सबैका लागि सेतो छडी बनेका छन् सडकहरू !
आन्दोलनको लप्काले तातेका छन्
पर्व र उत्सवको उन्मादमा मातेका छन्
मस्त तारुण्य जवानी जस्तै
हरेक अफरहरुमा एक्स्पोज हुँदै
गतिशील उर्जा बन्न प्रतिबद्ध छन् यी सडकहरू !
मौन स्वीकृति संगै पहरामा बसेका
यावत बिम्बहरुलाई रोहवरमा राखेर
आफ्ना माग पूर्तिको विकल्प
निति र थितिको चित्र कोर्ने
राजनैतिक दलको क्यानभास बनेका छन् यी सडकहरू !
हरेक कालखण्ड भोग्दै
घटना र परिदृश्यको प्रत्यक्षदर्शी बनेर
समय र सन्दर्भ संग खारींदै
अनवरत,अटुट योगी जस्तै
निष्काम कर्मयोग को अध्याय बनेका छन् यी सडकहरू !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: