कुल्चनेहरुले कुल्चिएको माटो देख्दैन
अन्याय गर्नेहरुको जड मुठ्ठी देख्दैन
भोकै मर्नेको भोक
अन्न,, गोदाममा थुपार्नेको थोक
सडकको चिसोमा मर्नेको शोक
अहँ कत्ती पनि केही देख्दैन
तिम्रो यो अन्धो शहरसंग मुटु नै छैन
यसले कत्ती पनि चासो दिँदैन
अक्सिजनको मास्क भित्र पहुँचदार देख्दैन
सर्बसाधारणको फोक्सोले गुहारेको आर्तनाद देख्दैन
आइसियुमा को छ
भेन्टिलेटरमा को छ
चिसो भुइँमा को छ
अस्पतालको गेटमा को छ
कसको हातमा सिटामोल छैन
कसको साथमा भोलि मास्क फेर्ने १० रुपैयाँ छैन
यो कहालिलाग्दो प्रहरभित्र
बजार भित्रको कालोबजार देख्दैन
लोकतन्त्र भित्रको लुट्तन्त्र देख्दैन
बालुवाटार र बानेश्वरको तमासा देख्दैन
अहँ कत्ती पनि केही देख्दैन
तिम्रो यो अन्धो शहरसंग मुटु नै छैन
यसले कत्ती पनि चासो दिँदैन
बिपत्तिमा हाइवेमा खाली खुट्टा हिँड्नेको लस्कर देख्दैन
माइतिघरको तमासामा गाडिका गाडी कार्यकर्ता देख्दैन
न राजनीति चिन्छ
न लाजनिती चिन्छ
कसैको राक्षसी हाँसो देख्दैन
कसैको दुखको चीत्कार चिन्दैन
न अपराधीलाई सजाय दिने क्षमता राख्छ
न पिडितलाइ न्याय दिने क्षमता राख्छ
कस्तो ठ्याक्कै सरकार जस्तो
कस्तो ठ्याक्कै न्यायपालिका जस्तो
अहँ कत्ती पनि केही देख्दैन
तिम्रो यो अन्धो शहरसंग मुटु नै छैन
यसले कत्ती पनि चासो दिँदैन
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: