मैले लगाएका वस्त्रहरूमा
मेरा अस्तित्व खोज्नेहरू
मेरो शरीरका बनावट एकटकले हेर्दे
मेरो उमेर मोलतोल गर्नेहरु
मेरा लवजहरुले मेरो चरीत्र चित्रण गर्नेहरु
खोज्दै छन् रे आमा मेरो विकासको बाटोहरू
तिनै अक्सर जस्ले मेरो बिनास मात्र रोज्नेहरू
तिनै अक्सर जस्ले मेरो बिनास मात्र रोज्नेहरू
मेरो बोलीबोलीमा दायारा लांधनेहरू
खाट देखि भान्सा अनि पधेरैंमा मलाई बांध्नेहरू
कसिङ्गरकै एक चिम्टी धुलो मलाई ठान्नेहरु
बोली दिदैं छन् रे आमा मेरोलागि
खोक्रो शशक्तिकरणको भाषण गर्न जान्नेहरू
खोक्रो शशक्तिकरणको भाषण गर्न जान्नेहरू
खेलौना र चक्लेटको लालचमा मलाई पार्नेहरू
इसकर्ट त भैगो आमा मेरो कुर्था र सारीको फेर तान्नेहरु
जागिर, बजार अनि सडक त अपवाद छ आमा
घरैभित्र मेरो जिउ छाम्नेहरू
सुन्दै छु मेरो लागि बोलिदिदैं छन् रे आमा
तिनै जस्ले मेरो मुख थुन्नेहरु
तिनै जस्ले मेरो मुख थुन्नेहरु
मेरो गुण, नक्षत्र, चालढाल र छालाको रंग जाच्नेहरू
छोरो सपार्दिने लाटी सोझी बुहारीकै सपना साच्नेहरू
मेरो उत्थान र सुरक्षाको लागि बोलिदिन्छन् रे आमा
तिनै जसले मलाई गर्भमा मार्न खोज्नेहरू
तिनै जसले मलाई गर्भमा मार्न खोज्नेहरू
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: