बुद्ध,
म बिह्वल भएको छु
म आहत बनेको छु
आजीत छु सबै देखेर
यस मानेमा कि,
तिम्रा उपदेशले कुँदिएका शिलाहरू
ताम्रपत्र र भोजपत्रहरू
आज बमको बारूदले
फुटाईदैछन ।
तिमीले जोड़ेका सौहार्दका तुनाहरू
आज वैमनस्यताले टूटाईदैछन
तिमीले उनेका स्नेहका मालाहरू
आज शत्रुतापुर्बक चुँडाइदैछन
तिमीले स्थापना गरेको
त्यो शान्ति,
गोलीभै निस्केर
तिम्रा नेत्रहरूबाट
आगोमा परिणत हुँदैछ
बस, यहाँ बिश्वशान्तिका
धूमिल लेखहरू
मात्र क़ैदी सरह,
संग्रहित छन,
देशको जेठो संग्रहालयमा ।
बुद्ध,
त्यसैले,म क़ायल भएको छु
म अर्धचेतन बनेको छु
मर्माहित छु सबै देखेर
यो दुनियाँलाई,
आफुमा अटाउन नसक्दा
अरु भन्दा म बेग्लै भएको छु
मैले बुझेर पनि,
अरुलाई बुझाउन नसक्दा
म एक्लै भएको छु
यस मानेमा कि,
जहाँ,
म रूप हेर्न खोज्दछु
त्यहाँ,
कुरूपे कठोर चट्टान भेट्टाउछु
मर्म अघि लाएर कर्म गर्न खोज्दछु
त्यहाँ मर्ममाथी कुठाराघात भईदिन्छ
त्यो शान्ति पहिल्याउन खोज्दछु
तर, अशान्तिको
कालो बादल मात्र पाउँछु
म शब्दहरूद्वारा
प्रेमको खोली बगाउन चाहान्छु
तर ठीक बिपरित त्यहाँ,
मृत्युको भीषण प्यास मेट्न
गोली बर्साइन्छ
अनि त,
मान्छे, मान्छे रहदैन
रगत पानीको मोल बग्छ
तब, सृष्टि खुम्चिन्छ
व्यथा बल्झिन थाल्छ ।
त्रिपिटक, रामायण,
बाइबल र क़ुरानहरूमा डढेलो लाग्छ
बुद्ध,
सद्धे भएर पनि म
घायलसरी भएको छु
यो संसारको नज़रमा म
पागलसरी भएको छु
यस मानेमा कि,
म तिमीलाई आत्मसाथ गर्दछु
तिम्रा दिव्य ज्ञानहरूको ज्योति बालेर
अंध्यारो पार गर्दछु
सँसार कहाँ पुग्यो ,
त्यो मलाई ज्ञात छैन
तर म त सधैं ,
तिम्रैं पछाडी दगुरिरहेको थिए
तर यहाँ त,
तिमिले उड़ाएका
एक जोड़ी परेवाहरू
अहिले गिद्द र बाँज बनिसकेछन
तिम्रा ध्यानमग्न अर्धमुदित नेत्रहरूमा
छारो हालिएको छ
तिम्रा तस्वीरहरूको
रूप बदलिएको छ
तिम्रा उपदेशहरूको
अर्थ फ़ेरिएको छ
सँसार सन्त्रासमा बाँच्न बाध्य छ
विश्व, विश्व निल्न उद्धत छ
तिम्रो शान्त प्रतिरूप
अशान्त र प्रताड़ित बनेको छ
तिम्रा योगाकार हातहरूमा
अब बम र बारूद,
थमाईदिएको छ
तिम्रो जस्तो शालीन आभा
अब एकादेशको
कथा बनिसक्यो
अहिलेका सबै अनुहारहरू,
विक्षुब्ध, बिद्रोहि र विषालु देखिन्छन ।
----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: