तँ जस्तै म पनि
दिग्भ्रमित थिएँ कान्छो
सच्चा शुभचिन्तक ठानेर
तल्लाघरे ठूल्दाइलाई |
अभिभावकीय आस्था
र स्वाँगे शुभेच्छाका
खोल ओढेका ठूल्दाइ त
स्याल पो रहेछन् कान्छो !
खोल्सोपूर्वको तेरो जमीन
बाटोपश्चिमको मेरो माटो
ठूल्दाइको गिद्धे नजर
र यो सुनियोजित फाटो |
बोक्सी, धामी
दुइटै भूमिकामा
पोख्त ठूल्दाइका
मुकुन्डोभित्रका
शकुनि-आँखा पढ्न
ढिलो नगरौँ कान्छो !
अगुल्टोले हिर्काएको कुकुर
बिजुली चम्किँदा तर्सिए झैँ
यतिखेर,
माथ्लाघरे आप्पा,
छरछिमेकी र गाउँले
टाढा-नजिकका आफन्त
सबै सबै
सन्देह-घेरामा छन् |
आइज कान्छो !
उखेलौँ अब
सिमानाका बार
भत्काएर वैमनस्यका
अभिमानी काँडे त़ार
बनाऔँ
बुबाले छोडेकै जस्तो
सगोल, संयुक्त, एकाकार |
हाम्रो भूमिमा र्याल काढ्ने
रक्तपिपासु ब्वाँसाहरुलाई
दर्विलो जवाफ दिने
बेला भइसकेको छ,
एकताको शक्ति र
भाइचाराको भक्तिले
दाजुभाइ जुटेर
सामुहिक शत्रु लघार्न,
आइज अब
दाजुभाइ मिलौँ कान्छो !
Liked by: