अनुत्तरित प्रश्नको उत्तर पाएपछि,
निर्धक्क भई वाचा कसम खाएपछि,
अहङ्कारको मुठ्ठी खोली
समर्पणको अञ्जुली बनाउँछ्यौ भने,
अतीतका उजाड भूमि पनि
हकिकतमा उर्वर बनाउँला,
भुलकै मलमा फुल फुलाउँछ्यौ भने ।
अविश्वासको बादलमुनि आशाका घडेरीहरू
भन्छ्यौ भने आकाशमै सपनाको घर बनाउँला,
पश्चतापका आँसुहरू मोती सरी झर्छन् भने,
सङ्कल्पको घैँटोमा भरोसाको घाम लाग्छ,
बादलपारिका सपना पनि आँगनमा खेल्नेछन् ,
कल्पनालाई साकार पार्न फेरी भेटौँला...
लोलाएका मुहार पनि खित्का छोडी हाँस्छन् भने ।।
के छ, सकिन्छ?
हिमाल झैँ हाँस्न अमर भई बाँच्न के छ, सकिन्छ?
असल व्यवहार गर्न त सिकाइयो तर
आफैँ आदर्श बन्न के छ, सकिन्छ?
गुनासो, अस्वीकार गरियो आफूले अरूप्रति
अरुले आफूप्रति नगर्ने बन्न के छ, सकिन्छ?
सबैथोक गर्नसक्ने स्वचालित मेसिन बनाइयो
र पनि मान्छे मानव बनिराख्न के छ, सकिन्छ?
सबै एकै भएर पनि कोभन्दा को कम हुन्छ
सन्तुष्ट भई सँगसँगै जित्न के छ, सकिन्छ?
खेलमा एकतालाई, राजनीतिमा नैतिकतालाई,
कलामा बौद्धिकतालाई, साहित्यमा कोमलतालाई, शिक्षामा सीपलाई, सम्बन्धमा सम्मानलाई,
अध्यात्ममा प्रज्ञालाई र जिन्दगीमा वर्तमानलाई
प्राथमिकता दिन के छ, सकिन्छ?
एक्लोपन वरदकन कि अभिसाप?
एक्लै कराउन, नडराउन के छ, सकिन्छ?
कसैले अटाउन नसक्दैमा ॐ एक्लो हुँदैन
बरु ॐकारबाटै सृष्टिको जननी हुन्छ
बन्धन र डरबाट मुक्त हुँदा स्वतन्त्र भइन्छ
र पनि अनुशासित हुन के छ, सकिन्छ?
चिचिलैमा फूल्न तिम्लाई कल्ले सिकायो
रमाउन धैर्य नगुमाउन के छ, सकिन्छ?
बिराउनु पछुताउनु चलिरहन्छ र पनि
फेरि प्रयास गर्न के छ, सकिन्छ?
वैगुनलाई गुनले भ्रष्टाचारलाई सदाचारले मार्न
अनि
हृदयमा इमानदारी, काँधमा जिम्मेवारी,
मष्तिष्कमा समझदारी अपनाउन के छ, सकिन्छ?
घटनाले न सुख दियो न दुःख
विचारलाई नियन्त्रण गर्न के छ, सकिन्छ?
परिवर्तन अपरिहार्य छ
हर परिस्थितिलाई स्वीकार्न के छ, सकिन्छ?
मित्रता जोगाउन पर्ने चिज होर!
सधैँ टिकाउन के छ सकिन्छ?
न तिमी ठिक न म, हाम्रो अहम बेठिक
सत्य स्वीकार्न के छ, सकिन्छ?
खुशी के मा खोज्छौ
ससाना कुरामा रमाउन के छ, सकिन्छ?
सबै कृष्ण र कर्ण बन्न नसकिएला तर
सिर्जनशील बन्न के छ, सकिन्छ?
वादविवाद गरेर जित्न नसकिएला तर
विवेकशील भई मौन रहन के छ, सकिन्छ?
रिसाएर मन बुझाउन नसकेपनि
चेतनाले फेरी मुस्कुराउन के छ, सकिन्छ?
कसैको धूर्त नजरले डगमगाइँदैन
सामुद्रिक छाल खप्ने ग्रे रक बन्न के छ, सकिन्छ?
प्रतिकूल परिस्थितिमा, साधारण मनस्थिति बनाएर लड्दै
विषाक्त तत्त्वबाट बच्न के छ, सकिन्छ?
अकर्मण्यताले प्रताडित छ हृदय
कर्मले शान्तिपूर्ण सिँचाइ गर्न के छ, सकिन्छ?
अकल्पनीय जटिलतालाई चिरेर
फेरी उदाउन के छ, सकिन्छ?
Liked by: