अामा,
अगेनोको डीलमा बसी तिमीले भात दिएको,
झोल अनि अचारसंग मीठो भएन भन्दै,
लात हान्दै थाल पर सम्म पुर्याउदा,
तिमी भने साडीको सप्कोले
अाशु पुछ्दै,
एक नजर पुलुक्क बाबामाथी लाउथ्यौ,
अनि बाबा निधारमा हात राखी
दलान हेर्दै,
खै के-के, के-के सोच्नु हुन्थ्यो ।
समय बदलियो,
मेरो आडम्बर खरानी भयो,
अाज म त्यहीँ हैसियत उठाउने,
एउटा सपना बोकेर मरुभूमिमा हराएको छु,
आफुलाइ बेचेर,
खुल्ला आकाशमुनि,
मानौ म सजाय काटिरहेको छु,
नितान्त एक्लै यो प्रवासमा।
तिमीलाई हेपेको,
छलेको,
अनि ढाँटेको,
अपसोच छ आज,
तिम्रो माया,
तिम्रो त्यो न्यानो काख स्मरण गर्दै,
यो विरानो भुमीमा तिम्रो ममता पाउन,
लालायित भएको छ मेरो अन्तरात्मा पनि,
साथी,
जीवनको अभिन्न अंग,
म पोख्छु मनका भावहरु,
अनि उहीँ साथी,
म जस्तै परदेशी हुन लागेको रहेछ,
हे मेरी प्यारी आमा,
तिम्रो खबर के छ,
उहीँ साथीलाई भनी पठाउ है,
अनि तिम्रो हातले बनाएको,
खोपामा प्लाष्टिकले बेरेर डब्बामा राखेको,
त्यो अमिलो गुन्द्रुक मेरो लागि,
उहीँ साथीलाई पठाई देउ न है आमा।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: