बहाई बगैँचाको शिरमा
टल्किरहेको वहावल्लाहरूको
वाव मन्दिरलाई श्रद्धाले हेर्दै
घाम नझुल्किदै हिँड्ने
याफेनोफको सड़क केही
फराकिलो होला
याफेनोफबाट सामुन्द्रिक जहाज़हरू
गहिरिएर हेरिरहने अरू कोही होलान्
तीज तिहार र चाडपर्वमा
नाच्ने फराकिलो बगैँचामा
अरु कोही नाच्लान्
बिहानै आएर अडेस लाग्ने
फलैँचाहरू रित्तो रित्तो होलान्
कसैको एउटा हात
हावासँग हात मिलाउदै
एक्लै चलिरहलान्
बिहानीको सूर्योदयमा
रमाउने अरु पनि त होलान्
म फर्किन्न कि भनि मेरो प्रिय वहाइले
आँशूले सिरानी भिजाउन सक्छ
सड़क पेटीका रंगीविरंगी फूलहरू
अनवरत फुलिरहलान्
आकाश छुने प्यानोरामाको
भित्तामा उभिएर हाईफा बन्दरगाहको
सुन्दरताहरू निहाल्ने एक बटुई कम होली
बाटा वरपरका सिमलीका मुनाहरू
कसैले नचुड्दा लहलहाउलान्
बिहानीको भ्रमण पछ्याउने
कुकुर, विरालाहरू
आनन्दले गार्डेनमा रमाउलान्
मलाई हेरेर मुस्कुराउने
ओरेन इरित मेरो बाटो हेर्लान्
रोशोशना,सुकोत,योम किपुर
खानुका,पुरीम,सबुवत,पेशाख पर्वहरूमा
गानहेमको चौरमा हुने भीड़भाड़
छिचोलेर फ़ोटो खिच्न खोज्ने
एकजना कम होला
कर्मेलको
गानखाइवत उर्फ़ चिड़ियाखानामा
प्रत्येक पेशाखको बेला
गानखाइवतमा पस्न तँछाडमछाड
गर्दै सधैं हावाको रफ़्तारमा
भेटिने एक चुलबुली कम होली
खै के के होला
मैले हाइफा छोडेको दिन
केही पनि नहुन पनि त सक्छ
बहाईको डिलमा उभिएर
आकाशमा हुलका हुल परेवा
अरूले पनि त गनिदेलान्
म नहुदा बहाई बगैँचा त्यही हो भनेर
अरुले पनि त देखाई देलान्
केही ज़ोर आँखाहरू
मलाई कुर्दैनन् होला
ट्रिसको चेपबाट
आकाशको जूनसँग आँखा जुधाउने
अरु कोही पनि त होलान्
बिहानी भ्रमण भेटिने
निमु,आस्था,टोनी,गणेश
र अन्य भाइबहिनीहरू
मेरो बाटो हेर्लान्
यी सबैको मायाले पनि
हाइफा छोड्न मन लाग्दैन
पिंजडाको सुगा जस्तै जिन्दगी भए पनि
यसैभित्र क़ैद हुन मन हुन्छ
मलाई हाइफा छोड्नै मन छैन
लाग्छ
मलाई हाइफाले आफ्नै
आलिँगनमा बाँधिरहोस्
म रमाउँ उसैको स्मृतिमा !
-भगवती बस्नेत
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: