खोइ कहाँ हराएछ त्यो मीठो सपना
जो सुरिलो भाकामा गाउदैन आजकल
देखिरहने हरपल हरक्षण एकतमासले झलमल
जो सपनीमा पनि आउदैन आजकल।
खोइ कहाँ हराएछ त्यो विशाल सपना
जो महासागरका छालहरुमा पौडिदैन आजकल
बग्दथ्यो रगत पसिनामा वेगले
जो उर्जा बनी शरीरमा दौडिदैन आजकल।।
खोइ कहाँ हराएछ त्यो जीवन्त सपना
जो निष्प्राण शरीरमा प्राण लगाउदैन आजकल
बाँधेर मनका सबै वेगहरुलाई
देखाउँथ्यो उज्यालो ज्योती जीवनको
जो आत्मामा चेतना जगाउदैन आजकल।।।
खोइ कहाँ हराएछ त्यो सुन्दर सपना
जो आफ्नै छाँयासरी पछ्याउदैन आजकल
तड्पिएछ विपनीमा भड्किएको जीन्दगी
जो घरीघरी आएर बचाउदैन आजकल।।।।
Liked by: