जति तिमी बिकट पहाडतिर लम्कन्छौ नि
मेरो जीवन बुझ्दै जानेछौ
तिमिलाइ सरल लागेको तिम्रै जिवनको
अफ्ठ्यारा प्रतिबिम्बहरु पनि
तिम्रा आँखाअघी
क्रमैसँग हाजिर हुँदैजानेछन्
सुरुमा देखिने हरियाली र
पर बाट लामो हल्लिँदै गरेको झोलुङ्गे
आहा! कति सुन्दर देखिन्छ
कुनै कथामा सुन्नेगरेको स्वर्गजस्तै
नजिक पुगेपछी आदा बाटो छिँड भेट्नेछौ
कहिँ तार चुँडिएर झर्नै लागेको भेट्दा
तिम्रो आङ सिरिङ्ग नहोला र ?
मलाई त आँखा चिम गरेर यात्रा गर्न मन लाग्छ
जब तिमी तुइनमा झुन्डिएर यात्रा तय गर्छौ नि
बालापनमा तिमिलाई क लेख्न
कति गाह्रो थियो अनुमान गर्नसक्छौ
कति सिसाकलम भाँचिएहोला
कति कागज धुजाधुजा भएका होलान्
के लेख्नकै लागि यतिका पसिना छोडियो
सोच जिन्दगिका अक्षरहरु के सजिला होलान् र ?
तुइनमा झुन्डदै गर्दा पीडा बोध होला
एकछिन त लाग्ला अब हात छुट्नेछ
तलबाट मलाई बोलाईरहेको भयानक खोला
मलाई सिँङ्गो निल्न पाउँदा मात्र
आफ्नो अट्टहाँस बन्द गरेर समुन्द्रको यात्रा तय गर्छ
यो सोच र पिडालाई खसाएर गहिराई नाप्दै
पारिपटी अवतरण भैसकेपछी
गन्तव्यले सन्तुष्टिका सुस्केरा फुत्काइदिँदा
तिम्रा हातमा उठेका ठेलाले
खुशिका आँसु नाँकको किनारा भएर
तिम्रो ओठ चुम्न आउँदा
जिन्दगिका अक्षरहरु बुझ्न थाल्छौ ।।
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: