म प्रेमको जलपले सिंगार्ने छु तिमीलाई
सिउरिने छु शिरमा गजुर बनाएर तिमीलाई
अनि सजाउने छु यो पवित्र दिल भित्र
कतै नजानु तिमी यो मन्दिर छोडेर
रहनु तिमी सधैं सधैं, प्रेमकी देवी बनेर
भावनाको पुष्प गुच्छा अर्पण गर्ने छु तिमीलाई
मेरो तन मन, जन धन , मेरो हृदय र मस्तिष्क
सबैसबै एक एक अंश समर्पण गर्ने छु तिमीलाई
तिमी भोक चलन गरिदिनु कुनै नाइनास्ती नगरी
म सेवा गर्ने छु तिम्रो, कुनै आश नराखी,
कुनै स्वार्थ नराखी
मात्र तिमी त्यो सेवालाई स्वीकार गरिदिनु
कुनै झिजो नमानी
छोड्ने छैन त्यो हात भाकल गरें
छोड्ने छैन त्यो सात भाकल गरें
भाकल गरें
सातौं जन्म सम्म तिमी संगै हुन पाउँ
तिम्रै सेवक बन्न पाउँ, तिम्रै समीप रहन पाउँ,
तिम्रै भक्त बन्न पाउँ
म त प्रेमको पुजारी हुँ, तिमी प्रेमको मन्दिर बनिदिनु
यो जुनी मात्रै नभई,तिमी हरजुनी हरबार बनिदिनु ।।
तिम्रो एक पलको दर्शनको लागि
तिम्रो एक शब्द श्रवणको लागि
तिम्रो एक मुस्कान हेर्न को लागि
म प्रतीक्षा गरौंला यो जीवन काल भरी
भक्तले झैं पर्खौला म कुनै गुनासो नगरी
तर अर्थहीन नभइदियोस् त्यो पर्खाइ
बेर्थ नजाओस त्यो समय,त्यो पर्खाइ
सदियौं बिते पनि ,युगौं युग लागे पनि
एक दिन इन्साफ मिलोस
मेरो त्यो पर्खाइको, त्यो समय को,
त्यो निस्वार्थ प्रेम को
सार्थक भइदियोस् त्यो पर्खाइ
न्याय पाउन मेरा ती असिमित भावनाहरुले
जुगौ-जुग , जन्मौ-जन्म सम्म पनि
नभत्कियोस त्यो विश्वासको पुल
नचुडियोस् त्यो आशाको त्यान्द्रो
म पर्खिने छु, कुनै गुनासो नगरी,
कुनै प्रश्न नगरी
कोशिस गरौँला बरु,
त्यो पर्खाइ मा पनि एक मिठास होस्
एक आनन्द होस, एक जीवन होस
म त प्रेमको भक्त हुँ, तिमी प्रेमकी देवी बनिदिनु
म त प्रेमको पुजारी हुँ,तिमी प्रेमको मन्दिर बनिदिनु ।।
Liked by: