घरको मुल ढोकाबाट निस्कीदा
आमाले आखाँ भरी आसु पारेर
रातो अक्षताले निधारभरी सजाउदै
बाबु राम्रोसंग काम गरेर
आफनो ख्याल गरेस है
भन्दै गर्दा यी आखा भरी कुनै
सुखीहरु सल्बलाएका थिएन्न
म आफनै भाग्य सम्झिन्छु
बालापनका ति दिनहरु
हालमा सिसाकलम समातेर
लेख्न थालेको दिनदेखी
प्रत्येक परिक्षामा प्रथम हुदा
पाएका हरेक पुरस्कारले
कत्ति धेरै सपना, चाहना र उमङ्ग
भरेको थियो जिवनमा
म पनि ठुलो मान्छे बन्छु
राम्रो जागीर गर्छु
बा–आमाका हरेक सपनालाई साकार पार्थे
ति सपना भरी देश भक्ति आउथे
अन्याय र अत्याचार देख्न नसक्ने म
आफनै घर बन्धकी राखी दलाललाई
पैसा बुझाउदै थिए म
सम्रग लाई म आफैलाई बेच्दै थिए ,
सुन्दर अनि उज्जवल भविष्यका लागी
अझ भनौ आफ्नै लागी ,
जिवनका नदेखिने
अनगिन्ती खुसीहरुका लागी
अझै देश बनाउछु भन्नेहरुलाई
तलव खुवाउनैका लागी
म जस्ता लाखौ युवा दिनदिनै
विदेसिरहेका छन ।
आफनो भाग्य सम्झिन्छु त्यो दिन
कोरियाको फर्म भर्न जादा , फर्म भर्ने ठाउमै
प्रहरीले घोक्र्याएको थियो
लड्ने गरी, मुन्टिने गरी
मानौ म अपराधि हो ठुलै अपराध गरेको छु
सबैबाट लखेटिएको मेरो भाग्यलाई
यो देश पनि लखेटन खोज्दै थियो
म जस्तै आफनै देशबाट लखेटिएर
हजारौ युवा विदेशिदै थिए ।
आखा भरी सजिएका अनगिन्ती सपनाहरु
छातिभरी पलाएको देश प्रेम अनि
मस्तिष्क भरी भरिएको सुन्दर भविष्यको चाहना
यि सवैलाई ज्यूका त्यु सजाउदै म निरिह
रमाउदै थिए हातमा पासर्पोट बोकेर
दिनहु रमाई रमाई र जस्तै हजारौ युवा विदेसिरहेछन ।
निधारभरी पोतिएको रातो टिका र हातमा पासर्पोट बोकेर
बुढा बाबासंग एरर्पोट सम्म पुग्दा पनि
सानैदेखी मनमा सजिएका सपनाहरु
आखाभरी नाचिरहेका थिए ।
एरर्पोटमा साथी समुहमा
उत्साहित हुदै फोटो खिच्छु
मन त धेरै गह्रुगो छ म फिस्स हासी दिन्छु
ल साले मोज गर
आउदा उपहार ल्याईदे है
साथिको चाहना
अहो म त मोज गर्न पो विदेशिएको रहेछु
मोज गर्नकै लागी म जस्तै हजारौ युवा
दिनानुदिन विदेशिन्छन्
मेरा सपना, मेरा चाहना
मेरो देश प्रेम म सगै उड्छन
हवाईजहाज चढेर
खुल्ला आकाशमा
तलबाट माथि विलिन हुन
छोरो विदेशिएको खुसीले भनौ या दुःख ले
आकासमा माथि उडिरहेको हवाईजहाज हेरिहेका
मेरा बाबुले झै विलिन हुन्छन मेरा सपना
कुनै अर्कैका सपना पुरागर्न
कुनैै अर्कै देश बनाउन
क्षितिज पारी , क्षितिज पारी
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: