साँझको समय
करिब ७ बजेतिर
झमझम दर्किरहेछ
आकाशबाट पानी !
झ्यालको पर्दा खोले
नियालि रहे बाहिरतिर,
निरन्तर आकाशबाट,
बर्सिरहेछन् पानीका थोपाहरू।
झ्वाट्ट सम्झिएँ !
ति चर्किएका पाउहरु!
जाडोले कठ्याङ्ग्रिएका ति हातका औँलाहरू !
दिनभरको काम
साँझमा थकित अनुहार
के गदै होलिन् मेरी आमा !
हेर्छु दायाँ बायाँ
देख्छु सुकिला झ्यालका पर्दाहरू !
अनि हेरे यसो झुकेर एकफेर आफै उभिएको भुइँतिर,
कार्पेट बिछ्याइएको सुकिलो भुइँ,
देख्छु सुकिला हातगोडा !
फेरि झस्स सम्झिएँ !
अस्तिको भिडियो कल
पसिनाले निथ्रुक्क भिजेको बाबाको अनुहार !
सम्झिएँ त्यो खाडीको ५०° को घाम ।
अनि महसुस गरे,
आफुआफैसँग थाकेका ति थकित आँखामा देखिने ,
सन्तानका भविष्यका निम्ति सुनौला सपनाका मधुर आकृतिहरू
आँखा चिम्म गरे ! झ्याल निरै उभिएर
देखे,
सुकिला मानिसहरुको शहरको कुनै कुनामा टक्क उभिएको
आफ्नै सुकिलो प्रतिबिम्ब !
तुलना गरे त्यो सुकिलो प्रतिबिम्बसँगै,
चर्किएका आमाका ती पैतलाहरु !
खाडीको ५०° घामसँग बितेका बाबाको 12 वर्षहरू !
ओठले व्याख्या गर्न नजानेका थकित आँखाले देखेका ति सपनाहरू !
अनि सोधे आफैले आफैँसँग प्रश्न ?
अञ्जुली,
तेरो शैक्षिक प्रमाणपत्रहरुले,
चुक्ता गर्न सक्छन् कि सक्दैनन् होला, खाडीमा बितेका बाह्र वर्षहरूको मूल्य ?
श्रम र पसिनाको भर्याङद्वारा,
सुकिलो शहरमा भविष्य बोकेको बस भेटाउन पठाउँदा,
बिदाइ गरेका आमाका ति हातहरुका मूल्य !
झरेका आँसुहरूको मूल्य !
चुकाउन सक्लान् कि नसक्लान् भोलि तेरा शैक्षिक प्रमाणपत्रले ?
मनै मनले सोधे,
अर्को प्रश्न फेरि सरकार सँग !
कहिले सम्म हजारौं बाबाहरूले
सन्तानको सुनौलो भविष्यका निम्ति,
जिन्दगीका १२/१५ वर्ष खाडीमा बेच्नु पर्ने हो सरकार ?
कहिलेसम्म खाडी मुलुकमा श्रम र पसिना लगानी गर्नु पर्ने हो ?
अनि बाबाहरूको श्रम र पसिनाको लगानीमा किनेको,
शैक्षिक प्रमाणपत्र अनुत्पादक भइसकेपछि देशभित्र,
डुबेको लगानीको साँवा र व्याज तिर्नका लागि,
शैक्षिक प्रमाणपत्र दराजमा थन्काएर !
जिन्दगीको १२/१५ वर्ष धरौटि राख्न,
कहिले सम्म विदेशिनु पर्ने हो दैनिक जसो देशका होनहार युवाहरु ?
कहिले सम्म चल्छ यो प्रक्रिया सरकार ?
कहिले सम्म चलिरहने छ यो प्रक्रिया ?
मलाई यि प्रश्नहरूको जवाफ देऊ सरकार !
ता कि म आफूले आफूलाई,
तिम्रो उत्तर अनुसार तयार गर्न सकूँ !
निखार्न सकूँ आफूलाई तिखार्न सकूँ तिम्रो उत्तर अनुसार !
आफुले आफैलाई भोलिका निम्ति,
१२/१५ वर्ष खाडीमा बेचिनु परेका बाबाहरूको निम्ति,
टन्टलापुर घामसँग मजदुरीमा पसिना साट्ने आमाहरुको निम्ति,
तयार गर्न सकूँ म आफूले आफूलाई तिम्रो उत्तर अनुसार !
Liked by: