सरौतोको सुपारी
चेपुवामा परेर चेपिएको चेपिएइ
पेलाइमा परेर पेलिएको पेलिएइ
कोल्टे फेर्न पनि गाह्रो
सास फेर्न पनि गाह्रो
बिचरो ! सरौतोको सुपारी
न कठै न बरी ।
हाय, सरौतोको सुपारी
फूल हुदा न रबिनले ठुँग्यो
न ड्रागनले निल्यो
सगरको बोटमा स्वतन्त्र झुलिरह्यो;
झुस-भुस उध्रेपछि
सरौतोकोको दुई धारमा जकडिएको छ
सायद, पानको मसला बन्नु छ
गुटखाको अमला हुनु छ
दुई तिरबाट सेपिएको सेपिएइ
दुई ढुङ्गा बिचको तरुल झैँ
ओखली र मुस्ली बिचको
घर्षणले चेप्टिएको चेप्टिएइ
विचरा सुपारी
न वारि न पारि
सरौतोको सुपारी ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: