स्वाभिमानलाई बन्दकी राखेर
मालिकको जुठेल्नो
रछ्यानमा मौलाउदै गएको छ
एउटा दास प्रवृत्तिको मान्छे !
रगतको टाटोहरुलाई पनि
होलिको रंग जस्तै रातो देख्छ
अध्याँरोलाई नि घाम जतिकै
उज्याँलो देख्छ
मालिककै इसारामा
नाचिरहेको छ
एउटा कठपुतली मान्छे !
निकृष्ट बिचारहरु मगजभित्र कोचेर
कुण्ठित मानसिकता बोकेर
कुत्सित भावनाहरुलाई
आदर्शका सुनौला फ्रेमहरुले
भित्ताभरी सजाँएर
आत्मरतीमा रमाएको छ
एउटा खोक्रो ढोंगीमान्छे !
अहंमको एउटा गरुँगो भारी
छातीमा टासेर
बगरको ढुङ्गाहरु जस्तै
विवेक शुन्य
संवेदनाहिन भएर
ढङ्गरङ्ग निदाएको छ
एउटा कुम्भकर्ण मान्छे !
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: