मैले कैयौं ठाउँमा गाली खाएको छु
कैयौं ठाउँमा त, सुन्नै नसक्ने गरि भनिपाएको छु
बस् यी आँखाहरूका कारण!
मलाई कतिले लखटेर छाडेका छन्
कतिले त, दौडाइदौडाई पिटेका पनि छन् यी अंगहरूमायी आँखाहरू पनि बडो अचम्मका थिए !
मलाई मेरो मन मुटु संग कुनै गुनासो थिएन
अरू मानिसहरू बाट दूर भएर बस्नुमा
गुनासो थियो त केवल यी दुबै आँखाहरू संग थियो !
यी आँखाहरूले
ऊ... त्यो मोडमा कोही स्त्री हिडेको देख्नु हुन्थेन
केन्द्रित भएर उनिहरू प्रती आकर्षक भइ दिन्थे
सोच्दैनथे यी आँखाहरूले!
उनिहरू पनि त,
आफ्नै बहिनी जस्तै होलान् दिदि जस्तै होलान्
बरू यी आँखाहरूले
घाँटी भन्दा अलि त..ल
घुँडा भन्दा अलि माथिका भागहरूमा चिहाईहाल्थे !
-यी आँखाहरू पनि अलि बैँसालु थिए!
आउनु हुँदैन थियो हरितालिका तीज
दोराहीहाल्थे यी पैतालाहरूलाई जबर्जस्ती
ता की, अवलोकन गर्न सकू तीजको नाँचो
टाढै बसेर भए पनि नाँचोमा झुमेका हुन्थे यी आँखाहरू
दशै तिहार इत्यादी कुनै पनि चाड पर्व छुटाउनै नहुने
भलै थाकिए पनि थाकियोस् मेरा शरिरका सबै अंगहरू
दौडाई हाल्थे यी अंगका एक-एक पाठपुर्जाहरूलाई !
कहिले चयनपुर गाउँ -कहिले दम्ती डाँडागाउँ
कहिले भङ्जाङ पारिको सेवार डाँडा त,
कहिले अर्जुन खोला भन्दा त..लको बलेवा खोला!
राम्रा नराम्रा मान्छेहरू -गोरा काला मान्छेहरू
कोही बसेर गाएको -कोही उभिएर गाएको
कोही एक्लो अरू भन्दा प...र नाँचेको
कोही अरूहरूको बिचमा उभिएर नाँचेको
यी सबै कलाहरूलाई नियाल्न
सदा अग्रसर रहन्थे यी आँखाहरू!
-यी आँखाहरू पनि अलि तरुनो थिए!
तर,
अब यी आँखाहरू अलि बुढा भइसके
अब त,
यी आँखाहरूले घडी संगै प्रतिस्पर्धा गरेर थाकिसकेका छन्
अब पहिले झै उत्ताउलो हुन मान्दैनन्
कोहि स्त्री त्यहीँ पुरानो मोडमा हिडेको देखेपछि
आफै भुँइमा निउरिन्छन् यी आँखाहरू
जस्तो कि, मानव देखेपछि सर्प दुलोमा निउरिन्छन् !
-पहिले जस्तो बैँसालु रहेनन् यी आँखाहरू !
अब त, यी आँखाहरूका कारण
कसैको गाली खानु परेको छैन, भनी माग्नु परेको छैन!
पहिले झैँ बदमासी रहेनन् यी आँखाहरू
बडो शान्तछन्!
मानौं कि, यी आँखा होइनन् लाटोकोसेरा हुन!
अब यी आँखाहरूले
तीज, दशै, तिहारको पर्वाह गर्न छाडिसके
मनहरूले जाउँ भन्दा पनि मान्दैनन् रत्यौली खेल्न!
जस्तो कि, कुनै शिला झै भएका छन् यी आँखाहरू !
अब त, यी आँखाहरू बुढा भएछन् क्यार!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: