वर्ष २०८० फर्केर हेर्दा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

वर्ष २०८० फर्केर हेर्दा





वर्षहरू को पहिचान बुँदाहरूमा हुन्छ । ती बुँदाहरूले वर्षहरूका उपलब्धि, वर्षहरूका वाचाहरू र वर्षहरूका उपद्रव व्याख्या गर्दछन् ।

वर्ष २०८० लाई पनि केही बुँदाहरूले नजिकबाट व्याख्या गर्दछ ।
दुर्घटनाको वर्ष का रूपमा यस वर्षलाई याद गरिनेछ किनभने वर्ष २०८० भित्र सडक दुर्घटनामा असाधारण सख्याँमा हता हती भएको छ ।आर्थिक मन्दीको वर्ष किनभने वर्ष २०८० को सुरुवात देखि अन्त सम्म नै असामान्य मन्दी को बादलले पुँजी बजार, घरजग्गा कारोबार र हरेक प्रकारका थोक तथा खुद्रा व्यापारलाई प्रभावित पारिराख्यो ।बैङ्कको लोन को तनाव र व्यापारको भारले साना तथा मझौला व्यापारीहरूलाई लाई आत्महत्यासम्मको अवस्थामा लिएर गएको वर्षका रूपमा यस वर्षको याद गरिनेछ ।यसका अलावा काण्डै काण्डको वर्षका रूपमा भुटानी शरणार्थी काण्ड, सुन तस्कर काण्ड, सहकारी काण्ड लगायत थुप्रै सार्वजनिक एवं व्यक्तिगत काण्डहरू पनि यस वर्ष छाइरहे ।

यो वर्षमा भएका अभूतपूर्व कुराहरू
१.नेपालमा एकै वर्षमा सबैभन्दा धेरै समबन्ध बिच्चेद भएको वर्षका रूपमा वर्ष २०८० स्थापित भएको छ ।
२.सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक धेरै भएको रेकर्ड वर्ष २०८० सँग नै छ ।
३.नेपालको वायूप्रदुषण को तह विश्वकै उच्च भएको वर्ष पनि यही वर्षको पोल्टोमा छ ।
४.संभवत दोस्रो विश्वयुद्ध पछि नै नेपालीहरू अरू कुनै देशको पक्ष वा विपक्षमा युद्ध लड्न गएको वर्ष का रूपमा वर्ष २०८० लाई लिन सकिन्छ ।
५.रुस युक्रेन युद्धमा रोजगारी देखेर ज्यानको बाजी थाप्ने र ज्यानको आहुति दिने रेकर्ड पनि वर्ष २०८० सँगै छ ।
६.अहिलेसम्म सबैभन्दा धेरै मानिसहरूले आत्महत्या गरेका, घर नफर्केका र हराइरहेका वर्ष पनि २०८० नै रह्यो ।

हाइफ्रोफाइलको जेल यात्रा का हिसाबले पनि वर्ष २०८० सदैव याद गरिनेछ । यद्यपि पार्टीगत प्रभावका आधारमा हाई प्रोफाइल चोख्याउने प्रक्रिया पनि वर्ष २०८० मानै सर्वाधिक प्रयोगमा ल्याइयो ।यसका अलावा वर्ष २०८० लाई क्रिकेटले उज्यालो पारेको वर्षका रूपमा पनि चिनिनेछ । विगतका कुनै पनि वर्षहरूमा नेपाली क्रिकेटले यति फड्को मारेको जति वर्ष २०८० मा मार्‍यो । यो वर्ष नेपाली पुरुष क्रिकेट टोली आइसिसी टी–२० विश्वकपमा छनोट हुन सफल भयो भने घरेलु मैदानमै एसी सी प्रिमियर कपको उपाधि चुम्न पनि सफल भयो । भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेशजस्ता बलिया टेस्ट राष्ट्रसँगै एसिया कपको मञ्चमा नेपाली क्रिकेट टोलीले प्रदर्शन गर्ने मौका पाएको वर्ष पनि यही हो । यही वर्ष नेपाली पुरुष क्रिकेट टोलीले आफूभन्दा बलिया राष्ट्रहरूसँग जिम्बाबेमा आइसिसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि खेल्यो । महिला क्रिकेट टोली पनि निकट भविष्यमा श्रीलङ्कामा आयोजना हुने महिला टी–२० एसिया कपमा छनोट हुन सफल भयो ।साथसाथै पुरुष क्रिकेट टोली टी–२० विश्वकपमा छनोट पनि भएको वर्षका रूपमा यस वर्षलाई याद राखिनेछ ।रङ्गमञ्चमा अर्थपूर्ण चलचित्रहरू ले सम्मानपूर्ण व्यापार गरेको तथ्य त वर्ष २०८० मा हामीले देख्यौँ नै । चलचित्र निर्माणमा चाहिँ कथा, पटकथा र पात्र प्रधान चलचित्रको पैरवी सुरु गरेको मोड वर्ष २०८० मानै आएको मान्न सकियो ।

आशाजनक ओपनींगका साथ आएको वर्ष २०८०
राजनीतिमा चाहिँ असाध्यै आशाजनक ओपनींगका साथ आएको वर्ष २०८० ले वर्ष अन्तमा टाँईटाँईफिस गराउँदै निराशाजनक अन्त दिएर गएको छ । वैशाखको उपनिर्वाचनबाट फेरि सत्ता उक्लेका रवि लामिछाने वर्ष भरि नै विभिन्न कारणले चर्चामा रहे । यसका अलावा रेसम चौधरी र रिगल भनिने योगराज ढकाल को आममाफी को प्रकरण वर्षभरि चर्चामा रह्यो । असार १ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जना जेल चलान भए । वर्षको अन्तसम्म आइपुग्दा यी सबै हाइप्रोफाइलहरु चोखिएर घर फर्किसकेको अवस्था छ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा र सुनुवाइ ले वर्ष २०८० मा ठुलै स्थान पायो ।

यता बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो । तर नीतिगत निर्णय प्रक्रियामा सहभागी भएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई सत्ता टिकाउन बकपत्र गराएर उन्मुक्ति दिइयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु राणालगायत समेत मुछिने भएपछि दोस्रो चरणको अनुसन्धान प्रभावित पार्न प्रहरी र न्यायाधीशको सरुवा गरियो भने केही समय चर्चामा आएको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा को विषयमा चौधरी समूहको धरपकड भए पनि पछि सबै कुराहरू सामसुम पारेर यस वर्ष बिदा हुँदै छ ।

काठमाडौँ का मेयर बालेन्द्र शाह वर्षभरि चर्चामै रहे । कहिले सिंहदरबारमा आगो लगाइदिने वक्तव्य ,श्रीमती चढेको गाडी प्रहरीको चेकजाँचमा परेको रिस लगायत अन्य थुप्रै कुरामा काठमाडौँ महानगरपालिका चलायमान नै रह्यो । यद्यपि अझै पनि बन्चरे डाँडाको फोहोर व्यवस्थापनको कुरा, विकासका संरचना र सुशासनको अनुभवमा नगरवासीहरुले खासै अनुभव गरिसक्न नपाएको अवस्था छ । उता धरानका मेयर हर्क साम्पागं वर्षभरि नै आफ्नो स्ट्याटस, ट्विट र वक्तव्य वाट चर्चामै रहे । भाद्र महिनामा त धरानमा केही अराजक समूहले गोरु काटेर खाएको घटनाले धार्मिक युद्धकै मोड लिँदा स्थानीय प्रशासनको सतर्कताले सम्भावित घटना टर्‍यो ।सरकारले कार्तिक महिनामा टिकटक माथि प्रतिबन्ध लगायो । नेपालमा मच्चिएका भ्रष्टाचार काण्डमध्ये सबैभन्दा ठुलो काण्ड एनसेलको कर छली यसै महिना सतहमा आयो । १४३ अर्बको सम्पत्तिलाई मात्र ६ अर्ब मूल्याङ्कन गरी सेयर बचेर १३७ अर्ब रुपैयाँको करमा घोटाला गरेको प्रकरणमा पूर्व प्रधानमन्त्रीकै परिवारसमेत तानियो ।

सामाजिक सञ्जालमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको वर्चस्व रहिरह्यो , उनका भाषण, आन्दोलन र आरोपले सर्वसाधारणलाई कहिले विश्लेषण त कहिले मनोरञ्जन दिई रह्यो यद्धपि वर्षको अन्तमा उनको मेडिकल कलेजलाई अनुमति दिने सरकारको निर्णयपछि आउँदा वर्षमा उनको पैरवी व्यवसायमा मात्र रहन्छ वा सुशासन र राजसंस्थाको पैरवीमा फेरि फर्कन्छ हेर्न बाँकी छ ।न्याय मरेको वर्षका रूपमा वर्ष २०८० मा अनेक घटनाहरू दबाइए । पुस महिनामा भएको घटनामा कोरिया जान ईपीएस परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुर बालकुमारीमा भएको आन्दोलनमा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहले राज्यको गोली खाएर ज्यान गुमाउनुपर्‍यो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नै घटनाको स्पष्ट जिम्मेवार ठहरिँदा पनि उनलाई कारबाहीको माग गरेरै सत्ता परिवर्तन भयो तर कारबाही भएन ।

वर्षहरू सँगै नेपालीहरूको नियति पनि परिवर्तन होला भन्ने आस यस वर्षमा पनि थियो तर पुरा भएन । आउँदो वर्षलाई विभिन्न काण्डहरूको न्यायोचित निर्णय, २०४७ सालपछि सत्तामा आएका सबै जनाको सम्पत्ति छानबिन गर्ने कुराको टुङ्गो लगाउने जिम्मा अब २०८१ लाई ।

-सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.