Nepali Festivals Upcoming Year | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

२०७९ सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू





मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।

विक्रम संवत् २०७९ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४४ ईस्वीय सन् २०२२ र २०२३, नेपाल संवत् ११४२ -११४३, नल नामको संवत्सर रहेको यस वर्षमा राजा शनि र मन्त्री गुरु रहेका छन् । यो वर्ष १२ वटा औंसी, १२ वटा पूर्णिमा, २४ वटा एकादशी, एउटा मंगलचौथी, एउटा खण्डग्रास सूर्यग्रहण र एउटा खग्रास चन्द्रग्रहण रहेको छ । यो वर्ष मलमास परेको छैन, त्यसैले मुख्य चाडहरू अगाडि सरेका छन् । प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिबारहरूको जानकारीका लागि मुख्य तिथिमिति एवं चाडपर्वहरूको संक्षिप्‍त जानकारी ।

 वैशाख ( नयाँवर्ष प्रारम्भ । हनुमानजयन्ती । लोकतन्त्र दिवस । मातातिर्थ औंसी । अक्षय तृतीया )
२०७९ साल वैशाख १ गते बिहीबारबाट नववर्ष प्रारम्भ हुन्छ । ३ गते चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजयन्ती रहेको छ । ११ गते लोकतन्त्र दिवस हो भने १४ बैशाख कृष्ण पक्षको बरूथिनी एकादशीव्रत रहेको छ । मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन १७ रहेको छ । मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस १८ गते परेको छ । २० गते सातु र सर्वत खाने दिन अर्थात् अक्षय तृतीया परेको छ । बैशाख शुक्लपक्षको मोहिनी एकादशी २९ गते रहेको छ ।

जेठ ( बुद्ध जयन्ती । गणतन्त्र दिवस । शनि जयन्ती । निर्जला एकादशी )
जेठ संक्रान्ति आइतबारबाट प्रारम्भ हुँदै २ बैशाख चण्डी पूर्णिमा अर्थात् गौतमबुद्ध जयन्ती परेको छ । ज्येष्ठ कृष्णपक्षको अपरा एकादशी १२ गते रहेको छ । १५ गते गणतन्त्र दिवस हो । ज्येष्ठ कृष्णपक्षको औंसी तथा शनि जयन्ती १६ गते हो । ज्येष्ठ शुक्लपक्षको निर्जला एकादशी अर्थात् तुलसीको दल राख्ने दिन २७ गते रहेको छ । ज्येष्ठ शुक्ल पूर्णिमा ३१ गते रहेको छ ।

असार ( दही चिउरा खाने/राष्ट्रिय धान दिवस । हरिशयनी एकादशी । भानु जयन्ती । गुरुपूर्णिमा )
असार संक्रान्ति बुधबारबाट प्रारम्भ हुँदै योगिनी एकादशीव्रत १० गते रहेको छ । १५ गते असारकृष्ण औंसीका दिन हो त्यसै दिन दहीचिउरा खाने दिन र राष्ट्रिय धान दिवस हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी तथा तुलसी रोप्ने दिन असर २६ गते हो र यसै दिनबाट चतुर्मास व्रत प्रारम्भ हुन्छ । भानुजयन्ती र गुरुपूर्णिमा २९ गते रहेको छ ।

श्रावण ( लुतो फाल्ने दिन । खीर खाने दिन । नाग पञ्चमी । जनैपूर्णिमा । गाईजात्रा )
श्रावण महिना भगवान शिवजीको उपासना तथा आराधनाका लागि निकै महत्त्व छ । पाँचवटा सोमबार रहेको श्रावण महिना आइतबारबाट प्रारम्भ हुनेछ र यसै श्रावण संक्रान्तिका दिन लुतो फाल्ने दिन का नामले प्रसिद्ध छ यसै संक्रान्तिबाट दक्षिणायन प्रारम्भ हुन्छ । श्रावण कृष्णपक्षको कामीका एकादशी ८ गते रहेको छ । १२ गते श्रावण कृष्ण औंसी परेको छ । १५ गते खीर खाने दिन हो भने १७ गते नागपञ्चमी हो । श्रावण शुक्लपक्षको पुत्रदा एकादशी २३ गते परेको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन तथा गाईजात्रा २७ गते रहेको छ ।

भाद्र ( श्रीकृष्ण जन्माष्टमी । कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिन । तीज । ऋषिपञ्चमी । सोह्रश्राद्ध प्रारम्भ )
भाद्र संक्रान्ति बुधबारबाट प्रारम्भ हुँदै ३ गते श्रीकृष्ण जन्माष्टमी परेको छ । भाद्र कृष्णपक्षको अजा एकादशीव्रत ७ गते हो । ११ गते कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिन रहेको छ । १४ गते महिलाहरूको महान चाड हरितालिका तीज, १५ गते गणेश चतुर्थी र १६ गते ऋषिपञ्चमी हो । २१ गते भाद्रशुक्ल हरिपरिवर्तनी एकादशी रहेको छ । २४ गते अनन्त चतुर्दशी र भाद्र शुक्ल पूर्णिमा व्रतको दिन हो । २६ गतेबाट सोह्रश्राद्ध प्रारम्भ हुनेछ ।

आश्विन ( विश्वकर्मा पूजा । संविधान दिवस । पितृ विसर्जन । नवरात्री । बडादशैं )
आश्विन संक्रान्ति शनिबारका दिन विश्वकर्मा पूजा तथा वास्तु दिवस हो । ३ गते ऐतिहासिक संविधान दिवस हो । आश्विन कृष्ण पितृपक्षको इन्दिरा एकादशी ५ गते रहेको छ । असोज ९ गते औंसीका दिन पितृ विसर्जन सुनेछ । १० गतेबाट घटस्थापना तथा दुर्गापूजा विशेष नवरात्र आरम्भ हुनेछ । १६ गते फूलपाती भित्र्याउने दिन हो भने १७ गते महाअष्टमी तथा कालरात्रि रहेको छ । १८ गते दशैँको महानवमी हो र १९ गते विजयादशमी तथा नवरात्रको दुर्गापूजा विसर्जन गरी जमरा तथा टीकाप्रसाद ग्रहण गर्ने दिन हो । २० गते आश्विन शुक्लको पापाङ्कुशा एकादशीव्रत रहेको छ । आश्विन शुक्लपक्षको कोजाग्रत पूर्णिमा व्रत २३ गते परेको छ ।

कार्तिक ( तिहार । सूर्यग्रहण । नेपाल सम्वत् । छठपर्व । कुष्माण्ड नवमी । तुलसी विवाह )
कार्तिक संक्रान्ति मङ्गलबारबाट प्रारम्भ हुनेछ । ४ कार्तिक कृष्णपक्षको रमा एकादशीव्रत गते रहेको छ । ५ गते धन्वन्तरि जयन्ती (धन्तेरस), ६ गते कागतिहार, ७ गते कुकुरतिहार र नरक चतुर्दशी रहेको छ, यसै दिन सुखरात्रि अर्थात् लक्ष्मीपूजा तथा दीपावली पनि रहेको छ । ८ गते गाईतिहारका दिन खण्डग्रास सूर्यग्रहण पनि लाग्नेछ । ९ गते गोबर्धनपूजा र म्हपूजा परेको छ, यसै दिन नेपाल सम्वत् ११४३ प्रारम्भ हुनेछ । १० गते भातृद्वितीय अर्थात् भाइटीका रहेको साइत जुरेको छ । १३ गते डालापूजा तथा छठपर्व हो । १६ गते सत्य युग प्रारम्भ भएको दिन अर्थात् कुष्माण्ड नवमी हो । १८ गते कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी तथा तुलसी विवाह अर्थात् ठूली एकादशी दिन रहेको छ । कार्तिक शुक्लपूर्णिमा अर्थात् चतुर्मास व्रत तथा कार्तिक स्नान समाप्ति २२ गते रहेको छ त्यसै दिन खग्रास चन्द्रग्रहण लाग्नेछ । साँझमै सुरु हुने ग्रहणमा चन्द्रमा पूरै ढाकिने छ । त्यसदिन कालै चन्द्रमा उदाउने हुँदा देख्न नै मुस्किल हुनेछ ।

मंसिर ( बालाचतुर्दशी । विवाहपञ्चमी । धान्यपूर्णिमा तथा उधौली पर्व )
मार्गशीर्ष संक्रान्ति विहीबारका दिनबाट प्रारम्भ हुन्छ । ४ गते मार्गशीर्ष कृष्णपक्षको उत्पत्तिका एकादशी रहेको छ । ६ गते शतबीज छर्ने दिन अर्थात् बालाचतुर्दशी हो । ७ गते मार्गशीर्ष कृष्णपक्षको औंसी परेको छ । १२ गते सीताराम विवाहपञ्चमी परेको छ । मार्गशीर्ष शुक्ल पक्षको मोक्षदाएकादशी १८ गते परेको छ । मार्गशीर्ष पूर्णिमा अर्थात् धान्यपूर्णिमा तथा उँधौली पर्व २२ गते रहेको छ ।

पौष ( मंगलचौथी । इ.सं. २०२३ प्रारम्भ । श्री स्वस्थानी व्रत प्रारम्भ । पृथ्वी जयन्ती )
पौष संक्रान्ति शुक्रबारबाट प्रारम्भ हुनेछ र ४ गते पौष कृष्णपक्षको सफला एकादशी हो । ८ गते पौष कृष्णपक्षको औंसी परेको छ । १२ गते मंगलचौथी परेको छ । १७ गते इस्वी सन् २०२३ प्रारम्भ हुनेछ । पौष शुल्क पक्षको पुत्रदा एकादशी १८ गते हो । २२ गते पौष शुक्ल पूर्णिमा अर्थात् श्री स्वस्थानीव्रत तथा माघ स्नान प्रारम्भ हुनेछ । २४ गते नेपाल ज्योतिष परिषद् स्थापना दिवस हो । २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो ।

माघ ( मकर संक्रान्ति/माघी । वसन्त पञ्चमी/सरस्वती पूजा । श्री स्वस्थानी व्रत प्रारम्भ )
मकर सङ्क्रान्ति अर्थात् माघ १ गते आइतबार माघी पर्व तथा घिउ, चाकु, तिलौरा, तरुल आदि खाने दिन हो, यसै दिनबाट उत्तरायण प्रारम्भ हुन्छ । ४ गते माघ कृष्ण पक्षको षट्तिला एकादशी हो । ७ गते माघ कृष्णपक्षको औंसी तिथि हो । ८ गते सोनमल्होसार / तामाङ ल्होछार हो । १२ गते वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा रहेको छ । १८ गते माघशुक्ल भीमा एकादशी हो । २२ गते माघशुक्ल पूर्णिमाका दिन श्रीस्वस्थानी व्रत समापन हुनेछ ।

फाल्गुन ( महाशिवरात्री । प्रजातन्त्र दिवस । ग्याल्पो ल्होसार । फागु पूर्णिमा तथा होली )
फाल्गुन संक्रान्ति सोमबारबाट प्रारम्भ भएको छ । २ गते प्रेमदिवस रहनेछ । ४ गते फाल्गुन कृष्णपक्षको विजया एकादशी रहेको छ । ६ गते महाशिवरात्रि हो । राष्ट्रिय प्रजातन्त्र दिवस ७ गते हो । ८ गते फाल्गुन कृष्णपक्षको औंसी तिथि हो । ९ गते आदिवासी, शेर्पा तथा उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व रहेको छ । १९ गते फाल्गुन शुक्ल आमलकी एकादशी हो । फागु पूर्णिमा तथा होली पहाडी भेगमा २२ गते र तराईमा २३ गते मनाइनेछ ।

चैत्र ( घोडेजात्रा । चैतेदशैँ । रामनवमी । हनुमानजयन्ती )
बुधबारबाट प्रारम्भ हुने ४ गते चैत्र कृष्ण पक्षको पापमोचनी एकादशी परेको छ । ७ गते घोडेजात्रा र चैत्र कृष्णपक्षको औंसी हो । १५ गते चैतेदशैँ र १६ गते रामनवमी परेको छ । १८ गते चैत्र कृष्णपक्षको कामदा एकादशी रहेको छ । २३ चैत्र शुक्ल पक्षको पूर्णिमाका दिन हनुमानजयन्ती हुँदै यसवर्षको मुख्य तिथिमिति सकिन्छ । शुभं भवतु ।।
- ज्यो.प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.