नेपालको शत्रु भनेको अशिक्षा, गरिबी र पछौटेपन हो, हामी गैरआवासीय नेपालीहरु होइनौ। यति थोरै कुरा बुझिदिए मुलुकको बृहत्तर हितमा हामी सबै समिटिने छौं र विरोधको मन दु:खाइमा राष्ट्रलाई अल्झाउनुपर्ने छैन।
बैशाख १७, काठमाण्डाै । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले प्रष्ट रुपमा गैरआवासीय नेपालीलाइ सांस्कृतिक अधिकार सहितको नागरिकता दिने व्यवस्था गरिसकेको हालको अवस्थामा संघीय तथा सामान्य प्रशासन मन्त्री श्री लालबाबु पण्डितको दुराशय युक्त अभिव्यक्तिले हामी समस्त गैरआवासीय नेपालीहरुको राष्ट्रिय भावनामा गम्भीर चोट पुगेको छ।
विकास र समृध्दि दिन नसकिरहेको राजा नेतृत्वको निर्दलीय पंचायती व्यवस्था र त्यसपछिको बहुदलीय व्यवस्था भित्रको चर्को विसंगति, भ्रष्टाचार, बेरोजगारी तथा दशबर्से माओवादी द्वन्दबाट आजित भएर ठूलो संख्यामा युवाहरु रोजगारी र अध्ययनको खोजीमा स्वदेश छोड्न बाध्य भएको तीतो यथार्थ जग जाहेर छ। यसरी आफ्नो मातृभूमि छोड्न अभिशप्त हामी नेपालीहरु जहाँ/जसरी रहे पनि मातृभूमि प्रतिको हाम्रो अर्जुन-दृष्टिमा कहिल्यै कमी आएको छैन, न त भविष्यमै त्यस्तो दुर्भाग्यको घडी कहिल्यै आउँन दिनेछौं।
बरु दैवी प्रकोपको दु:खद घडीमा मात्र हैन, मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा सके सम्म देशभित्रै आएर, नसके बिदेशबाटै भए पनि आफूले सकेको सहयोग दिँदै आएको अर्को यथार्थ पनि घाम जत्तिकै छर्लङ्ग छ। तर नयाँ संविधानको आधार भूमिमा टेकेर "समृध्द नेपाल, सुखी नेपाली" को राष्ट्रिय लक्ष्य हासिल गर्ने महाअभियानमा देश होमिएको बेलामा पनि विदेश भासिन बाध्य तिनै नेपालीहरुको खेदो खन्नु कत्तिको जायज छ? खाइ-नखाइ जोडेको उनीहरुको अलिकति पैसाले मुलुकको अर्थतन्त्र धानिएको नदेखेको किन? दूध दिने गाईमाथि नै यस्तो प्रहार किन? बरु उनीहरुसँग भएको सीप र पुँजीलाई कसरी राष्ट्र निर्माणको मूलप्रवाहमा ल्याउँने, विदेशी नागरिकता लिइसकेकाहरुको कसरी यथोचित व्यवस्थापन गर्ने भन्नेतिर नलागी उल्टै उनीहरुको वाध्यता, भावना र योगदानलाई बिर्सेर "आँखाको तारो" बनाउनु कतिसम्म विवेक सम्मत् होला?
जुन संविधानले सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरेर आफ्ना गैरआवासीय नेपालीहरुलाइ समेट्ने उदारता र व्यवहारिकता देखाएको छ, त्यस्तो संविधान अन्तर्गतको सरकारका मन्त्रीहरुको गैर जिम्मेवार अभिव्यक्तिले सरासर संविधानको मर्म विपरीत छ।
नेपालको शत्रु भनेको अशिक्षा, गरिबी र पछौटेपन हो, हामी गैरआवासीय नेपालीहरु होइनौ। यति थोरै कुरा बुझिदिए मुलुकको बृहत्तर हितमा हामी सबै समिटिने छौं र विरोधको मन दु:खाइमा राष्ट्रलाई अल्झाउनुपर्ने छैन। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको “राष्ट्र निर्माणको सपना ५० लाख गैरआवासीय नेपालीहरुको पनि साझा सपना हो” भन्ने यथार्थलाई पैतालाले कुल्चिएर मन्त्रीज्युको अभिव्यक्ति आएकोमा बिरोध गर्छौ। साथै, मन्त्रीज्यूको यस प्रकारको अभिव्यक्ति प्रति घोर निन्दा एवं खेद प्रकट गर्दै यस्ता संवेदनशील कुराहरुमा खेलाँची नगर्न तर्फ नेपाल सरकारको शीघ्र ध्यान जाओस् भन्छौ!
Liked by: