झिलिमिली, उज्यालो, पशुपंक्षीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसी भैलो, तथा नेपाल संवत् को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको तिहार आएको छ ।
कात्तिक १४ गते बुधवार काग तिहार रहेको छ, काग तिहारका दिन यमदूत कागलाई खानेकुरा खान दिने परम्परा रहेको छ । कार्तिक १५ गते कुकुर तिहार, लक्ष्मी पुजा, नरक चतुर्दशी र सुखरात्रीका दिन यमदूत कुकुरलाई खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ। नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी नपस्ने र धार्मिक दृष्टिले यसलोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ । सोहि दिन रहेको लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधुली लग्न र सूर्यास्तको बीचको समय उत्तम रहेको छ । यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ । कार्तिक १७ गते गाई तिहार रहेको छ जुन दिन गाईलाई पूजा गरेर मनाइन्छ । यो दिन गोवर्द्धन पूजा र नेवार समुदायको म्ह (आत्म) पूजा पनि परेको छ । यसै दिन कार्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि प्रारम्भ हुन्छ। यस दिन साँझदेखि देउँसी खेल्ने गरिन्छ ।
कार्तिक १८ गते आइतवार भाइटीका परेको छ । यस दिन शुभ साइतमा दाजूभाईहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरू पूर्व या पश्चिम तर्फ भई दाजूभाईहरूलाई टिका लगाई दिदी बहिनीले दाजुभाईलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा रहेको छ । साथै दाजुभाइलाई मीठो मीठो परिकार खुवाउने गरिन्छ । भाई टिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा भाइटीका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । यद्यपी भाइटीकाको दिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा लगाउन सकिन्छ ।
Liked by: