मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
विक्रम संवत २०७८ साल अर्थात् ईस्वीय सन् २०२१-२०२२ र नेपाल संवत ११४१-११४२, यस वर्षमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझावअनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य तिथिमितिहरू जस्तै औंशी, पूर्णिमा, एकादशी तथा अन्य चाडपर्व, मेला, उत्सव आदिको निर्णयलाई आधार मान्दै २०७८ सालभित्र मुख्य दिनहरुलाई उल्लेख गरेको छ। हाम्रा तमाम प्रयोगकर्ताहरूको जानकारीकालागि प्रस्तुत छः २०७८ का मुख्य तिथि-मिति एवंम् चाडपर्वहरूको संक्षिप्त जानकारी ।
वैशाख (मातातिर्थ औँशी | श्री राम नवमी | चैते दशैं | अक्षय तृतीया | लोकतन्त्र दिवस | अन्तर्राष्ट्रिय श्रमिक दिवस)
२०७८ साल वैशाख १ गते बुधवारबाट प्रारम्भ हुन्छ २८ गते मंगलवार मातातिर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन रहेको छ । बैसाख मसान्त अर्थात् ३१ गते सातु-सर्वत खाने दिन, अक्षत तृतीया परेको छ । ११ गते लोकतन्त्र दिवस हो भने १४ गते वरुथिनी एकादशीको व्रत रहेको छ । मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस १८ गते शनिवार परेको छ भने ७ गते चैते दशैं र ८ गते श्री राम नवमी छ ।
जेठ (गणतन्त्र दिवस | बुद्ध जयन्ती | सिता जयन्ती | शनि जयन्ती | गोसाइकुण्ड स्नान आरम्भ)
जेष्ठ १२ गते बैशाख शुक्ल चण्डिपुर्णिमा अर्थात् गौतमबुद्ध जयन्ती हो । जेष्ठ कृष्णपक्षको अपरा एकादशी २३ गते रहेको छ भने सिता माताको जन्म जयन्ती यस वर्ष ६ गते परेको छ । त्यसबाहेक, २७ गते शनी जयन्ती हो भने यो जेष्ठ महिनामा सम्पूर्ण नेपालीहरुको लागि एउटा महत्वपूर्ण दिन अर्थात् लोकतन्त्र दिवस १५ गते पर्दछ।
असार (निर्जला एकादशी | दही चिउरा खाने/राष्ट्रिय धान दिवस | भानु जयन्ती)
असार संक्रान्ति शुक्रवारबाट प्रारम्भ हुँदै ७ गते तुलसीको दल राख्ने दिन अर्थात् निर्जला एकादशी व्रतको दिन परेको छ । १५ गते दहीचिउरा खाने दिन तथा राष्ट्रिय धान दिवस हो । २१ गते योगिनी एकादशीव्रतको दिन रहेको छ । भानु भक्त आचार्यको जन्म जयन्ती २९ गते परेको छ ।
श्रावण (गुरु पूर्णिमा | लुतो फाल्ने दिन | हरिशयनी एकादशी/तुलसी रोप्ने दिन | खीर खाने दिन | नाग पञ्चमी)
यस वर्ष श्रावण ९ गते शनिवार गुरु पूर्णिमा परेको छ भने २९ गते नागपञ्चमी छ । त्यसबाहेक, श्रावण महिनामा भगवान शिवजीको उपासना तथा आराधनाको निकै महत्व छ । चारवटा सोमवार रहेको श्रावण महिना शुक्रवारबाट प्रारम्भ हुनेछ र यसै श्रावण संक्रान्तिका दिन लुतो फाल्ने दिन का नामले प्रसिद्ध छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी तथा तुलसी रोप्ने दिन श्रावण ५ गते हो र यसै दिनबाट चतुर्मास व्रत प्रारम्भ हुन्छ । १५ गते खीर खाने दिन हो । श्रावण कृष्णपक्षको कामिका एकादशी २० गते रहेको छ ।
भाद्र (जनैपूर्णिमा/रक्षाबन्धन | गाईजात्रा | श्रीकृष्ण जन्माष्टमी | कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन | तीज | ऋषिपञ्चमी | गौरा पर्व)
भाद्र संक्रान्ति मंगलवारबाट प्रारम्भ हुँदैछ भने बुधवार २ गते श्रावण शुक्लपक्षको पुत्रदा एकादशी परेको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा तथा ऋषितर्पणी रक्षाबन्धन ६ गते रहेको छ भने उक्त दिनको भोलिपल्ट अर्थात् ७ गते काठमाडौँ उपत्यका भित्र गाईजात्रा मनाईन्छ। १४ गते एकैदिन श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व परेको छ भने भाद्र कृष्णपक्षको अजा एकादशी १७ गते परेको छ । कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन २२ गते हो । २४ गते महिलाहरूको महान चाड हरितालिका तीज, २५ गते गणेश चतुर्थी र २६ गते ऋषिपञ्चमी हो ।
आश्विन (विश्वकर्मा पूजा | संविधान दिवस | हरिवरिवर्तनी एकादशी | जितीया पर्व | बडा दशैं | सोह्र श्राद्द)
आश्विन संक्रान्ति शुक्रवारका दिन विश्वकर्मा पूजा तथा वास्तु दिवस हो । यसैदिन भाद्रशुक्ल हरिपरिवर्तनी एकादशी रहेको छ । ३ गते ऐतिहासिक संविधान दिवस हो भने ५ गतेबाट सोह्र श्राद्ध प्रारम्भ हुँदै १३ गते जीवत्पुत्रिका/ जितीया पर्व रहेको छ । आश्विन कृष्ण पितृपक्षको इन्दिरा एकादशी १६ गते हो । २० गते पितृ विसर्जन हो भने २१ गतेबाट घटस्थापना तथा दुर्गापूजा विशेष नवरात्र आरम्भ हुनेछ । २६ गते फूलपाती भित्र्याउने दिन हो भने २९ गते जमरा तथा टीकाप्रसाद ग्रहण गर्ने दिन विजया दशमी रहेको छ ।
कार्तिक ( तिहार/यमपञ्चक | नेपाल सम्वत् ११४२ प्रारम्भ | छठ पर्व | हरिबोधिनी एकादशी/तुलसी विवाह)
आश्विन शुक्लपक्षको कोजाग्रत पूर्णिमा ३ गते रहेको छ । कार्तिक कृष्णपक्षको रमा एकादशी १५ गते रहेको छ । १७ गते कागतिह़ार तथा यमपञ्चक प्रारम्भ हुनेछ । कुकुरतिहार तथा नरक चतुर्दशी पनि यस वर्ष कागतिहारसँगै परेको छ। १८ गते गाई तिहारे औंशी सुखरात्रि अर्थात् लक्ष्मीपूजा तथा दीपावली रहेको छ । १९ गते गोबर्धन पूजा हो यसै दिनबाट नेपाल सम्वत् ११४२ प्रारम्भ हुनेछ भने २० गते शनिवार भातृद्वितीय अर्थात् भाइटीका हो । २४ गते छठपर्व रहेको छ भने २९ गते कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी तथा तुलसी विवाह रहेको छ ।
मंसिर (बालाचतुर्दशी | विवाह पञ्चमी | गुरु नानक जयन्ती)
बुधवारबाट प्रारम्भ हुने यसवर्षको मङ्सिर महिनामा यसपाली १४ गते उत्पतिका एकादशी व्रत परेको छ भने २८ गते मोक्षदा एकादशी व्रत र गीता जयन्ती परेको छ। त्यसबाहेक, शतबीज छर्ने दिन अर्थात् बाला चतुर्दशी १७ गते छ भने सीताराम विवाहपञ्चमी २२ गते परेको छ । त्यसबाहेक मङ्सिरको पहिलो साता शुक्रवार ३ गते गुरु नानक जयन्ती छ ।
पौष (धान्यपूर्णिमा | उधाैली पर्व | योमरीपुन्हि | इ.सं. २०२२ प्रारम्भ | पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस)
पौष संक्रान्ति बिहिवारबाट प्रारम्भ हुनेछ र १५ गते सफला एकादशी परेको छ, त्यसै दिन तमू ल्होसार पनि परेको छ । मार्गशीर्ष पूर्णिमा अर्थात् धान्यपूर्णिमा, योमरीपुन्हि तथा उधौली पर्व ४ गते रहेको छ । पौष १७ गते शनिवारको दिनबाट इस्वी सन् २०२२ प्रारम्भ हुनेछ भने पौषकृष्ण औंसी १८ गते परेको छ र २७ गते सदाझै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रहेको छ । २९ गते पौष शुक्लपक्षको पुत्रदा एकादशी परेको छ ।
माघ (मकर संक्रान्ति/माघी | श्री स्वस्थानी व्रत प्रारम्भ | वसन्त पञ्चमी/सरस्वती पूजा | सोनाम ल्होछार | शहिद दिवस)
मकरसङ्क्रान्ति अर्थात् माघ १ गते शनिवार माघी पर्व तथा घिउ, चाकु, तिलौरा , तरुल आदि खाने दिन हो, यसै दिनबाट उत्तरायण प्रारम्भ हुन्छ । ३ गते पौष शुक्ल पूर्णिमा अर्थात् श्री स्वस्थानीव्रत तथा माघ स्नान प्रारम्भ हुनेछ । १४ गते माघ कृष्णपक्षको षट्तिला एकादशी हो भने २३ गते वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा रहेको छ । त्यस्तै, १९ गते सोनाम ल्होछार परेको छ भने माघ १६ गते सदाझै सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुको सम्झनामा शहिद दिवस मनाइन्छ ।
फाल्गुन (प्रेम दिवस/भ्यालेनटाइन डे | श्री स्वस्थानी व्रत समापन | ग्याल्पो ल्होसार | महाशिवरात्री | प्रजातन्त्र दिवस )
फाल्गुन संक्रान्ति आइतवारबाट प्रारम्भ भएको छ । २ गते प्रेमदिवस परेको छ भने ४ गते माघशुक्ल पुर्णिमाका दिन श्रीस्वस्थानी व्रत समापन र ७ गते प्रजातन्त्र दिवस हो । फाल्गुन कृष्ण पक्षको विजया एकादशी १५ गते परेको छ । आदिवासी, शेर्पा तथा उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने ग्याल्पो लोसार १९ गते परेको छ भने २६ गते सम्पूर्ण नेपालीहरुले महाशिवरात्रि उत्साहका साथ मनाउनेछन्। फाल्गुनको २४ गते भने नारी दिवस छ ।
चैत्र (आमलकी एकादशी | फागु पूर्णिमा/होली | घोडेजात्रा | रामनवमी | चैते दशैं)
मङ्गलवारबाट प्रारम्भ हुने चैत्र महिनामा फागु पूर्णिमा तथा होली पहाडी भेगमा ३ गते र तराईमा ४ गते मनाइनेछ । १४ गते चैत्र कृष्ण पक्षको पापमोचनी एकादशी परेको छ । चैत्र २६ गते २०७८ को दोश्रो चैते दशैं पर्दछ । १८ गते घोडेजात्रा रहेको छ, यसैगरी २७ गते रामनवमी र २९ गतेको कामदा एकादशी पछि यसवर्षको मुख्य तिथि-मिति सकिन्छ ।
Liked by: