बारा र पर्सा लगायतका अरु केहि जिल्लाहरुमा आइतबार साँझ आएको विनाशकारी हावाहुरी र असिनाका कारण अहिलेसम्म ३१ जनाको मृत्यु भैसकेको छ। सैयौं घाइतेहरुको विभिन्न स्थानमा उपचार भइरहेको छ । एक्कासी आएको यो बिपतले ठुलो जनधनको क्षती गरिसकेको छ, तर मध्य तराईको अवस्था थप तनाबग्रस्त हुन नदिन भने हामीमा यो बिपत्तिले निम्त्याउन सक्ने समस्याहरुमा बारेमा अहिले नै सचेत भएर बस्नपर्ने हुन्छ।
६ सय बढी घाईतेहरुको उपचार भैरहेकाले अहिले मध्य तराइमा रगतको अभाव हुनसक्ने थुप्रो सम्भावना छ। त्यसैले स्थानिय स्वास्थ्य चौकी, रेडक्रसका कार्यालयहरु तथा अस्पतालहरुमा पुगेर रक्तदान गरौं। यो समय रगतको माग सम्बन्धि कुनै पनि सुचना आएमा, तुरुन्त पहल गरौं।
बिरगंजका युवा नेता अरविन्द सिंहले हाम्रो पात्रोसंगको कुराकानीमा, "रक्तसंचार केन्द्र बिरगंजका इन्चार्ज सौरभराज पाण्डेसंग मैले कुराकानी गरे, बिरगंज बल्ड बैंकमा अझै बिभिन्न रक्त समूहका ३०० -४०० पिन्ट रगत उपलब्ध रहेकोले आकष्मिक रक्तदान गर्न तत्काल हतार नगर्न" अनुरोध गर्नुभयो।
भण्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ घरहरु, विजुलीको पोलहरु भत्किएका छन् । सुरक्षाकर्मी र स्थानीयहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् । घाइतेहरुको उपचार खर्च भने सरकारले व्यहोर्ने भएको छ। त्यसैले सबै इच्छुक रक्तदाताहरुले , रगत माग जुनसुकै बेला हुनसक्ने भएकाले तैयार बस्न अनुरोध गर्दछौ। त्यसबाहेक, तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । चिकित्सक र रगतको कमि मात्र हैन, हावाहुरीकै कारण आफ्नो बासस्थान गुमाएका परिवारहरुको लागि पनि सक्दो सहयोग गर्न अघि बढौ।
Liked by: