वि.स.२०७५ पौष १ गतेदेखी नेपालको मान,सान,पहिचान र स्वाभिमानको चित्रण गर्ने नेपालीहरुको परिचयको प्रतिविम्व राष्ट्रिय झण्डालाई विश्वब्यापी रुपमा परिचित गराउने तथा सन् १९६२ डिसेम्वर १६ तारिखका दिन वि.सं. २०१९ पौष १ गते नेपालको झण्डालाई संयुक्त राष्ट्र संघले औपचारिक मान्यता दिएर संसार सामु एक छुट्टै परिचय स्थापना गरे पश्चात हामी नेपालीले कहिल्यै पनि झण्डाको विशेष उत्सव मनाएका छैनौ। कहिल्यै कुनै विदेशी शक्तिसामु हार्न नपरेको नेपालीको ध्वजा स्वतन्त्र त रह्यो तर हामी नेपालीले नै यसको मानमा आँच आउने काम गर्दै गयौ।
झण्डाको आफुखुसी प्रयोग गर्ने मात्र नभई यसको कार्यविधि,आचारसंहिताको वेवास्ता गर्दै पछिल्लो समयमा त अझै झण्डाको मान सम्मानमा समेत आँच आउने काम हुदैँ गए। झण्डाका स्वरुप र रंग मात्र नभई चन्द्रसुर्यको कोणहरु समेत आफु खुसी राख्ने,किनारा र लम्वाई,चौडाई समेत मनपरि तरिकाबाट प्रयोग गर्नु झण्डा प्रतिको सम्मान नभई यसको अपमान हो भन्ने हाम्रो तर्क छ । सरकार चलाउने,विश्वविद्यालयमा अध्यापन गर्ने गराउने मात्र नभई विद्यालय पढ्ने सानासाना भाईवहिनी,विद्यालयका शिक्षक,सांसद,मेयर लगाएत धेरैलाई झण्डाको विषयमा प्रश्न गर्दा सदैव जवाफमा सुन्य मात्र मिल्यो, राजनैतिक पार्टीका झण्डाको इतिहास जान्ने नेता तथा कार्यकर्ता मात्र भए तर देशको ध्वजाको वास्तविक स्वरुप र त्यसको मर्म कसैले मनन गरेको पाईएन।
झण्डालाई पाँचकुने रुमाल भन्दा धेरै केही सम्मान हुन सकेन भन्दा फरक नपर्ला। तसर्थ झण्डाको अन्तरराष्ट्रिय पहिचान भन्दा पहिले त यहाँको जनताले यसको इतिहास,महत्व जान्न अत्यावश्य देखीएकाले राष्ट्रिय झण्डा दिवस को स्थापना गरिएको जानकारी गराउदछौ । हामीलाई पूर्ण विश्वास छ जसरी विगत लामो समय देखी नेपाली राष्ट्रिय पोशाक को अभियान चलाईयो र आज सम्पूर्ण नेपालीहरुलाई पोशाक प्रतिको माया भाव जगाउन सफल भयौं त्यसैगरि झण्डाको सम्मान,प्रयोग,इतिहास आम जनमानसमा जानकारी दिदै हाम्रो विश्वको पृथक झण्डालाई विश्व जगतमा फरफराउन सफल हुदैँ जाने विश्वास लिएका छौ तसर्थ यस महाअभियानलाई सार्थक बनाउने प्रयासमा हामी सबैको साथ सहयोग तथा प्रतिक्रियाका लागि हार्दिक आभार प्रकट गर्नेछौ ।
Liked by: